विगत ३० वर्षभन्दा लामो इतिहास बोकेको नेपालको प्रतिष्ठित स्वदेशी मोबिल तथा लुब्रिकेन्ट ब्रान्ड ‘कन्ट्रोल लुब्रिकेन्ट’ ले आफ्नो कुल उत्पादन क्षमतामा ३० देखि ४० प्रतिशतसम्म कटौती गरेको छ।
बाह्य र आन्तरिक आर्थिक सूचकहरू प्रतिकूल बन्दै गएपछि उद्योगले उत्पादनको आकार घटाएर संकट टार्ने रणनीति लिएको हो।
उत्पादनमा ४० प्रतिशत कटौती गरेको भए पनि कर्मचारी कटौती नगरिएको उद्योगले जनाएको छ।
१५० जना कर्मचारीलाई जागिरबाट निकालिएको भन्ने हल्ला सर्वथा निराधार रहेको उद्योग प्रशासनले स्पष्ट पारेको छ। उद्योगका सञ्चालक सुबोध कोइरालाका अनुसार उद्योग हाल एक सिफ्टमा निरन्तर चलिरहेको छ र कार्यरत कर्मचारीहरू यथावत् नै छन्।
विश्वव्यापी रूपमा चर्किएको अमेरिका र इरान तथा रुस-युक्रेन युद्धका कारण उद्योगमा धेरै समस्या आएको कोइरालाले जानकारी दिए।
पछिल्लो समय मध्यपूर्वमा भएको युद्धका कारण आपूर्ति शृङ्खलामा आएको अवरोधले उद्योगको उत्पादन लागत आकासिएपछि उत्पादनमा ४०प्रतिशतसम्म कटौती गरिएको सञ्चालक कोइराला बताउँछन्।

‘डलरको मजबुती र पेट्रोलियम पदार्थको मूल्यवृद्धिले गर्दा प्लास्टिक प्याकेजिङ (बकेट) मा ५० प्रतिशतभन्दा बढी, स्टिकर तथा सहायक सामग्रीमा ३० देखि ३५ प्रतिशत, कार्टुन बक्समा २० देखि २५ प्रतिशत र ढुवानी भाडामा २० देखि २५ प्रतिशतसम्म लागत बढेको छ’, कोइरालाले भने, ‘समग्र उत्पादन लागत अत्यधिक वृद्धि भएपछि त्यसको असर उद्योगमा परेको छ, बजारमा उधारोको जोखिम न्यूनीकरण गर्न उद्योगले हाल माग र आवश्यकताका आधारमा मात्र सामान बजारमा पठाउने (सप्लाई कन्ट्रोल) रणनीति लिएको छ।’
उत्पादन घटाउनुमा उद्योगीले युद्धसँगै नेपालभित्रको आन्तरिक समस्यालाई पनि लिएका छन्। अहिले इलेक्ट्रिक सवारीका साधनहरू बढ्नु, मोबिल खपत हुने सवारीसाधन तथा मेसिनरीहरूको प्रयोग ह्वात्तै घट्नु पनि हो।
सामान्यतया मोटरसाइकलमा १२ देखि १५ सय किलोमिटर गुडेपछि इन्जिन आयल फेर्नुपर्ने नियम भए पनि बजारमा पैसा नहुँदा उपभोक्ताहरूले इन्जिन नै सिज हुने अवस्था नपुगुन्जेल अर्थात् ४ हजार किलोमिटरसम्म पनि मोबिल नफेरी सवारी चलाउने गरेका छन्, जसले गर्दा बजारमा लुब्रिकेन्टको समग्र खपतमा असर गर्ने उद्योगीको बुझाइ छ। यसलाई व्यवसायीहरूले उपभोक्ताको खर्च गर्ने क्षमतासँग जोड्ने गरेका छन्।
फुजिमा आयल इण्डष्ट्रिजले बजारमा कन्ट्रोल, रोयल रोयलिकन्स र म्याजिक प्लस गरी तीन वटा ब्रान्ड उत्पादन गर्दै आएको छ।
