कारोबार


स्वास्थ्य बीमा थप ६ जिल्लामा

स्वास्थ्य बीमा थप ६ जिल्लामा

नेपालखबर
चैत २५, २०७७ बुधबार ११:४८,

नेपाल सरकारको स्वास्थ्य बीमा बोर्डले थप ६ जिल्लामा कार्यक्रम सञ्चालन गर्ने भएको छ।

पाँचौ स्वास्थ्य बीमा दिवसको अवसरमा बुधबार काठमाडौंमा आयोजित कार्यक्रममा सरकारले थप ६ वटा जिल्लामा स्वास्थ्य बीमा कार्यक्रम सञ्चालन गर्ने घोषणा गरेको हो।

आज बुधबार बाटै स्वास्थ्य बीमा कार्यक्रममा सहभागी हुनेगरी ताप्लेजुङ, बारा, सर्लाही, दोलखा, मनाङ र मुस्ताङमा कार्यक्रम सुरु गरिएको छ। स्वास्थ्य बीमा सेवालाई नेपाल सरकारले सञ्चालनमा ल्याएको नागरिक एपमा पनि समावेश गरिएको छ।

कार्यक्रम शुभारम्भ गर्दै स्वास्थ्य तथा जनसंख्यामन्त्री ह्रदयेश त्रिपाठीले स्वास्थ्य बीमा कार्यक्रमलाई नेपाल सरकारले धेरै नै महत्व दिएको बताए। उनले स्वास्थ्य बीमा कार्यक्रमको प्रभावकारी कार्यान्वयन गर्न सबै कर्मचारी पदाधिकारी लाग्नुपर्नेमा जोड दिए। विद्यमान स्वास्थ्य सेवा प्रणालीका सबै समस्या एकै पटक समाधान गर्न नसकिने भन्दै मन्त्री त्रिपाठीले कार्यक्रमबाट पछाडी फर्कने विकल्प नरहेको बताए।

मन्त्री त्रिपाठीले स्वास्थ्य बीमामा सहभागी भएका विमितहरुको सेवा सुविधामा हेलचेक्र्याइ नगर्न सचेत गराए। स्वास्थ्य बीमाका विमितहरुलाई दिईने सेवा सुविधालाई बोझको रुपमा नहेर्न उनले चेतावनी नै दिए।

उनले भने, ‘अस्पतालले विमितलाई दिने सुविधालाई थप बोझको रुपमा बनाउने प्रयत्न सेवाग्राही संस्थालाई अस्पतालहरुले नगर्नुहोस्। आफ्नो संस्था आफैँले सुदृढ गर्ने काममा लाग्नुहोस्। विमितहरु आए पालो दिन सकिएन भनेर पन्छिन मिल्दैन।’

नेपाल सरकारले २०७२ चैत्र २५ देखि स्वास्थ्य बीमा कार्यक्रम सुरु गरेको हो। पहिलो कार्यक्रम कैलाली जिल्लाबाट सुरु गरिएको थियो। थप ६ जिल्लामा विस्तार भएसंगै स्वास्थ्य बीमा कार्यक्रम आज बाट ७५ वटा जिल्लामा लागू भएको छ। यो कार्यक्रममा सहभागी भएका विमितहरुले औषधि र उपचार सेवामा सहुलियत पाउनेछन्।

५ जनासम्मको परिवार भएको विमितले प्रतिवर्ष ३ हजार ५ सय रुपैयाँ प्रिमियम शुल्क तिरेमा स्वास्थ्य बीमा कार्यक्रमको सम्पूर्ण सुविधा लिन पाउँछन्। आज थपिएका ६ जिल्ला बाहेक ६९ वटा जिल्लामा करिब ३७ लाख ४२ हजार ६ सय जना बीमा कार्यक्रममा सहभागी भईसकेका छन्।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad