रुपन्देहीको भैरहवामा जारी नेपाल टेलिकम रुपन्देही सुपर लिग क्रिकेट प्रतियोगिता अन्तर्गत सोमबार भएको डिभिजन ‘ए’को समूह ‘सी’को खेलमा न्यू होराइजन क्रिकेट क्लबले तिलोत्तमा क्रिकेट क्लबलाई ७४ रनले पराजित गर्दै सेमिफाइनल प्रवेश गरेको छ।
योसँगै लिग चरणका खेल सकिएका छन् भने सेमिफाइनल समिकरण पनि पूरा भएको छ। यसअघि वेष्टर्न क्रिकेट क्लब, बुद्ध क्रिकेट क्लब र लुम्बिनी खुकुरी क्रिकेट क्लब सेमिफाइनल पुगिसकेका छन्।
सिद्धार्थ रंगशालामा टस जितेर ब्याटिङ गरेको न्यू होराइजनले निर्धारित ५० ओभरमा अलआउट हुँदै १६७ रनको योगफल बनायो। उसका लागि मनिष थापाले ५०, अमर मिश्राले २३ र रुपेश बश्यालले २१ रन बनाए। बलिङमा तिलोत्तमाका कृष्णप्रसाद भुसालले ४, सन्देश जिसीले २ तथा यम क्षेत्री, विष्णु कटेरिया र कृष्ण पराजुलीले समान १र१ विकेट लिए।
जवाफी व्याटिङ गरेको तिलोत्तमाले २२।५ ओभरमा सबै विकेट गुमाउँदै ९३ रनमै समेटियो। उसका लागि भुवन गैरेले २३, मनोज सुनार र कृष्ण भुसालले १७र१७ रन बनाए। बलिङमा उसलाई सस्तैमा रोक्न न्यू होराइजनका शक्तिप्रसाद गौचन, सुमित पराजुली, तुलाराम थापा र पुरुषोत्तम भट्टराईले समान २-२ तथा गोविन्द केसी र राहुल प्रजापतीले १-१ विकेट लिए।
मनिष थापा म्यान अफ द म्याच भए। बुधबार पहिलो सेमिफाइनलमा न्यू होराइजन क्रिकेट क्लब र बुद्ध क्रिकेट क्लबबीच प्रतिस्पर्धा हुने आयोजक संस्था रुपन्देही क्रिकेट संघका अध्यक्ष प्रशान्त विक्रम मल्लले जनाकारी दिए।
प्रतियोगिताको विजेता टिमले ८० हजार रुपैयाँ र ट्रफी तथा उपविजेताले ४० हजार रुपैयाँ र ट्रफी प्राप्त गर्नेछन्। यस्तै, म्यान अफ द सिरिजलाई १५ हजार, बेष्ट ब्याट्सम्यान, बेष्ट बलर, उदयीमान खेलाडी र म्यान अफ द फाइनललाई ५-५ हजार तथा प्रत्येक दिनको म्यान अफ द म्याचलाई १ हजार रुपैयाँ प्रदान गरिने आयोजकले जनाएको छ।

प्रतिक्रिया