अहिले कोरोना महामारीले विश्वमै सबैभन्दा पीडित बनेको देश हो भारत, जहाँ हरेक दिन संक्रमितको संख्या साढे ३ लाख बढी पुग्ने गरेको छ।
एक्कासि बढेको कोरोना संकटले भारतमा अक्सिजन नपाएर अस्पतालमा कोरोनाका बिरामीहरु छटपटाइरहेका छन्। केन्द्र सरकारले भारतभर अक्सिजन उत्पादनलाई बढावा दिन हिजोमात्रै नयाँ उद्योगहरुलाई अनुमति प्रदान गरेको छ। भएका प्लान्टहरुले पनि अक्सिजन उत्पादनलाई निरन्तर जारी राखेका छन्।
भारतका सबैजसो स्टिल प्लान्ट अहिले पूरै सक्रिय बनेका छन्। यिनै प्लान्टबाट पूरै देशभर अक्सिजनको आपूर्ति भइरहेको छ। देशको सबैभन्दा ठूलो बोकारो सेल र भिलाईबाट अक्सिजन मिलिरहेको भारतीय मिडियाले जनाएका छन्। बोकारो सेलमा कार्यरत मजदुर र अधिकारीहरु दिनरात काम गरिरहेका छन्।
यहाँबाट हरेक दिन १५० टन अक्सिजन उत्पादन भइरहेको छ। मध्यप्रदेशदेखि उत्तरप्रदेशसम्म बोकारो सेलबाट अक्सिजन आपूर्ति भइरहेको छ। मजदुरहरु आफ्नो चिन्ता छोडेर काममा खटिएका छन्।

टिफिन छोडेर काममा
बोकारो सेलमा अक्सिजन तयार गर्ने दुईवटा प्लान्ट छन्। दुवैमा अहिले तीन शिफ्टमा कर्मचारी काम गरिरहेका छन्। एउटा शिफ्ट आठ घण्टाको छ।
यो आठ घण्टामा कर्मचारी निरन्तर काममा खटिएका छन्। यतिसम्म कि कर्मचारीले भोकको पर्वाह समेत गरेका छैनन्। आफ्नो टिफिन बक्स छेउमा राखेर काममै जुटेका छन्।

समय किन बर्बाद गर्ने?
भारतीय मिडियाहरुका अनुसार खाना खानतिर लाग्दा बिरामीको मृत्यु हुन्छ, किन समय बर्बाद गर्ने? भन्दै अक्सिजन आपूर्तिको काममा लागेका छन्। उनीहरु बिरामीलाई सेवा गर्ने समय नै यही भएकाले निरन्तर काममै खटिएको बताउँछन्। काम पूरा भएपछि मात्रै टिफिन बक्स खोल्ने गरेको मिडियासँग ती कर्मचारीले बताउँछन्।
बोकारो सेल प्लान्टबाट लगातार लखनऊको लागि अक्सिजन आपूर्ति भइरहेको छ। आइतबार फेरि अक्सिजन एक्सप्रेस लखनऊ पुगेको छ। यसकै लागि कर्मचारी द्रुतगतिमा काममा लागेका छन्। संकटको घडीमा काममा विना रोकतोक लागेका उनीहरुले आफ्नो चिन्ता छोडेको भारतीय मिडियाले समाचारमा जनाएका छन्।

तरल अक्सिजन तयार हुँदै
यसैबीच, उक्त सेलको आइनाक्स बोकारो प्लान्टमा तरल अक्सिजन तयार भइरहेको छ। मेसिनहरु रातदिन कराइरहेका छन्। नयाँ खेपका लागि अक्सिजन आइरहँदा कर्मचारीमा चिन्ता बढ्ने गरेको छ। बोकारो सेलमा २५ अधिकारी र १४५ मजदुर दिनरात यसमा खटिएका छन्। हरेक दिन यहाँ १५० टन अक्सिजन उत्पादन भइरहेको छ।

सबैभन्दा बढी यूपीतिर आपूर्ति
बोकारो सेलको तथ्यांकअनुसार अप्रिलमा अहिलेसम्म धेरै अक्सिजन यहाँबाट उत्तरप्रदेशमा आपूर्ति भएको छ। यहाँबाट यूपीमा ४५६ मेट्रिक टन, झारखण्डमा ३०८ मेट्रिक टन, बिहारमा ३७४ मे.टन, पश्चिम बंगालमा १९ मे.टन, पञ्जाबमा ४४ मे.टन, महाराष्ट्रमा १९ मे.टन र मध्यप्रदेशमा १६ मे.टन अक्सिजन पठाइएको छ। नवभारत टाइम्सबाट

प्रतिक्रिया