चालु आर्थिक वर्ष २०८२/८३ को ११ महिना (साउन–जेठ) मा नेपालले सबैभन्दा धेरै मूल्यको डिजेल आयात गरेको छ।
भन्सार विभागले सोमबार प्रकाशन गरेको वैदेशिक व्यापारको तथ्यांकअनुसार नेपालले ११ महिनामा १ खर्ब ५२ अर्ब ६७ करोड ९८ लाख ८५ हजार २८० रुपैयाँको १२ लाख ६४ हजार ८७८ किलोलिटर डिजेल आयात गरेको हो।
एक किलोलिटरमा एक हजार लिटर हुन्छ। नेपालले भारतबाट डिजेल आयात गर्ने गरेको छ।
त्यसैगरी, नेपालले सबैभन्दा बढी आयात गर्नेमध्ये दोस्रोमा कच्चा सोयाबिन तेल छ। कच्चा सोयाबिन तेल भने अर्जेन्टिनाबाट नेपालमा आयात हुन्छ। नेपालले सबैभन्दा बढी निर्यात गर्ने वस्तु पनि सोयाबिन तेलनै हो।
अर्जेन्टिनाबाट आयात भएको कच्चा सोयाबिन तेललाई प्रशोधन गरेर नेपालले भारततर्फ निर्यात गर्ने गरेको छ।
चालु आर्थिक वर्ष २०८२/८३ को ११ महिनामा नेपालले ९० अर्ब ११ करोड ५५ लाख १९ हजार ९३७ रुपैयाँको कच्चा सोयाबिन तेल आयात गरेको छ।
सोही अवधिमा नेपालबाट भारततर्फ १ खर्ब १३ अर्ब रुपैयाँको सोयाबिन तेल निर्यात गरेको छ।
नेपालले सबैभन्दा धेरै आयात गर्नेमध्ये पेट्रोल तेस्रो स्थानमा छ।
११ महिनामा नेपालले ६८ अर्ब १७ करोड ८७ लाख ६८ हजार २५ रुपैयाँको ६ लाख ८५ हजार १२७ किलोलिटर पेट्रोल आयात गरेको छ।
सबैभन्दा बढी आयात हुनेमध्ये चौथो स्थानमा स्पन्ज आइरन छ।
११ महिनामा नेपालले ५३ अर्ब ६९ करोड ९ लाख ८ हजार ६३३ रुपैयाँको स्पन्ज आइरन आयात गरेको छ।
स्पन्ज आइरन बिलेटको कच्चा पदार्थ हो। बिलेटलाई रोलिङ मिलमा हालेर टीएमटी डण्डी बनाइन्छ। स्पन्ज आइरन पनि भारतबाटै आयात हुन्छ।
यस अवधिमा खाना पकाउने ग्यास (एलपीजी) ५२ अर्ब २१ करोड ६६ लाख २१ हजार ५४७ रुपैयाँको आयात भएको छ। धेरै आयात हुनेमध्ये एलपीजी पाँचौ स्थानमा छ।
११ महिनामा भारतबाट ४७ करोड ५९ लाख ८० हजार ६९६ केजी एलपीजी आयात भएको छ।
सबैभन्दा धेरै आयात हुने छैटौँ स्थानमा छ– स्मार्ट फोन। नेपालमा स्मार्ट फोन भने धेरैजसो चीनबाट आयात हुने गरेको छ।
यस अवधिमा १७ लाख १० हजार ९१० थान फोन आयात भएको छ। यसको मूल्य ५२ अर्ब २१ करोड ६६ लाख २१ हजार ५४७ रुपैयाँ रहेको भन्सार विभागको तथ्यांक छ।
धेरै आयात हुनेमध्येको सातौ स्थानमा छ– सुन।
नेपालले ११ महिनामा १३ लाख ५३ हजार १९३ ग्राम सुन आयात गरेको छ।
नेपालमा युनाइटेड अरब इमिरेट्स (यूएई) बाट सुन आयात हुने गरेको छ। ११ महिनामा नेपालबाट सुनका लागि २५ अर्ब ७८ करोड एक लाख ७० हजार ५१८ रुपैयाँ बाहिरिएको छ।
यस अवधिमा नेपालबाट औषधीय पदार्थको लागि २४ अर्ब ७१ करोड ६० लाख ९४ हजार ३२७ रुपैयाँ बिदेसिएको छ। धेरै आयात हुनेमध्ये औषधी आठौँ स्थानमा छ।
नेपालले गत साउनदेखि जेठसम्ममा २४ अर्ब ६ करोड ५१ लाख ६७ हजार ३२२ रुपैयाँको हवाई इन्धन किनेको छ। नेपालले किन्ने हवाई इन्धन आयात सूचकांकमा नवौँ स्थानमा छ।
त्यसैगरी, ११ महिनामा नेपालले चीनबाट २० अर्ब ९७ करोड ९१ लाख ९४ हजार ८८ रुपैयाँको रासायनिक मल डीएपी खरिद गरेको छ। नेपालले आयातका लागि गरेको खर्चअनुसार रासायनिक मलको आयात १० औँ स्थानमा छ।
कृषि प्रधान देश भनेर चिनिने नेपालले ११ महिनामा १७ अर्ब २३ करोड ७२ लाख २५ हजार ९२१ रुपैयाँ बराबरको धान आयात गरेको छ।
धानको आायत ११ स्थानमा छ। यस अवधिमा भारतबाट ४६ करोड ११ लाख ८ हजार ५९९ किलोग्राम धान आयात भएको हो।
Shares

प्रतिक्रिया