कृषि तथा पशुपक्षी विकास मन्त्री पद्माकुमारी अर्यालले मलको अभावमा उत्पादन घट्ने र किसान मर्कामा पर्ने अवस्थाको अन्त्य गरेको बताएकी छिन्।
आज बिहीबार मन्त्रालयमा आयोजित पत्रकार सम्मेलनमा बोल्दै मन्त्री अर्यालले त्यस्तो बताएकी हुन्।
‘हामीलाई शंका थियो। हामीले यसमा सफलता प्राप्त गर्यौँ। मलको अभावमा उत्पादन घट्ने र किसान एवं सिंगो मुलुक मर्कामा पर्ने अवस्थाको अन्त्य गरेका छौँ’, मन्त्री अर्यालले भनिन्।
तत्कालीन समाधानको रुपमा अहिले गरिएको व्यवस्थापन, मध्यकालीन समाधानको रुपमा मासिक कार्यतालिकाको आधारमा मलको सहज आपूर्ति र दीर्घकालीन समाधानका लागि मल उत्पादन गर्ने कारखाना स्थापना गर्ने गरी मन्त्रालयअगाडि बढेको उनले बताइन्।
मलको समस्या रहिरहन नदिन सातै प्रदेशमा मलको भण्डारणको व्यवस्था गरिने उनको भनाइ थियो।
अनुमानको आधारमा मलको आपूर्ति नभएरर तथ्य र आवश्यकताका आधारमा गर्ने गरी सबै प्रदेशसँग त्यहाँको आवश्यकता माग गरिएको उनले बताइन्।
उनले भनिन्, ‘मलको आपूर्ति अनुमानको आधारमा होइन तथ्य र आवश्यकताको आधारमा गर्ने गरी त्यहाँको प्रदेशहरुसँग आवश्यकता कति हो भन्ने माग गरिएको छ। त्यसको आधारमा प्रबन्ध गरिनेछ।’
यस आर्थिक वर्षमा व्यवस्था गरिएको ११ अर्ब बजेट मध्येबाट ५ लाख मेट्रिक टन (युरिया मल २ लाख ८२ हजार ५ सय, डीएपी २ लाख २ हजार ५ सय र पोटास १५ हजार) आयात गर्ने रहेको मन्त्री अर्यालले बताइन्।
यसमध्ये यस आर्थिक वर्षमा १ लाख ८७ हजार मेट्रिक टन मल बिक्री भइसकेको छ भने १ लाख ६२ हजार मेट्रिक टन स्टक र नेपाल भित्रिने क्रममा रहेको छ। गत वर्ष जम्मा ३ लाख ९४ हजार ६ सय मेट्रिक टन मल बिक्री भएको थियो।
यस आवको आयातबाट जम्मा २ लाख मेट्रिक टन मल आगामी धान सिजनका लागि मौज्दात (बफर स्टक) रहने देखिन्छ। पछिल्ला ३ वर्षहरुको बिक्रीको आधारमा साउनदेखि असोजसम्म जम्मा १ लाख ३ हजार मेट्रिक टन मल खपत हुने अनुमान गरिएको छ। जुन यस आर्थिक वर्षकै बाँकी मलबाट पूर्ति हुने देखिन्छ।
आगामी आर्थिक वर्षको बजेटबाट व्यवस्था हुने गरी प्रथम चौमासिक अवधिमा करिब ३ लाख मेट्रिक टन मल आपूर्तिको लागि यही महिनाबाट आयात प्रक्रिया सुरु गरिने मन्त्री अर्यालले बताइन्।

प्रतिक्रिया