कारोबार


कोभिड–१९ले प्रभावित माथिल्लो त्रिशूली ३ बी जलविद्युत आयोजनाको निर्माण पुनः सुरु

कोभिड–१९ले प्रभावित माथिल्लो त्रिशूली ३ बी जलविद्युत आयोजनाको निर्माण पुनः सुरु

नेपालखबर
बैशाख १३, २०७८ सोमबार ८:२७,

कोभिड–१९को महामारीको चपेटामा परेको ३७ मेगावाटकोे माथिल्लो त्रिशूली ३ बी जलविद्युत् आयोजनाको काम पुनः सुरु भएको छ।

नयाँ वर्ष मनाउन २०७६ माघको दोस्रो साता आफ्नो घर गएका चिनियाँ कामदारहरु कोभिड–१९का कारण फर्कन नसक्दा र चीनबाट उपकरण तथा सामाग्री ल्याउन नसक्दा पूर्ण रुपमा काम भइरहेको आयोजनाको निर्माण करिब १४ महिना ठप्पप्रायः थियो।

ठेकेदार चिनियाँ कम्पनी सिचुआन एएनएचई हाइड्रोइलेक्ट्रिक इक्जिनियरिङले अहिले मुख्य सुरुङ, विद्युतगृहलगायतका संरचना निर्माणको कार्य गरिरहेको आयोजनाको प्रवर्द्धक त्रिशूली जलविद्युत कम्पनी लिमिटेडका प्रबन्ध–संचालक मोहनप्रसाद गौतमले बताए।

अहिले निर्माणमा ६४ जना चिनियाँ र ८१ जना नेपाली श्रमिकहरु खटिएका छन् ।

‘नयाँ वर्ष मनाउन २०७६को माघमा आफ्नो देश गएका ठेकेदार कम्पनीका कर्मचारीहरु कोभिड–१९का कारण फर्कन नसक्दा करिब १४ महिना निर्माण ठप्प भएको आयोजनाको निर्माण निरन्तरको प्रयासपछि सुरु भएको छ’, उनले भने, ‘चीनसँगका भन्सार नाकाहरु अझै पूर्ण रुपमा नखुल्दा ठेकेदार कम्पनीले चीनमा खरिद गरिसकेका तथा खरिद आदेश दिइ उत्पादन र प्याकेजिङको चरणमा रहेका निर्माण उपकरण तथा सामाग्रीहरु ढुवानी गरी निर्माणस्थलसम्म ल्याउन सकिरहेको छैन, यसबाट धेरै प्रयास गरी पुनः निर्माण सुरु गरिएको आयोजनाको काम प्रभावित हुने देखिएको छ।’

चीनबाट उपकरण आयातका विषयमा ऊर्जा, जलस्रोत तथा सिंचाइ, अर्थ मन्त्रालयलगायतका निकायसँग आवश्यक समन्वय भइरहेको गौतमले उल्लेख गरे।।

जनताको जलविद्युत कार्यक्रमअन्तर्गत रसुवा र नुवाकोटमा निर्माणाधीन ३७ मेगावाटकोे माथिल्लो त्रिशूली ३ बी जलविद्युत आयोजना फागुन २०७७ भित्र सक्ने लक्ष्य राखी निर्माण सुरु गरिएको थियो । कोभिड–१९का कारण लगातार १४ महिना काम बन्द भएको र यस वर्षको हिउँदमा पनि काम सुरु हुन नसकेकाले आयोजनाको निर्माण २०७९ चैतभित्रमा सक्ने लक्ष्य राखिएको छ ।

इन्जिनियरिङ, खरिद तथा निर्माण ( इपीसी ) मोडेलमा आयोजना निर्माणका लागि चिनियाँ कम्पनी सिचुआन एएनएचई हाइड्रोइलेक्ट्रिक इक्जिनियरिङसँग २९ माघ २०७४मा ३ करोड १८ लाख ४७ हजार अमेरिकी डलर र १ अर्ब ९१ करोड ४६ लाख रुपैयाँमा ठेक्का सम्झौता भएको थियो ।

