उद्योग संघ चितवनले औद्योगिक राहत कोष स्थापना गरेको छ। उद्योगमा विपत् आइपर्दा सहयोग गर्ने उद्देश्यले कोषको स्थापना गरिएको हो।
संघका अध्यक्ष राजु पौडेलले आफूले रु एक लाख राखेर कोषको शुभारम्भ गरेको बताए।
उनले भने, ‘कोषमा रकम जम्मा गरेअनुसार विपत् पर्दा छ महीनासम्म बिनाव्याज सहयोग गरिनेछ।’
कोषमा जम्मा गरेको रकमको रु १०० गुणा गर्दा आउने रकम बराबरको सहयोग छ महीनाका लागि गरिनेछ। यस्तो सहयोग अधिकतम रु ५० लाखसम्म मात्रै उपलब्ध गराइने उनले जानकारी दिए।
भूकम्प, आगलागी, बाढीपहिरो जस्तो विपत्ले उद्योग पूर्णरुपमा क्षति भई पुनःसञ्चालन गर्न सहयोग उपलब्ध गराइने छ। संघका वरिष्ठ उपाध्यक्ष त्रिलोचन कँडेलका अनुसार विपत् पर्दा तत्काल उद्योग सञ्चालन गर्न कठिन हुने भएकाले यस्तो व्यवस्था गरिएको हो।
उनले भने, ‘नेपालमा पहिलोपटक हामीले यो अभियान शुरु गरेका छौँ।’
अभियानलाई स्थानीय पालिकाले पनि सहयोग गरिरहेका छन्। हालसम्म कोषमा रु २० लाख जम्मा भइसकेको छ। कालिका र खैरहनी नगरपालिकाले रु पाँच÷पाँच लाखको सम्झौता भइसकेको छ भने अन्य पालिकाहरुमा सम्झौताको चरणमा रहेको छ।
संघका उपाध्यक्ष योगराज ओस्तीले जिल्लाका २०० उद्योग यस अभियानमा तत्काल जोडिने अपेक्षा गरिएको बताए। उनले बीमाबाट र थप ऋण पाइनसकेका अवस्थामा तत्काल उद्योग सञ्चालन गर्न कोष प्रभावकारी हुने जानकारी दिए। उद्योगी र पालिका सकारात्मक रहेकाले कोष प्रभावकारी बन्ने उनको भनाइ छ।
कोषबाट सहयोग लिने उद्योगले अनिवार्यरुपमा कोषमा रकम जम्मा गरेको हुनुपर्ने छ। यस्तो सहयोग रकम बीमाबाट पाएपछि पुनःकोषमै फिर्ता गर्नुपर्ने व्यवस्था गरिएको छ। उद्योगी मदन पोखरेलले जिल्लामा विपत्का कारण वर्षेनी उद्योगमा क्षति हुने गरेको र कतिपय उद्योग तत्काल पूँजीको अभावमा सञ्चालन गर्न नसकेर बन्दै भएको अवस्थासमेत रहेको बताए।
जिल्लामा तीन हजारभन्दा बढी साना ठूला उद्योग रहेका छन्। तराईको ठाउँ भएकाले गर्मी मौसममा आगलागी र वर्षात्मा बाढी र डुबानको समस्या हुने गरेको छ। रासस

प्रतिक्रिया