कारोबार


कोरोनाका कारण पाँचखाल लगानी सम्मेलन अन्योलमा

कोरोनाका कारण पाँचखाल लगानी सम्मेलन अन्योलमा

नेपालखबर
चैत २५, २०७७ बुधबार १०:१,

काभ्रेपलाञ्चोकको पाँचखाल नगरपालिकाले गत आर्थिक वर्षको अन्त्यतिर गर्ने भनिएको लगानी सम्मेलन त्यतिबेला कोरोना भाइरसको संक्रमण उच्च जोखिम बढ्दै गएपछि रोकिएको थियो।

रोकिएको लगानी सम्मेलन नगरले चालू आर्थिक वर्षमा गर्ने कार्यतालिका बनाए पनि पुनः कोरोना भाइरसको संक्रमण बढ्नसक्ने भएपछि रोकिएको छ।

लगानी लम्मेलन गर्ने निर्णय गरी तयारीमा जुटेको नगर कार्यपालिकाको योजना कोरोना भाइरस संक्रमणका कारण योजनामै सीमित भएको देखिएको छ। कोरोना भाइरस संक्रमणको दोस्रो लहर बढ्दै संक्रमण बढ्ने भएपछि स्थानीय प्रशासनको सार्वजनिक अपिलसँगै नगरका सम्पूर्ण कार्यक्रम स्थगित गरिएको जनाइएको छ।

‘यो आर्थिक वर्षमा गर्ने लक्ष्य राखेका थियौँ तर भाइरस बढ्नसक्ने देखिएपछि प्रशासनको आग्रहमा नगरका सबै कार्यक्रम स्थागित गर्‍यौँ’, नगरप्रमुख महेश खरेलले भने।

खरेलका अनुसार कोरोना संक्रमण शून्य भएपछि चालू आर्थिक वर्षको उपयुक्त समय हेरेर लगानी सम्मेलनको तयारी गर्ने योजना पुनः बनाइने योजना थियो। नगरले गत आर्थिक वर्षभित्र लगानी सम्मेलन गर्न प्रारम्भिक बजेटसमेत विनियोजन गरिसकेको थियो।

यसअघि स्थानीय तहअन्तर्गत पहिलो पटक गत साल असोजमा रुपन्देहीको तिलोत्तमा नगरपालिकाले लगानी सम्मेलन गरी स्वेदेशीसहित विदेशी लगानीकर्ताबाट १५ अर्ब भन्दा बढीको लगानी प्रतिबद्धता दर्शाएका थिए।

काभ्रेपलाञ्चोकको पाँचखाल तिलोत्तमापश्चात लगानी सम्मेलन गर्ने दोस्रो नगरपालिका हुने देखिएको थियो। पाँच खाल क्षेत्रको समग्र विकासका लागि चालू आवमा लगानीकर्ता तथा रोजगारदाताको सम्मेलन गर्न २५ लाख प्रारम्भिक बजेट छुट्याइएको खरेलले जानकारी दिए।

उनले भने, ‘पाँचखालमा राष्ट्रिय तथा अन्तर्राष्ट्रियस्तरका विकासका काम शुरु भएको यस अवसरमा लागानी सम्मेलन फलदायी हुने अपेक्षामा छौँ।’

पाँचखालमा विशेष आर्थिक क्षेत्र ९सेज०का लागि निर्माणकार्य शुरु गरिएको, वृहत सुनकोशी पाँचखाल खानेपानी आयोजनाको काम भइरहेको, राष्ट्रिय युवा परिषद्द्वारा निर्माण हुने ‘नेशनल यूथ इनोभेसन सेन्टर’ तथा एकीकृत तथा स्मार्ट सिटीका लागि पनि जमीन छुट्याइएकाले पनि थप लगानीकर्ता र रोजगारदाता आवश्यक रहेको जनाउँदै नगरले सम्मेलन गर्न लागेको थियो।

‘विशेष गरी कृषि र पशुपालनमा लगानीकर्तालाई आकर्षण गर्ने योजनामा छौँ’, खरेलले भने।

उनले पाँचखालमा लगानी तथा पर्यटनका प्रचुर सम्भावना भएका स्थानमा सडक पु¥याइसकिएको तथा पु¥याउने काम धमाधम भइरहेको र वातावरणको दृष्टिकोणले लगानीकर्ता आकर्षण हुनु स्वाभाविक रहेको बताए।

कृषि तथा पशुपालन क्षेत्रमा आधुनिककीकरण, सौर्य ऊर्जा, प्रविधि र पर्यटकीयस्तरका ठूला होटल, उद्योग स्थापनार्थ सम्मेलनमा प्रस्ताव गरिने बताइएको छ।

‘स्थानीयवासीलाई रोजगार दिने उद्योग तथा परियोजनालाई करछुट दिन पनि छलफल गर्दैछौँ’ नगरप्रमुख खरेलले भने। उनका अनुसार पाँचखालमा विभिन्न ऐतिहासिकस्थल समेत रहेकाले पर्यटन र स्थानीय सांस्कृतिक क्षेत्र लक्षित आयोजनालाई समेत प्राथमिकतामा राखिनेछ।

त्यसो त, ‘पाँचखाल नगर, कृषि शहर’ नारालाई सार्थक बनाउन नगरले पाँचखालको खेतीयोग्य जमीनलाई ‘प्लटिङ’ गर्न पूर्ण प्रतिबन्ध लगाएको छ।
खरेलले भने, ‘आफूखुशी र व्यापारिक हिसाबले खेतीयोग्य जमीन प्लटिङ गर्न पूर्णतः रोक लगाएका छौँ, कृषि उत्पादनमा जोड दिइरहेका बेला खेतीयोग्य जमीन मास्न दिँदैनौँ।’
उनले अबको बजेटमा पाँचखाल उपत्यकामा रिङरोड निर्माणको योजना बनाइनेसमेत जानकारी दिए। यसका लागि सरोकारवाला तथा जिल्लाबाट प्रतिनिधित्व गर्ने जनप्रतिनिधिसँग छलफल भइरहेको उनले बताए।

नगरले रिङरोड राजमार्गसँग जोडिने भएकाले खेतीयोग्य जमीन जोगाएर मानवबस्ती तथा औद्योगिक ग्राम स्थापना गरिने योजना बनाउने जनाएको छ।
खरेलले भने, ‘यसबाट शहरीकरणलाई मात्र व्यवस्थित गर्दैन, कृषि उत्पादनमा लगानी बढाउन सकिन्छ।’

२०७१ सालमा साविक पाँच गाविस जोडेर पाँचखाल नपा बनाइएकोमा दुई वर्ष अघि पनि दुई गाविस थपेर पाँचखाललाई अझ वृहत बनाइएको छ। १३ वडामा विभाजित पाँचखाल नपाको कूल क्षेत्रफल १०३ वर्ग किलोमिटर रहेको छ भने ३७ हजार ७९७ जनसङ्ख्याको बसोबास छ। रासस

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad