धादिंग र सिन्धुपाल्चोकमा २५ वटा स्वास्थ्य चौकी पुनर्निर्माणका लागि भारतीय राजदूतावासको विकास साझेदारी तथा पुनर्निर्माण विभागका प्रमुख तथा राष्ट्रिय पुनर्निर्माण प्राधिकरणको केन्द्रीय आयोजना कार्यान्वयन इकाई (भवन) का परियोजना निर्देशकले चारवटा सम्झौतापत्रमा हस्ताक्षर गरेका छन्।
धादिंगमा १२ र सिन्धुपाल्चोकमा १३ वटा गरी कूल २५ स्वास्थ्य चौकीको पुनर्निर्माण गर्न लागिएको हो।
२०७२ सालको भूकम्पले क्षति पुर्याइएका यी स्वास्थ्य चौकी ५३ करोड रुपैयाँको लागतमा पुनर्निर्माण गर्न लागिएको काठमाडौंस्थित भारतीय दूतावासले जनाएको छ।
सो अवसरमा सफल बोलपत्रदातालाई कार्य हस्तान्तरण गर्नका लागि ठेकेदार र केन्द्रीय आयोजना कार्यान्वयन इकाई (भवन) बीच चारवटा ठेक्का सम्झौतामा पनि हस्ताक्षर सम्पन्न गरिएको थियो।
यी स्वास्थ्य चौकीको निर्माणका लागि भारतकाे रुड्कीस्थित केन्द्रीय भवन अनुसन्धान संस्थान (सीबीआरआई)ले प्राविधिक सहयोग प्रदान गर्ने दूतावासले जनाएको छ।
दूतावासका अनुसार सीबीआरआई भूकम्प प्रतिरोधी पुनर्निर्माण क्षेत्रमा भारतकै शीर्ष संस्थानमा पर्दछ।
‘नेपालका १० जिल्लाका स्वास्थ्य क्षेत्रमा पुनर्निर्माणका लागि भारत सरकारले पाँच कराेड अमेरिकी डलर आर्थिक सहयोग गर्ने प्रतिबद्धता जनाएको छ, सोही प्रतिबद्धताअनुरुप १ सय ४७ वटा स्वास्थ्य परियोजनामध्ये यी २५ वटा स्वास्थ्य चौकीको पुनर्निर्माण राष्ट्रिय पुनर्निर्माण प्राधिकरण अन्तर्गत हुन लागेको हो,’ दूतावासले भनेको छ, ‘बाँकी परियोजनाहरु बोलपत्र आव्हान प्रक्रियाको सुरुवाती चरणमा छन्।’
ती स्वास्थ्य संरचनामा ओपीडी, डिस्पेन्सरी, औषधी भण्डारण कक्ष, एन्टी/पोस्ट नेटल रुम, स्वास्थ्यकर्मीका लागि शयन कक्ष, भान्साघर, अपांगमैत्री सरसफाई संरचना रहने दूतावासले जनाएको छ।
दूतावासका अनुसार सन् २००३ देखि हालसम्म भारत सरकारद्वारा आर्थिक सहयोग पुर्याइएका साना विकास परियोजना योजना अन्तर्गतका ४० भन्दा बढी स्वास्थ्य शिविर/स्वास्थ्य चौकी निर्माण सम्पन्न भइसकेका छन्।
त्यसैगरी सन् १९९४ देखि भारत सरकारले विविध सरकारी, गैरसरकारी, गैरनाफामूलक संस्थालाई ८ सय २३ भन्दा बढी एम्बुलेन्स उपहारस्वरुप प्रदान गरिसकेको दूतावासले जनाएको छ।
Shares

प्रतिक्रिया