नेपाल चेम्बर अफ कमर्सको ७० औँ वार्षिकोत्सव सुरु भएको छ।
राष्ट्रपति विद्यादेवी भण्डारीले राष्ट्रपति कार्यालय, महाराजगञ्जमा सोमबार आयोजित समारोहमा वार्षिकोत्सव कार्यक्रमकाे उद्घाटन गरेकी छन्।
कार्यक्रमलाई सम्बोधन गर्दै राष्ट्रपति भण्डारीले आर्थिक विकासबाट समृद्धि हासिल हुने भएकाले उक्त दृष्टिकोणलाई साकार तुल्याउन व्यावसायिक क्षेत्रको विशेष भूमिका हुनपर्ने बताइन्।
‘चेम्बरजस्ता संस्थाबाट देशको आर्थिक विकास एवं व्यापार व्यवसाय विस्तार गर्न महत्वपूर्ण आधार निर्माण भएको छ’, राष्ट्रपतिले भनिन्, ‘नेपाली उत्पादनलाई अन्तर्राष्ट्रिय बजारमा पु¥याउन विभिन्न प्रर्दशनीहरूको आयोजना गर्नुका साथै प्रवद्र्धनात्मक गतिविधिद्वारा नेपाली उद्योगीहरूको व्यावसायिक क्षमता बृद्धि गर्न पनि चेम्बर सफल भएको छ।’
औद्योगिक उत्पादन बढाई मुलुकलाई आत्मनिर्भर तुल्याउँदै व्यापार घाटा न्यून गर्ने संकल्प मुलुकले गरेको सन्दर्भमा चेम्बरको भूमिका अझ महत्वपूर्ण भएको राष्ट्रपतिले बताइन्। संस्थागत सामाजिक उत्तरदायित्व अन्तरगत महामारी, बाढी, पहिरो, कोभिड–१९ जस्ता प्राकृतिक प्रकोपबाट प्रभावितहरूलाई राहत तथा पुनःस्थापना गर्ने कार्यमा चेम्बरले निर्वाह गरेको भूमिकाको राष्ट्रपतिले प्रशंसा गरिन्।
कार्यक्रममा अर्थमन्त्री विष्णु पौडेलले समृद्ध नेपाल निर्माण गर्ने सरकारको लक्ष्य प्राप्तिका लागि सरकारले निजी क्षेत्रसँग घनिष्ठ सम्बन्ध राख्न चाहेको बताए।
‘तपाईँहरूका समस्या सुन्न र ती समस्या समाधान गर्नमा सरकारको ध्यान छ’, अर्थमन्त्री पौडेलले भने, ‘सरकार, निजी क्षेत्र र सहकारी क्षेत्र मिलेर मात्र यो लक्ष्य पूरा गर्न सकिन्छ। आउने दिनमा पनि तपाईँहरूसँग जिवन्त सहकार्यका लागि सरकार आह्वान गर्दछ।’
कार्यक्रममा नेपाल चेम्बर अफ कमर्सका अध्यक्ष राजेशकाजी श्रेष्ठले नेपालको निजी क्षेत्र सरकारले अघि सारेको ‘समृद्ध नेपाल सुखी नेपाली’ महाअभियानको सारथी भएको बताए।
‘सरकार र निजी क्षेत्र समृद्धिका निम्ति एक रथका दुई पांग्रा हुन्’, अध्यक्ष श्रेष्ठले भन, ‘हामी उच्चतम सहकार्यको संस्कृति निर्माण गर्न चाहन्छौँ।’
Shares

प्रतिक्रिया