चार क्षेत्रलाई समेटेर बृहत् लुम्बिनी विकास गुरुयोजना तयार गरिने भएको छ।
लुम्बिनी, तिलौराकोट, रामग्राम र देवदह क्षेत्र समेटी नयाँ गुरुयोजना बनाउने बजेटमार्फत घोषणा गरिएको हो।
हाल काम भइरहेको लुम्बिनी विकास गुरुयोजनाको बाँकी काम दुई वर्षभित्र सम्पन्न गरिने लक्ष्य राखिएको छ।
सरकारले परम्परागत सँस्कृति एवम् पुरातात्विक सम्पदाको संरक्षण र सम्बद्र्धन गरी सफ्ट पावरको रुपमा विश्वसामु प्रस्तुत दाबी गरेको छ।
बृहत् लुम्बिनी विकास गुरुयोजना तथा हालको कामको निरन्तरताको लागि १ अर्ब ५० करोड विनियोजन गरिएको छ।
हिन्दूहरुको मन्दिर पशुपतिनाथको समेत बृहत गुरुयोजना तर्जुमा गरी कार्यान्वयन गरिने भएको छ।
पशुपतिनाथ मन्दिरको प्रबलीकरणलगायत पूर्वाधार निर्माण गर्न ३५ करोड रकम छुट्याइएको छ।
सरकारले जानकीमन्दिर र तिलौराकोटलाई विश्वसम्पदा सूचीमा सूचीकृत गर्न प्रक्रिया अगाडि बढाइने भएको छ।
जनकपुरलाई धार्मिक, साँस्कृतिक र पर्यटकीय स्थलको रुपमा विकास गर्न हरेक वर्ष अष्टाबक्र शास्त्रार्थ सहितको धार्मिक सम्मेलन आयोजना गरिनेछ।
विराट क्षेत्र, रामजानकी मन्दिर, देवघाट, भैरवस्थान, रूरू, खप्तड लगायतका धार्मिक क्षेत्रको संरक्षण तथा विकासको लागि समेत बजेटको व्यवस्था गरिएको छ।
प्रधानमन्त्री केपी शर्मा ओलीले भगवान रामको जन्मभूमी दावी गर्दै आएको चितवनको अयोध्यापुरीमा राम मन्दिर निर्माण गर्न बजेट विनियोजन गरिएको अर्थमन्त्री विष्णु पौडेलले बताएका छन्।
ओलीले वैशाखमा अयोध्यापुरीमा राम, सीता, लक्ष्मण र हनुमानको मुर्ति स्थापना गर्न लगाएका थिए।
बैतडीको त्रिपुरासुन्दरी, बाजुराको बडिमालिका, हुम्लाको छाँयानाथ, जुम्लाको चन्दननाथ, सुर्खेतको काँक्रेविहार, प्यूठानको स्वर्गद्वारी, मुस्ताङ्गको मुक्तिनाथ, बाराको गढिमाई, सप्तरीको छिन्नमस्ता, खोटाङ्गको हलेसी, सुनसरीको वराह क्षेत्र र ताप्लेजुङ्गको पाथिभरा लगायतका महत्वपूर्ण धार्मिक पर्यटकीयस्थलको संरक्षण एवं विकासका लागि गुरुयोजना निर्माणका लागि बजेट विनियोजन गरिएको छ।
विभिन्न जातजाति एवं भाषाभाषीको रहनसहन, रीतिरिवाज, कला, संस्कृति र परम्परा झल्कने गरी काठमाण्डौको कीर्तिपुरमा निर्माणाधीन राष्ट्रिय साँस्कृतिक संग्रहालय दुई वर्षभित्र सम्पन्न गरिने लक्ष्य राखिएको छ।
प्रदेश सरकारको समन्वय र सहकार्यमा प्रत्येक प्रदेशमा प्रादेशिक संग्रहालयको स्थापना गरिने बजेटमा उल्लेख रहेको छ।

प्रतिक्रिया