कारोबार


तुम्लिङटार विमानस्थल धावनमार्गको मर्मत सुरु, साना जहाजले मात्र उडान भर्दै

तुम्लिङटार विमानस्थल धावनमार्गको मर्मत सुरु, साना जहाजले मात्र उडान भर्दै

पदमबहादुर अधिकारी
माघ ३०, २०७७ शुक्रबार ९:४१,

सङ्खुवासभाको तुम्लिङटार विमानस्थलको धावनमार्गको मर्मत सम्भार सुरु भएको छ। यससँगै यो विमानस्थलमा काठमाडौंबाट भइरहेको ठूला जहाजको उडान बन्द भएको छ।

तुम्लिङटारमा काठमाडौंबाट बुद्ध एयरले नियमित उडान गर्दै आएको थियो। अब विमानस्थलमा समिट एयरले ट्वीनअटर जहाजबाट नियमित उडान थालेको छ। धावनमार्गको मर्मतका लागि ठूला जहाजको उडान भने बन्द भएको छ। नेपाल नागरिक उड्डयन प्राधिकरणका अनुसार यो विमानस्थलको धावनमार्गको मर्मत कार्य आगामी चैत २ गतेसम्म चल्ने छ। त्यतिन्जेल आधा धावनमार्गको प्रयोग गरी साना जहाजबाट भने उडान हुनेछ।

पहाडी भेगका विमानस्थलमध्ये अहिले तुम्लिङटार नियमित र निर्वाध उडान भइरहेको विमानस्थल हो। बुद्ध एयरले समेत एक महिनाका लागि काठमाडौं–तुम्लिङटार रुटको उडान बन्द भएको जानकारी गराएको छ। ट्वीनअटर जहाजबाट उडान गर्दा यात्रुलाई आवतजावतमा समस्या भएको छ।

विमानस्थलको धावनमार्गको कालोपत्र खाल्डाखुल्डी पर्ने र उप्किएपछि जहाज उडानमा खतरा पर्ने देखेपछि मर्मत गर्ने काम सुरु भएको हो। एक वर्षअघि २०७६ चैत ३ देखि धावनमार्ग मर्मत गर्न एपेक्स कन्ट्रक्सन कम्पनीलाई ठेक्का दिए पनि विश्वभर फैलिएको कोरोना भाइरसका कारण धावनमार्गको मर्मत काम हुन सकेको थिएन। गत कात्तिकदेखि धावनमार्ग मर्मतको काम सुरु गरिएको एपेक्स कन्ट्रक्सन कम्पनीका प्रतिनिधि लालध्वज लामाले जानकारी दिए।

उनले तुम्लिङटार विमानस्थलको धावनमार्गको काम दुई महिनाभित्र सक्ने गरी दिनरात पाँच दर्जन बढी कामदार खटाइएको जानकारी दिए। विसं २०७७ चैत ३ गतेसम्म रनवे मर्मतको काम सक्ने गरी सम्झौता भए पनि फागुन १७ गतेभित्र नै काम सक्ने गरी लागिपरेको कन्ट्रक्सनका प्रतिनिधि लामाको भनाइ छ। तुम्लिङटार विमानस्थल धावनमार्गको लम्बाइ एक हजार ४२० मिटर लामो रहेको छ।

दश वर्षअघि विमानस्थलको धावनमार्ग कालोपत्र पनि यही कम्पनीले गरेको थियो। त्यसमा अहिले ७०० मिटर आधा भाग मर्मतको काम भइरहेको छ। अहिले साना जहाजले ७०० मिटरको धावनमार्गमा उडान भर्दै आएका छन्। अहिले धावनमार्गको दक्षिणतर्फको ७०० मिटरमा काम भइरहेको र त्यो क्षेत्र सम्पन्न भएपछि उत्तरतर्फको धावनमार्गको काम सुरु हुनेसमेत उनले जानकारी दिए।

विमानस्थलमा पूर्णरूपमा जहाज बन्द गरिँदा बिरामी र वृद्धवृद्धालाई असहज परिस्थिति सिर्जना हुने भएकाले साना जहाजले दैनिक उडान भर्न थालेको यती एअरलाइन्सका तुम्लिङटार प्रतिनिधि प्रताप गुरुङले जानकारी दिए। अहिले तुम्लिङटार विमानस्थलमा यती एयरलाइन्स (१६ सिट भएका), तारा जहाजले उडान भर्दै आएका छन्। यसैगरी धावनमार्गमा बुद्ध एअर, समिट एअरले दैनिक तुम्लिङटार–काठमाडौँ सिधा उडान भर्दै आएका छन् भने हप्तामा दुई दिन सोमबार र शुक्रबार तुम्लिङटार–विराटनगरसमेत उडान भर्दै आएका छन्। यसअघि यती र बुद्ध एयरलाइन्सका २७ सिटे जहाजले दैनिक तुम्लिङटार–काठमाडौँ उडान भर्दै आएका थिए।

पूर्वी नेपालको सङ्खुवासभा जिल्ला सडक यातायातले जोडिएको जिल्ला भए पनि सडकको स्तरोन्नति हुन नसक्दा सवारी यातायातको सुविधा त्यति प्रभावकारी बनेको देखिँदैन। खाँदबारीदेखि धरान–विराटनगर जाँदा आधाभन्दा बढी भाग कच्ची सडकको यात्रा गर्नुपर्छ।

यसैगरी सङ्खुवासभामा ठूला अस्पताल र शैक्षिक सङ्घसंस्था नहुँदा धरान, विराटनगर र काठमाडौं नै धाउनुपर्ने बाध्यता छ। हवाई यातायातका लागि एकमात्र भरपर्दो तुम्लिङटार विमानस्थल हुँदै सङ्खुवासभाका साथै छिमेकी जिल्ला भोजपुरका षडानन्द नगरपालिका र साल्पासिलिछो गाउँपालिकालगायतका नागरिकलाई तुम्लिङटारबाट नै विराटनगर र काठमाडौँ जान नजिक पर्छ।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad