कारोबार


तीज तथा अन्तर्राष्ट्रिय व्यापार मेला भदौ १० देखि

तीज तथा अन्तर्राष्ट्रिय व्यापार मेला भदौ १० देखि

नेपालखबर
साउन २८, २०७६ मंगलबार ११:५,

नेपाली महिलाहरुको महान् चाड तीजको अवसर पारेर राजधानीमा ‘१२औं तीज मेला तथा अन्तर्राष्ट्रिय व्यापार मेला २०७६’ आयोजना हुने भएको छ। राजधानीको त्रिपुरेश्वरस्थित युनाइटेड वर्ल्ड ट्रेड सेन्टर (डीईसीसी नेपाल)मा आगामी भदौ १० देखि १४ गतेसम्म आयोजना हुने मेलाको तयारी पूरा भएको इभेन्ट म्यानेजर इन्ट्रोडक्सन ट्रेड शो नेपाल प्रालिले जनाएको छ।

तीजको अवसरमा आयोजना गरिने यो मेला नेपालको सबैभन्दा ठूलो उपभोक्ता मेलाको रुपमा पनि परिचित रहँदै आएको छ। मेलामा यो वर्ष काठमाडौंमा सयभन्दा बढी कम्पनी, संघ, संस्थाहरुको सहभागिता हुनेछ भने ५० हजारभन्दा बढी मानिसहरुले प्रत्यक्ष अवलोकन गर्ने अपेक्षा गरिएको छ।

यो इभेन्टमा महिला उद्यमीहरुले आफ्ना सृजनात्मक उत्पादन र सेवामार्फत प्रदर्शन गर्ने उद्देश्यले वार्षिक रुपमा आयोजना गरिँदै आएको छ। यो इभेन्ट उत्पादन र सेवाको व्यवसायीकरण गर्ने मात्र नभई महिला उद्यमीहरुलाई अग्रपंक्तिमा उभ्याएर समग्र नेपाली अर्थतन्त्रको समृद्धिमा केन्द्रित हुँदै आएको छ। यो महिलाहरुको लागि व्यावसायिक सम्पर्क बढाउने माध्यमको रुपमा विगतदेखि आयोजना हुँदै आएको छ। साथै यसपालि अन्तर्राष्ट्रिय व्यापार मेलाको रुपमा यसलाई अगाडि बढाइएको छ । भारत, पाकिस्तान, बंगलादेश तथा अन्य देशका स्टलहरु पनि मेलामा रहनेछन् ।

मेला संयोजक सुमन महर्जनले तीज मेला केबल मेलाको रुपमा मात्र नभई महिलाहरुलाई व्यावसायिक बनाउने र अवसर नपाएका महिला उद्यमीहरुलाई प्रवर्द्धन गर्ने माध्यम भएको बताए। ‘तीज मेला तथा अन्तर्राष्ट्रिय व्यपार मेलाको तयारी र प्रवर्द्धन व्यापक रुपमा हुँदै छ। कतिपय महिला उद्यमीले त यो मेलामार्फत नै आफैं उद्यमी बनेर व्यवसाय विस्तार गरेका छन्। त्यसैकारण यो मेलालाई हामीले निरन्तरता दिन सकेका हौं,’ महर्जनले भने।

यो इभेन्टको अवसर पारेर राष्ट्रिय तथा अन्तर्राष्ट्रिय प्रदर्शकहरु सहभागी हुनेछन् भने नयाँ ब्राण्ड र उत्पादनहरु सार्वजनिक गरिने योजना रहेको छ। प्रदर्शनीलाई आकर्षक र मनोरञ्जक बनाउनका लागि फ्रि फोटो सुट, लक्कि ड्र, डोर प्राइज, निःशुल्क स्वास्थ्य जाँच तथा परामर्श, निःशुल्क मेहन्दी लगाउने कार्यक्रम, निःशुल्क कपाल कटिङ कार्यशाला, बालबालिकाहरुका लागि गेमिङ्ग जोन, लाइभ म्यूजिक एण्ड कल्चर प्रोग्राम लगायतका कार्यक्रम राखिएको छ।

प्रदर्शनीमा विभिन्न व्यावसायिक कम्पनी संघ/संस्थाहरुसँग सम्पर्क विस्तार र व्यवसाय वृद्धिको लागि छुट्टै प्लेटफर्म तयार पारिएको छ भने महिला उद्यमशीलताको लागि सेमिनारको कार्यक्रम पनि राखिएको छ। मेलामा अन्तराष्ट्रिय स्टलहरु हुने भएकाले अवलोकनकर्ताहरुले नेपाली सामान मात्र नभई विदेशी उपभोग्य सामानहरु सही मूल्यमा पाउने बताइएको छ।

विगत वर्षदेखि तीज मेला आयोजना गर्दै आएको इभेन्ट व्यवस्थापन इन्ट्रोडक्सन ट्रेड सोज नेपालका प्रबन्धनिर्देशक महर्जनले महिला उद्यमीहरुलाई सहयोग गर्न र अगाडि बढाउन सहकार्य गर्दै आएको जानकारी दिए। ‘यही इभेन्टमार्फत हामीले कयौं महिलाहरु आफैं उद्यमी बनेको देखेका छौं, त्यसैले यो केबल तीज मेला मात्र नभई समग्र नेपाली महिलाहरुको लागि व्यवसाय प्रवर्द्धन गर्ने प्लेटफर्म पनि हो, यो वर्ष थप अन्तर्राष्टिय व्यापार मेला पनि आयोजना गर्दै छौं र धेरैभन्दा धेरै उद्यमीलाई सहभागी गराउँदै छौँ’, उनले भने।

नेपाल चेम्बर अफ कमर्सले सहयोग गरेको मेलामा पाकिस्तानबाट १२, भारतबाट १२, बंगलादेशबाट १२ तथा नेपालीहरुको तीज विशेष ७० वटा गरेर १०६ स्टल रहनेछन् ।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .