भारतमा मूल्य अधिक हुँदा भारतबाटै नेपाल निर्यात भएको डिजल र ग्यासको तस्करी भएको भारतीय मिडियाले बताएका छन्। नवभारत टाइम्सका अनुसार नेपाल निर्यात भएको पेट्रोलियम पदार्थ सीमावर्ती राज्यमा तस्करी भएको पाइएको हो।
भारतीय प्रहरीलाई उदृत गर्दै तयार गरिएको रिपोर्टअनुसार १३ सय ६० लिटर डिजल बोकको एक ट्यांकर तस्करीको लागि पठाइएको थियो। यो ट्यांकर पछिल्लो हप्ता नेपालमा पक्राउ परेको समाचारमा दाबी गरिएको छ।
भारततर्फका कतिपय पेट्रोल पम्पहरुमा पेट्रोलको मूल्य एक सय भारु प्रतिलिटर नाघेको छ। ग्लोबल पेट्रोल प्राइस डटकमका अनुसार यो मूल्य दक्षिण एसियाली क्षेत्रकै सबैभन्दा महंगो हो।
नेपालले भारतबाटै सबैजसो पेट्रोलियम पदार्थ आयात गर्छ भने बंगलादेश र श्रीलंकामा समेत भारतले नै निर्यात गर्छ। बिहार राज्यको अदापुर स्थानका एक पेट्रोल पम्पका सञ्चालक रवि भारतीले नेपालमा कर कम हुँदा पेट्रोलियम पदार्थको मूल्य कम भएको कारण नेपालबाट भारततिर तस्करी सुरु भएको बताए।
अदापुरबाट नेपालसम्मको सीमा करिब २ माइल मात्रै टाढा पर्छ। उनका अनुसार तस्करीका कारण अदापुरका पेट्रोलपम्पलाई समेत बिक्रीमा असर परेको छ।
ती सञ्चालकका अनुसार अदापुरका पम्पहरुको बिक्रीमा ह्वात्तै गिरावट आएको छ। तस्करी गरिएको इन्धन पम्पमा भन्दा सस्तोमा बिक्री हुने हुँदा यसो भएको उनी बताउँछन्।
Shares

प्रतिक्रिया