ठेकेदार कम्पनीले आयोजनाको सिभिल, इलेक्ट्रोमेकानिकल र हाइड्रोमेकानिकलतर्फका सम्पूर्ण संरचना र उपकरणको डिजाइन, निर्माण,जडान तथा संचालन गर्ने छ । आयोजनाको समग्र भौतिक प्रगति ४७ प्रतिशत छ ।

आयोजनाको प्रवद्र्धक त्रिशूली जलविद्युत कम्पनी लिमिटेडमा जनताको जलविद्युत् कार्यक्रमअन्तर्गत प्रधानमन्त्री केपी शर्मा ओली, प्रधानमन्त्री पत्नी राधिका शाक्य, तत्कालीन ऊर्जामन्त्री वर्षमान पुन लगायतको २०÷२० कित्ता सेयर छ । कम्पनीले सर्वसाधारणका ३७ लाख ५ हजार कित्ता सेयर निश्कासन गर्दा प्रधानमन्त्री, ऊर्जा, जलस्रोत तथा सिंचाइ मन्त्रीलगायतले पनि खरिद गर्नुभएको थियो । आयोजनाको ३.८ किलोमिटर मुख्य सुरुङमध्ये १.८ किलोमिटर खनिएको छ । विद्युत गृहको पहिलो चरणको खन्ने र सर्पोटको काम क्रमश ः ७६ र ३५ प्रतिशत सकिएको छ ।

नेपाल विद्युत प्राधिकरणले निर्माण गरेको ६० मेगावाटको माथिल्लो त्रिशूली ३ ए जलविद्युत आयोजनाको क्यास्केड भएकाले त्रिशूली ३ बीले बाँध, बालुवा थिग्रयाउने पोखरी (डिसेन्डर) लगायतका संरचना बनाउनु पर्ने छैन । ३ एको विद्युत गृहबाट निक्लिएको पानीलाई आयोजनाको सुरुङमा पठाउन आवश्यक पर्ने गेट जडान गरिसकिएको छ।

३ एको विद्युत गृहबाट निक्लिएको पानीलाई आयोजनाको सुरुङसम्म ल्याउनका लागि आवश्यक पर्ने ‘बक्स कल्भर्ट’ बनाउन सुरु गरिएको छ ।

आयोजनाको प्रवद्र्धक त्रिशूली जलविद्युत कम्पनी लिमिटेडमा प्राधिकरण र नेपाल टेलिकमको ३०÷३० प्रतिशत संस्थापक सेयर छ । कम्पनीमा रसुवा तथा नुवाकोटका गाउँपालिका र नगरपालिकाको ५ प्रतिशत, रसुवा तथा नुवाकोटका स्थानीय वित्तीय संस्थाको ५ प्रतिशत, रसुवा तथा नुवाकोटबासीको १० प्रतिशत, सर्वसाधारणको १५ प्रतिशत र प्राधिकरण तथा टेलिकमका कर्मचारीको ५ प्रतिशत सेयर रहने छ ।

अनुमानित निर्माण लागत ७ अर्ब ४४ करोड र निर्माण अवधिको प्रक्षेपित ब्याज ७८ करोड रुपैयाँ रहेको छ । आयोजनामा ३० प्रतिशत इक्विटी (२ अर्ब ४७ करोड) र ७० प्रतिशत ऋण(५ अर्ब ७६ करोड)बाट लगानी जुटाइएको छ ।

आयोजनाबाट सुख्खायाममा ( मंसिर १६ देखि जेष्ठ १५सम्म) १३ करोड ४८ लाख ८० हजार र वर्षायाममा ( जेष्ठ १६ देखि मंसिर १५ सम्म)े १५ करोड ७७ लाख १० हजार युनिट विद्युत् उत्पादन हुने छ ।

आयोजनाको विद्युत गृहबाट करिव ३ किलोमिटर प्रसारण लाइनमार्फत त्रिशूली ३ बी हब सबस्टेसनमा पुर्याइ राष्ट्रिय प्रसारण लाइनमा प्रवाह गरिने छ ।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad