कारोबार


आईकाओले गर्ने नागरिक उड्डयन महानिर्देशकहरुको सम्मेलन सोमबारदेखि

आईकाओले गर्ने नागरिक उड्डयन महानिर्देशकहरुको सम्मेलन सोमबारदेखि

रमेश पोख्रेल
भदौ १, २०७६ आइतबार ७:७,

अन्तर्राष्ट्रिय नागरिक उड्डयन संस्था (आईकाओ)ले आयोजना गर्ने नागरिक उड्डयन महानिर्देशकहरुको ५६औँ सम्मेलन भोलि सोमबारदेखि काठमाडौंमा सुरु हुने भएको छ। २३ अगष्ट अर्थात् आगामी शुक्रबारसम्म आयोजना हुने सम्मेलनमा एसिया प्रशान्त क्षेत्रका हवाइ महानिर्देशकहरु युरोपेली संघका नियामक निकायका प्रमुख, अमेरिका, बेलायत र फ्रान्सका नियामक निकायका प्रतिनिधिको समेत सहभागिता रहने नेपाल नागरिक उड्डयन प्राधिकरणले जानकारी दिएको छ।

सम्मेलनमा ठूला विमान निर्माता कम्पनीहरु बोइङ, एयरबसले समेत सहभागिता जनाउने प्राधिकरणले जनाएको छ। प्राधिकरणका अनुसार सम्मेलनमा आईकाओ काउन्सिलका अध्यक्ष डा. अलुमुयिवा बनार्ड अलियु, आईकाओका विभिन्न विभागका निर्देशकहरु, एसिया प्रशान्त क्षेत्रीय निर्देशक अरुण मिश्रको पनि उपस्थिति हुनेछ। सम्मेलनमा ४३ मुलुकका २ सय ९१ प्रतिनिधि, २६ वटा प्रवद्र्धक संस्था तथा अन्य सहभागी गरी करिब ४ सय जना विदेशीको सहभागिता रहने प्राधिकरणले जानकारी दिएको हो।

सम्मेलनमा ‘हार्मोनाइजिङ इफोर्टस टु मिट कप्यासिटी कन्स्ट्रेन्ट’ अर्थात् हवाइ क्षेत्रको चुनौतीको सामना मिलेर गर्ने मुख्य शीर्षकमा छलफल केन्द्रित हुने प्राधिकरणले जनाएको छ। यो सम्मेलन आईकाओले वर्षेनी आयोजना गर्दै आएको छ। सम्मेलनमा हवाइ सुरक्षा, सुरक्षा, क्षमता, एयर नेभिगेसन, आर्थिक विकास र हवाइ यातायात सेवा, उड्डयन वातावरण, प्राविधिक तथा क्षेत्रीय सहयोग र नागरिक उड्डयनसँग सम्बन्धित अन्य समसामयिक विषयवस्तुमा कार्यपत्रहरु प्रस्तुत हुनेछन्। त्यसमाथि गहन छलफल हुने प्राधिकरणले जनाएको छ। सम्मेलनबाट आईकाओलाई नागरिक उड्डयनको क्षेत्रमा नीति तथा कार्यक्रम तर्जुमा गर्न सघाउ पुग्ने बताइएको छ।

नेपालमा यो सम्मेलन यसअघि सन् १९७८ र १९९८ मा पनि आयोजना भइसकेको छ। आईकाओले आफ्नो स्थापनाको ७५ वर्ष पुगेको अवसरमा गत मे २३ मा नेपाल सरकारको मन्त्रिपरिषदको निर्णयबमोजिम विशेष झण्डा सगरमाथाको चुचुरोमा समेत लगेको थियो। नेपालले सन् १९६० मा नागरिक उड्डयन सम्बन्धी अन्तर्राष्ट्रिय महासन्धि १९४४ (शिकागो कन्भेन्सन १९४४)मा हस्ताक्षर गरी आईकाओको सदस्यता प्राप्त गरेको थियो। तत्पश्चात् नेपालले आईकाओबाट विमानस्थल पूर्वाधार विकास, सञ्चार उड्डयन सहाय उपकरण, प्राविधिक जनशक्ति उत्पादन तथा प्राविधिक मिसनमार्फत सहयोग पाउँदै आएको छ।

सम्मेलन हाेटल साेल्टीमा साेमबार बिहान साढे ८ बजेदेखि सुरू हुने प्राधिकरणले जनाएकाे छ। 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad