ad ad

कारोबार


गैँडाकोटमा ११ करोड लगानीमा होटल सञ्चालन

गैँडाकोटमा ११ करोड लगानीमा होटल सञ्चालन

नेपालखबर
चैत १५, २०७७ आइतबार ५:३८,

नवलपरासी (बर्दघाट–सुस्तापूर्व)को गैँडाकोट नगरपालिका–२ को शिलान्यास चोकमा सुविधासम्पन्न होटल सञ्चालनमा आएको छ।

तीनतारे गुणस्तरको होटल सञ्चालन गर्ने लक्ष्यसहित गैँडाकोटमा रु ११ करोड लगानीमा होटल मुन स्टार सञ्चालनमा ल्याइएको हो।

होटल व्यवसाय र चलचित्र क्षेत्रमा समेत काम गर्दै आएका दुई युवाले होटल सञ्चालनमा ल्याएका हुन्। १२ वर्षदेखि होटल व्यवसाय सञ्चालन गर्दै आएका राम गैरे तथा १० वर्षदेखि होटल सञ्चालन गर्दै आएका चलचित्रकर्मी ध्रुव न्यौपानेको लगानीमा होटल सञ्चालनमा आएको हो। गैरेको जापानमा चार तथा नेपालमा दुईवटा होटल सञ्चालनमा छन्।

यसअघि धवलागिरि फिल्म हल रहेको भवनलाई व्यवस्थित गर्दै रु ११ करोडको लगानीमा होटल सञ्चालन गरेको गैरेले बताए। पाँच कठ्ठा पाँच धुर जमिनसहितको भवनलाई व्यवस्थित गर्दै होटल सञ्चालनमा ल्याइएको होटलको गुणस्तर तथा सेवा, सुविधा वृद्धि गर्दै लगिने गैरेले बताए। नेपालमा पर्यटनको प्रचुर सम्भावना रहेको भन्दै नेपालकै केन्द्रमा पर्ने गैँडाकोटमा समेत पर्यटनको ठूलो सम्भावना देखिएका कारण उनले पाँच वर्षको अध्ययनपछि होटल सञ्चालनमा ल्याएको बताए।

ठूला होटलले प्रदान गर्ने सेवा, सुविधा सस्तो शुल्कमा प्रदान गरिने भन्दै सञ्चालक न्यौपानेले नेपालमा नै स्थापित हुने गरेर होटलमा लगानी गरिएको बताए। सो होटलमा पार्टी प्यालेस, रेष्टुरेन्ट एन्ड बार, सेमिनार हल, ट्राभलका लागि गाडी व्यवस्था गरिएको छ। एक सय जनासम्म बास बस्न मिल्ने गरी तीन प्रकारका कोठाको व्यवस्था गरिएको उल्लेख गर्दै न्यौपानेले एकैपटकमा एक हजार ५०० जनालाई खाना खुवाउन सक्ने गरी सेमिनार तथा भोजभतेर गर्न सकिने हलको सुविधा रहेको जानकारी दिए।

नेपाली, चाइनिज, इन्डियन, थाइलगायत एशियन फुड्सको सेवा उपलब्ध गराउने गरी होटल सञ्चालन गरिएको न्यौपानेले बताए। रु ५ सयदेखि दुई हजार २०० सम्मका बास बस्ने कोठाको व्यवस्था गरिएकाले अन्यको दाँजोमा सस्तो र गुणस्तरीय सेवा प्रदान गरिने उनले बताए। होटलमा स्विमिङ पुल (पौडी पोखरी)को तयारीसमेत भइरहेको उनको भनाइ छ।

होटलका व्यवस्थापक हरि पौडेलले होटललाई जिल्लाकै उत्कृष्ट होटलका रूपमा स्थापित गर्दै लैजाने बताए। होटलमा प्रत्यक्षरूपमा १६ जनाले रोजगार पाएको पौडेलको भनाइ छ। होटलले स्थानीय उत्पादनलाई प्राथमिकता दिने उल्लेख गर्दै पौडेलले यसबाट स्थानीय उत्पादनको प्रवद्र्धन हुने बताए।

सो होटलको उद्घाटन नेपाल उद्योग वाणिज्य महासंघका पूर्वअध्यक्ष चण्डिराज ढकालले गरेका थिए। शनिबार होटल उद्घाटनका क्रममा ढकालले लगानीको वातावरण बनाउन राज्यले समेत सोहीअनुरुपको नीति ल्याउनुपर्ने बताए। होटलले गुणस्तर र सेवाग्राहीको इच्छाअनुसारको सेवा, सुविधा उपलब्ध गराउनुपर्ने ढकालको भनाइ थियो। रासस

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .