सामाजिक सुरक्षा कोषले बैंक तथा वित्तीय संस्थालाई सामाजिक सुरक्षा कोषमा सूचीकरणका लागि दबाब दिएको भन्दै नेपाल वित्तीय संस्था कर्मचारी संघले आन्दोलनको चेतावनी दिएको छ।
सामाजिक सुरक्षा कोषले एक सूचना जारी २०७८ असार मसान्तसम्म योगदानमा आधारित सामाजिक सुरक्षा योजनामा सूचीकृत हुनका लागि निजी तथा संगठित संस्थाहरुलाई आग्रह गरेको थियो।
तर सरकारको नीति नियमअनुरुप व्यावसायिक, पारदर्शी र अनुशासित रुपमा सञ्चालित बैंक, बीमा तथा वित्तीय संस्था तथा संस्थाका कर्मचारीहरुलाई उनीहरुको खाईपाई आएका सेवासुविधाहरु कटौती हुने गरी जबर्जस्ती सामाजिक सुरक्षा योजनामा सरिक गराउन कोषले दबाब दिएको भन्दै नेपाल वित्तीय संस्था कर्मचारी संघले आफूहरुको गम्भीर ध्यानाकर्षण भएको जनाएको छ।
बैंक तथा वित्तीय संस्थाका कर्मचारीहरुलाई आकर्षक हुने गरी योजना नल्याई षड्यन्त्रमूलक र दुराशयपूर्ण किसिमले कर्मचारीहरुलाई मर्का पर्ने किसिमले सामाजिक सुरक्षा योजनामा लान खोजिएकोले आफूहरु विरोधमा उत्रिनुपरेको नेपाल वित्तीय संस्था कर्मचारी संघका अध्यक्ष पदमराज रेग्मीले बताए।
कोभिड महामारीको कारणले बैंक तथा वित्तीय क्षेत्र संकटमा परेको भन्दै यस्तो बेला कोषमा सूचीकृत हुन नसकिने संघले जनाएको छ।
विद्यमान व्यवस्थाहरु परिमार्जन गर्नुपर्ने संघको ठम्याइ रहेको अध्यक्ष रेग्मीले बताउनु भयो । सामाजिक सुरक्षा कोषमा जर्बजस्ती गरेर समावेश गराउन खोजे आन्दोलनमा उत्रिने अध्यक्ष रेग्मीले बताए।
बैंक तथा वित्तीय संस्थाहरुमा कार्यरत कर्मचारीहरुको स्वास्थ्य सुरक्षा, औषधि तथा स्वास्थ्य उपचारको व्यवस्थाका साथै यस क्षेत्रमा खोप लगाउन छुटेका कर्मचारी तथा कर्मचारीको कारणले जोखिममा परेका कर्मचारीका परिवारका सदस्यहरुलाई समेत अनिवार्य खोपको व्यवस्था गर्न पनि संघले माग गरेको छ।
Shares

प्रतिक्रिया