कारोबार


दुई वर्षभित्र हामी दुध उत्पादनमा आत्मनिर्भर बन्छौं : मन्त्री अर्याल

दुई वर्षभित्र हामी दुध उत्पादनमा आत्मनिर्भर बन्छौं : मन्त्री अर्याल

नेपालखबर
जेठ १८, २०७८ मंगलबार १३:२३,

कृषि तथा पशुपन्छी विकासमन्त्री पद्माकुमारी अर्यालले अबको दुई वर्षभित्र मुलुक दुध उत्पादनमा आत्मनिर्भर बन्ने बताएकी छन्।

विश्व दूध दिवशको अवसरमा दूग्ध राष्ट्रिय दुग्ध विकास बोर्डले मंगलबार आयोजना गरेको भर्चुअल कार्यक्रमा मन्त्री अर्यालले हाम्रो प्राणको सुरुवात दूधबाट भएको भन्दै अबको दुई वर्षभित्र दूधमा आत्मनिर्भर बन्ने बताइन्।

उनले भनिन्, ‘अबको दुई वर्षभित्र हामी दुधमा आत्मनिर्भर बन्छौं। प्रति व्यक्ति ११ लिटर दूध अपुगको अहिलेको अवस्थालाई दुई वर्षभित्र पुरा गर्छौं।’

मन्त्री अर्यालले दूग्ध र डेरी क्षेत्रलाई प्रोत्साहित गर्ने गरी बजेट ल्याएको समेत बताइन्। दूग्ध क्षेत्रमा भएका तमाम समस्या समाधानतर्फ मन्त्रालय लागिरहेको भन्दै उनले दुध उत्पादन बढाउने र बजारीकरण गर्ने कार्यतर्फ मन्त्रालय लागिपरेको समेत बताइन्।

उनले भनिन्, ‘दूग्ध क्षेत्रमा भएका समस्या समाधानतर्फ हामी लागिरहेका छौं। ती समस्या समाधान भएनन भने दूध दिवस मनाएको कुनै औचित्य हुनेछैन।’

मानव जीवनमा दुधको ठूलो महत्व रहेको भन्दै मन्त्री अर्यालले दुग्ध क्षेत्रको सम्वद्र्धनमा सबैको संकल्प जरुरी रहेको समेत बताइन्। कोभिड १९ महामारीले दूग्ध क्षेत्रमा समस्या सिर्जना गरेको भन्दै उनले यस विषयमा मन्त्रिपरिषद्को बैठकमा समेत छलफल भएको र बजारसँग जोडिएका कुरालाई सहजीकरण गर्ने दिशातर्फ सरकार अगाडि बढेको बताइन्।

मन्त्री अर्यालले सरकारले दुध नीति अगाडि बढाएको भन्दै अहिलेको असहज परिस्थतीलाई विषेश अवस्थाको रुपमा बुझेर धैर्यता गर्न समेत किसानहरुलाई आग्रह गरिन्।

‘हामी सामाजिक दूरी कायम राखेर आफ्ना गतिविधी सञ्चालन गर्ने ठाउँमा छौं। असहजतालाई विशेष अवस्थाको रुपमा बुझेर धैर्यता गर्नुपर्छ। किसान दाजु भाइले पनि हेक्का राख्नुपर्छ’, मन्त्री अर्यालले भनिन्, ‘व्यवसायबाटै पछि हट्ने सोच बनाउनु हुँदैन। डीडीसीबाट प्रस्ताव गएको छ। भुक्तानीसँग सम्बन्धित निर्णय हुन्छ। हामीले दूध नीति अगाडि बढाएका छौं। संस्थानमा पनि नयाँ पदाधिकारी नियुक्ती गरेका छौं। नयाँ कार्यक्रम अगाडि बढाइरहेको अवस्था छ।’

दुग्ध क्षेत्रमा रहेका तमाम समस्या समाधान गरेर अगाडि बढ्ने बताउदै उनले सरकार समस्याप्रति संवेदनशील भएर अगाडि बढ्ने बताइन्। डीडीसीले दैनिक एक लाख लिटर दुध संकलन गर्नुुपर्ने अवस्था भएपनि अहिलेको अवस्थामा ९० हजार लिटर दैनिक दुध संकलन गर्दै आएको भन्दै उनले बजार खुलेपछि खपत बढाउने गरी काम गर्न निर्देशन दिइन्।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad