स्वयम्भू चैत्य परिसरका १७ वटा आवासीय घर पुनर्निर्माणपछि बुद्धाचार्य परिवारलाई हस्तान्तरण गरिएको छ ।
कोभिड संक्रमणका कारण स्वास्थ्य मापदण्ड अपनाउँदै बैशाख १३ गते आयोजना गरिएको एक कार्यक्रममा महानगरका प्रमुख विद्यासुन्दर शाक्यले घरहरुको एकीकृत नक्सासहित आवास हस्तान्तरण गरेका हुन्।
स्वयम्भू परिसरमा रहेका काग्यु कर्मपा सम्प्रदायको कर्मराज महाविहार र स्वयम्भू महाचैत्यका बुद्धाचार्य पुजारीहरूको आवास २०७२ सालको विनाशकारी भूकम्पले क्षतिग्रस्त बनाएको थियो ।
काठमाडौं महानगरपालिका १५ वडा कार्यालयको नेतृत्वमा वडाध्यक्ष ईश्वरमान डंगोलको अध्यक्षतामा गठित स्वयम्भू पुनर्निर्माण समितिले पुजारी परिवारका १७ वटा घर र कर्मराज महाविहार (गुम्बा) को पुनर्निर्माण सम्पन्न गरेको छ ।
पुनर्निर्माणका लागि करिब १७ करोड लागत अनुमान गरिएको थियो। जसमध्ये १३ करोड ५३ लाख रुपैयाँमा पुनर्निर्माण सम्पन्न भएको हो।
लागतमध्ये ३० प्रतिशत घरधनी र बाँकी १७ औँ अवतारी गुरु कर्मपा थिन्ले थाय दोर्जेले सुखावती फाउन्डेसनमार्फत व्यहोरेका हुन्। यसका लागि वडा र कर्मराज महाविहारविच सम्झौता गरिएको थियो ।
पुनर्निर्माणको काम २०७५ पुस ३० गते थालनी गरिएको थियो ।
Shares

प्रतिक्रिया