‘यस उद्योगको बजार मुख्य गरी कृषि ट्रयाक्टर सेगमेन्टले धानेको छ। कृषि क्षेत्रमा केही गतिविधिहरू चलायमान रहेकाले सेल्सको ग्राफ पूर्ण रूपमा तल झर्न पाएको छैन,’ उद्योगी कोइरालाले भने, ‘लुब्रिकेन्ट विधामा पनि ‘कन्ट्रोल’ अझै पनि अत्यधिक माग भएको ब्रान्डको रूपमा टिकिरहेको छ।’
नेपाली बजारमा मात्र सीमित रहेको यस उद्योगले विगतमा भारतमा निर्यातको प्रयास गरे पनि बल्क प्रोडक्सन र मूल्य म्याच नगरेका कारण हाललाई स्थगित गरे पनि आगामी दिनमा भारतको सिलिगुडी बजारलाई लक्षित गरी पुनः निर्यातको योजना बनाइरहेको छ।
नेपाली स्वदेशी लुब्रिकेन्ट उद्योगहरूले बजारमा उत्कृष्ट गुणस्तर हुँदाहुँदै पनि विदेशी ब्रान्डसँग अस्वस्थ प्रतिस्पर्धा र गाडी विक्रेताहरूको ‘सिन्डिकेट’ खेप्नुपरिरहेको गुनासो उद्योगीको छ।
बहुराष्ट्रिय गाडी तथा मोटरसाइकल कम्पनीका आधिकारिक डिलर र सर्भिस सेन्टरहरूले उपभोक्तालाई आफ्नै ब्रान्डको महँगो आयल हाल्न बाध्य पार्ने र नेपाली ब्रान्ड हालेमा गाडीको वारेन्टी नै समाप्त पारिदिने त्रास देखाउने गरेका छन्। यसले गर्दा नेपाली उद्योगहरू ग्यारेन्टी अवधि सकिएका पुराना गाडीहरूमा मात्र निर्भर रहनुपर्ने विवशता छ।
कतिपय स्थापित विदेशी गाडीका आधिकारिक आयलले आफ्नो बट्टामा अन्तर्राष्ट्रिय मापदण्ड (ग्रेड) सम्म उल्लेख नगरी उपभोक्ताबाट चर्को मूल्य असुलिरहेका छन्। जबकि नेपाली उद्योगहरू अन्तर्राष्ट्रिय मापदण्ड पूर्ण पालना गरेर सस्तो मूल्यमा सामान दिँदा पनि उपेक्षित हुनुपरेको कोइरालाले बताए।
समस्या हुनुमा राज्यको उदासीनता पनि प्रमुख कारण हो। सरकारी कार्यालयहरूमा स्वदेशी उत्पादन १५ प्रतिशतसम्म महँगो भए पनि स्वदेशी वस्तु नै खरिद गर्नुपर्ने सर्कुलर जारी गरे पनि त्यो व्यवहारमा पूर्ण रूपमा कार्यान्वयनमा आउन सकेको छैन। सरकारले स्वदेशी उत्पादन प्रयोगलाई प्राथमिकतामा राख्न नसकेको यथार्थ अहिले पनि स्पष्ट छ।
स्वदेशी उत्पादनलाई प्राथमिकता दिने बलियो राष्ट्रिय नीति र अनुगमन नहुँदा विदेशी ब्रान्डले नेपाली बजारलाई डोमिनेट गरिरहेका छन्। ३० वर्ष पुरानो नेपाली ब्रान्ड ‘कन्ट्रोल लुब्रिकेन्ट’ ले वर्तमान संकटलाई ‘सर्भाइभल मोड’ मा लिएर अगाडि बढाइरहेको छ।
अन्तर्राष्ट्रिय मन्दी कम हुनासाथ उद्योग पुनः पुरानै लय र पूर्ण क्षमतामा फर्किने विश्वास उद्योग प्रशासनको छ। तर, यसका लागि राज्यले स्वदेशी उद्योगको संरक्षण गर्न र बजारमा वैदेशिक ब्रान्डको एकाधिकार रोक्न ठोस कदम चाल्न जरुरी देखिन्छ।

प्रतिक्रिया