शारदा ग्रुप तथा यस अन्तर्गतका लगानी भएका कम्पनीहरुले आफ्नो ब्यवसायीक सामाजिक उत्तरदायित्व अन्तर्गत सरकारलाई विभिन्न स्वास्थ्य सेवा तथा सामग्री सहयोग गरेका छन्।
कोभिड १९ को संक्रमण बढ्दै गएको अवस्थामा सोको रोकथाम र नियन्त्रणका लागि सरकारले चालेका कदमहरुलाई सहयोग स्वरुप ति सेवा तथा सामग्री प्रदान गरिएको शारदा ग्रुपले जनाएको छ।
सहयोग अन्तर्गत दुहबी नगरपालिका अन्तर्गत ३० बेडको आइसोलेसन सेन्टर र १५ बेडको आईसीयू भएको कोभिड अस्पताल सञ्चालनका लागि सम्पूर्ण बिरामीहरुको लागि निशुल्क अक्सिजन र निशुल्क औषधि उपलब्ध गराउने जिम्मेवारी लिएको छ साथसाथै बिरामीहरुको लागि निःशुल्क प्याकेट फुड र बिरामी कुरुवाहरुको लागि निःशुल्क भोजनको समेत ब्यवस्था गरेको छ।
यस्तै, काठमाडौंमा यस ग्रुपले नेपाल उद्योग परिसंघ मार्फत अक्सिजन प्लान्ट सञ्चालनको लागि सहयोग गर्नुका साथै माडवारी सेवा समिति अन्र्तगत गौशाला रहेको ५१ बेडको आइसोलेसन सेन्टर सञ्चालनको लागि ४ लाख नगदका साथसाथै बिरामीहरुलाई निःशुल्क अक्सिजन उपलब्ध गराइरहेको छ।
लाहान नगरपालिकामा भर्खरै बनेको २५ बेडको आइसोलेसन सेन्टरलाई निःशुल्क औषधि र निःशुल्क अक्सिजन उपलब्ध गराउने पूर्णरुपमा जिम्मेवारी लिएको छ। साथै कोभिडका बिरामीहरु र बिरामी कुरुवाहरुका लागि निःशूल्क भोजन उपलब्ध गराउनका लागि समेत पहल गरिरहेको छ।
यस ग्रुपको समेत लगानी रहेको शिवम् सिमेन्ट र होङ्सी शिवम् सिमेन्ट कम्पनीहरुले समेत ब्यवसायिक सामाजिक उत्तरदायित्व अन्र्तगत विभिन्न कामहरु गरिरहेका छन्। होङ्सी शिवम् सिमेन्टले स्वास्थ्य तथा जनसंख्या मन्त्रालयलाई २०० थान अक्सिजन कन्सन्ट्रेन्ट उपलब्ध गराएको छ भने शिवम् सिमेन्टले मकवानपुरमा रहेको अस्पतालमा आईसीयू र आईसोलेसनसहितको कोभिड सेन्टरको लागि ३५ थान बेड उपलब्ध गराएको र बिरामीहरुको लागि निःशुल्क अक्सिजन र औषधि उपलब्ध गराइरहेको छ।

प्रतिक्रिया