नेटवर्क तथा टेलिभिजन सेवाप्रदायक कम्पनी सुबिसु केवलनेट प्रालिको बालुवाटारमा रहेको डाटा सेन्टरमा बुधबार भीषण आगलागी भई अवरुद्ध भएको सेवा ९० प्रतिशत सुचारु भएको कम्पनीले जनाएको छ।
आगलागी पूर्णरुपमा नियन्त्रण भएको केही समयभित्र नै प्राविधिक टोलीको सहयोगद्वारा प्रभावित सेवा सुचारु गराउन तत्परताका साथ काम अगाडि बढाई, केही घण्टाभित्र नै थापाथलीस्थित सुबिसुको वैकल्पिक डाटा सेन्टरबाट अधिकांश सेवाग्राहीहरुको सेवा सुचारु गराउन प्रयास गरिएकोमा हालसम्म ९० प्रतिशत सेवा सुचारु भएको कम्पनीले जनाकारी गराएको हो।
भीषण आगलागी भएको केही समयभित्र नै अतिआवश्यक सेवा सुचारु गर्न सक्नुमा मुख्य कारण कम्पनीले प्रबन्ध गरेको डिजास्टर रिकोभरी सेन्टर नै प्रमुख कारण रहेको कम्पनीले जनाएको छ। वि.सं. २०७२ सालको भूकम्पपश्चात कम्पनीले डिजास्टर रिकोभरी सेन्टरका स्थापना गरेको थियो।
‘अझै पनि क्षतिग्रस्त रहेको बालुवाटारको डाटा सेन्टरबाट आबद्ध रहेका केही सेवाग्राहीहरुको अवरुद्ध सेवा सुचारु गर्न हामी प्रयासरत छौँ र एक/दुई दिनभित्रमा नै सम्पूर्ण सेवाग्राहीको सेवा सुचारु हुनेमा हामी पूर्ण विश्वस्त तथा कटिबद्ध छौँ’, कम्पनीले विज्ञप्तिमार्फत भनेको छ, ‘यस्तो भीषण आगलागी नियन्त्रण गर्नका लागि हामीलाई सहयोग गर्नुहुने जुद्ध वारुण यन्त्र, नेपाल प्रहरी, ट्राफिक प्रहरी, सशस्त्र प्रहरी, नेपाली सेना, विमानस्थलको एभिएसन रेस्क्यु एण्ड फायर सर्भिस र काठमाडौं महानगरको वारुण यन्त्रको टोलीप्रति कम्पनीले आभार प्रकट गरेको छ।’
Shares

प्रतिक्रिया