कारोबार


चौधरी फाउन्डेसनद्वारा ‘सीजी उन्नति कल्चरल भिलेज’ सञ्चालनमा

चौधरी फाउन्डेसनद्वारा ‘सीजी उन्नति कल्चरल भिलेज’ सञ्चालनमा

नेपालखबर
फागुन २८, २०७७ शुक्रबार ११:८,

चौधरी फाउन्डेसनद्वारा नवलपुरको हर्कपुरमा निर्मित ‘उन्नति कल्चरल भिलेज (यूसीभी)’ विधिवत् रूपमा सुरु भएको छ।

शुक्रबार एक समारोहबीच वरिष्ठ कलाकार श्यामलाल श्रेष्ठ, गैंडाकोट नगरपालिकाका मेयर छत्रराज पौडेल र फाउन्डेसनका उपाध्यक्ष निर्वाण चौधरीले ‘यूसीभी’ उद्घाटन गरे। फाउन्डेसन चौधरी ग्रुपअन्तर्गतको सामाजिक उत्तरदायित्व वहन गर्ने एकाइ हो।

देशका सातै प्रदेशमा सांस्कृतिक केन्द्र निर्माण गर्ने उद्देश्यअनुरूप पहिलो चरणमा फाउन्डेसनले ‘यूसीभी’ स्थापना गरेको हो।

उद्घाटन समारोह शाश्वतधामद्वारा सञ्चालित गुरुकुल कर्मकाण्ड समूहको स्वस्तीवाचनबाट सुरु भएको थियो। त्यसपछि कृष्णलीलाअन्तर्गतको गणेश श्लोक र सरगममा कलाकार सुबिना श्रेष्ठले शास्त्रीय नृत्य प्रस्तुत गरेका थिए।

उद्घाटनपछि बोल्दै फाउन्डेसनका अध्यक्ष विनोद चौधरीले वर्षौंदेखिको अथक प्रयास र लगनशीलताका कारण ‘यूसीभी’ बलियो गरी उभिएको बताए। ‘कला, साहित्य र संस्कृति कुनै पनि समाजका जग हुन्। हामीले यी जगलाई बलियो बनाएनौं भने आउने पुस्ताले बिर्सिनेछ,’ उनले भने, ‘उन्नति सांस्कृतिक ग्राम हामीले वर्तमान र भविष्यको पुस्तालाई सोचेर बनाएका हौँ।’

आफू पाँच वर्षअघि भारतको राजधानी नयाँ दिल्ली जाँदा विश्व बैंकको ४ करोड डलर सहयोगमा सञ्चालित ‘एसियन हेरिटेज फाउन्डेसन’द्वारा स्थापित विभिन्न संग्रहालयमा केही नेपाली कला देखेपछि आफूमा यससम्बन्धी चाहना बढेको उनले सुनाए।

‘त्यहाँ केही नेपाली कला र शिल्प देखें। नेपाल फर्केर खोज्दा पाइनँ। त्यसैले त्यस्ता कला सुरक्षित राख्नुपर्छ भनेर लागेको हुँ।’

कला, साहित्य र संस्कृतिलाई अर्थतन्त्रसँग जोड्न सके मात्र जीवन्त हुने भन्दै चौधरीले ‘यूसीभी’ त्यसकै थालनी भएको बताए।

‘कुनै बेला नेपालका पस्मिना र कार्पेट नहुने युरोपका घरै हुँदैनथे। अहिले ती कहाँ हराए, कसैलाई पत्तो छैन,’ चौधरीले थपे, ‘त्यसैले त्यस्ता निधि जगेर्ना गर्न सकेनौं भने हाम्रा हरेक सांस्कृतिक अवयवहरू हराएर जान्छन्।’

ucg.jpg

फाउन्डेसनका उपाध्यक्ष तथा चौधरी ग्रुपका प्रबन्ध निर्देशक निर्वाण चौधरीले आफूहरू तीन दशकदेखि नेपालीको जीवनस्तर उकास्न प्रयासरत रहिरहेको बताए। बिल–मालिन्डा गेट्स फाउन्डेसन, टाटा समूहलगायतसँग सहकार्य गर्दै महिला जनजीविका, स्वावलम्बन, आर्थिक–सामाजिक उत्थान जस्ता क्षेत्रमा फाउन्डेसनले निरन्तर काम गर्दै आएको जानकारी उनले दिए।

‘समाजमा देखिने गरी लगानी गर्नुपर्छ भन्ने हाम्रो शुरुदेखिकै सोच हो। त्यही धरातलमा टेकेर कला–संस्कृति, सामाजिक अर्थतन्त्र, विपद् व्यवस्थापनमा हामी खटिँदै आएका छौं,’ उनले भने, ‘उन्नति सांस्कृतिक ग्राम पनि त्यसकै निरन्तरता हो।’

उद्घाटन समारोहमा कलाकार अनिल शाही र उनको ब्यान्डले आकर्षक सांगीतिक प्रस्तुति दिएको थियो। कलाकार कविराज लामाले आफू घुमेका केही जापानी सांस्कृतिक केन्द्रहरूको उदाहरण दिँदै नेपालभित्रै यस्तो प्रयास भएकोमा खुशी व्यक्त गरे।

समारोहमा फाउन्डेसनकी निर्देशक सुरभी चौधरीले ‘यूसीभी’को परिचय दिएकी थिइन् भने ‘यूसीभी’का कार्यकारी प्रमुख नारायण श्रेष्ठले लक्ष्य र उद्देश्यबारे प्रकाश पारेका थिए।

‘यूसीभी’ परिसरमै निर्मित कलादीर्घको पनि आजै उद्घाटन गरिएको छ।

बढ्दो सहरीकरण र बनावटी जीवनशैलीले मौलिक संस्कृति मासिँदै गएको देखेपछि फाउन्डेसनले ‘यूसीभी’ स्थापना गरेको हो। यहाँ थारू संस्कृति झल्काउने रेस्टुराँ, अतिथिगृह र कोठाहरू छन्। चारैतिर हरियाली छ।

चित्रमा थारू जातिका विभिन्न मेलामहोत्सव र पर्वबारे जानकारी छन्। थारू जातिका दैनिकी झल्किने वस्तु छन्। यो कल्चरल भिलेजमा थारु समुदायको सिंगो तस्बिर छ।

चितवनको नारायणगढ बजारबाट करिब १२ किलोमिटर दूरीमा रहेको ‘यूसीभी’मा थारू डबली, थारू बार छन्। थारू बारलाई ‘गदला मोद’ नाउँ दिइएको छ।

थारू संस्कृतिमा गदला भनेको जाँड र मोद भनेको रक्सी हो। अरू संरचनाको नाउँ पनि यसैगरी राखिएको छ। भिलेजमा थारू मात्र नभएर अन्य विभिन्न संस्कृतिका विषयलाई पनि प्रस्तुत गरिनेछ।

करिब ६ बिघा जग्गामा फैलिएको भिलेजमा नेपाली कलाको संग्रहालय पनि छ। कला र साहित्यको प्रवद्र्धनका लागि भनेर कला केन्द्र बनाइएको छ। कलाघर पनि यहीँ छ, जहाँ सर्जकहरू आएर सिर्जना गर्न सक्छन्। अर्गानिक खेतीपातीको प्रवद्र्धन र विभिन्न खाद्यान्न उत्पादन गर्ने तरिका प्रदर्शनी गर्न यहाँ विशेष स्थान छुट्याइएको छ।

यहाँको थारू रेस्टुराँमा आउने पाहुनाका लागि यहीँका उत्पादन पस्किइनेछ। सँगै थकाली र नेपाली परम्परागत खानाकोस्वाद पनि चखाइनेछ।

भिलेजमा ‘कल्चरल मल्टीपर्पस हल’ पनि हुनेछ, जहाँ कल्चरल ब्यांक्वेटिङ, सभासमारोह, बैठक, सांस्कृतिक प्रदर्शनी हुनेछन्।

भिलेजमा ‘कला बाटिका’का लागि छुट्टै ठाउँ तयार गरिएको छ। यसमा १८ वटा स्थान छुट्याइएका छन्, जसलाई ‘ओपन एयर म्युजियम’ भनिएको छ। यहाँ कलाकारले आफ्ना कलाकृति सिर्जना गर्नेछन्, जसलाई यहीँ प्रदर्शनीमा राखिनेछ।

भिलेजमा स्थानीय हस्तकलाका विभिन्न साधन उत्पादन पनि हुनेछन्। त्यसका लागि यहीँ दक्ष जनशक्ति उत्पादन गर्ने र उत्पादनहरूलाई बजारसम्म पहुँच पु-याउने योजना छ।

नेपाली शिल्प एवम् कलाबारे रुचि जगाउन ‘हिस्ट्री म्युजियम’ पनि बनाइएको छ, जहाँ नेपाली शिल्पीका प्राचीन, मध्यकालीन र आधुनिक शिल्पहरू हुनेछन्।

थारुसँगै अन्य समुदायका संस्कृतिलाई पनि भिलेजले समाहित गर्नेछ। नवलपुर क्षेत्रका माझी, बोटे, दराई, मगरलगायतका संस्कृति पनि यहाँ हुनेछन्। घाटु, सोरठीजस्ता नाच प्रदर्शन गरिनेछ।

नेपालका सबै कलाकार एवम्साहित्यकार आएर यहाँ आफ्नो कला एवम्साहित्य सिर्जना गर्न सकून्भन्ने भिलेजको लक्ष्य हो।

भिलेजको अवधारणाले रोजगारी सिर्जनालाई प्रोत्साहन गर्छ नै, सँगै यसले स्वरोजगारीलाई पनि समानान्तर रूपमा बढाउनेछ।

स्वरोजगारका बृहत्तर योजनामा भिलेजले काम गरिरहेको छ। स्थानीयलाई नैसहभागी गराइने भएकाले हस्तकलाका सामग्री उत्पादनदेखि अतिथि सत्कारसम्म उनीहरू नै अग्रपंक्तिमा रहनेछन्।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad