कारोबार


उद्यमशीलताको विकासका लागि राज्य-निजी क्षेत्रबीच साझेदारी आवश्यक : ढकाल

उद्यमशीलताको विकासका लागि राज्य-निजी क्षेत्रबीच साझेदारी आवश्यक : ढकाल

नेपालखबर
माघ २७, २०७७ मंगलबार १६:१२,

नेपाल उद्योग वाणिज्य महासंघका वरिष्ठ उपाध्यक्ष चन्द्रप्रसाद ढकालले मुलुकभित्र उद्यमशीलताको विकास र विस्तारको वातावरण निर्माण गर्न राज्य तथा निजी क्षेत्रबीच सहकार्य र साझेदारीको आवश्यकता रहेको बताएका छन्।

मंगलबार मेची उद्योग वाणिज्य संघको १७औँ वार्षिक साधारणसभालाई प्रमुख अतिथिको रुपमा सम्बोधन गर्दै वरिष्ठ उपाध्यक्ष ढकालले यदि राज्यले व्यावसायिक सहजीकरण गर्ने, लगानीको वातावरण बनाइदिने हो भने र निजी क्षेत्रलाई बिना लगानीको पार्टनरको रुपमा स्वीकार गर्ने हो भने मुलुकको विकास तथा सम्मृद्धिको सपनालाई साकार पार्न धेरै समय नलाग्ने बताए।

मलेसियामा भएको द्रुत आर्थिक विकासको उदाहरण प्रस्तुत गर्दै वरिष्ठ उपाध्यक्ष ढकालले राज्य र निजी क्षेत्रबीच सहकार्य हुन सकेमा नेपालमा पनि हामीले चाहेको आर्थिक विकास र सम्मृद्धिको सम्भावना रहेको बताए।

‘केही वर्ष अगाडि मलेसियाका प्रधानमन्त्री महाथिर मोहम्मद नेपाल आउनुभएको थियो। त्यसबेला मैले उहाँलाई काठमाडौंका केही स्थानहरु घुमाउने अवसर पाएको थिए। त्यसबेला मैले उहाँलाई सोधेको थिए– प्रधानमन्त्रीज्यू, यति छिटो समयभित्र मलेसियाले गरेको विकासको रहस्य के हो भनेर। उहाँले भनेको मैले अहिले पनि निकै सम्झिइरहेको छु। उहाँले भन्नुभएको थियो राज्यले निजी क्षेत्रलाई लगानीका लागि सहजीकरण मात्र गर्दियो भने विकास गर्न समय लाग्दैन,’ उनले भने।

‘वास्तवमै यदि राज्यले निजी क्षेत्रलाई सहजीकरण गरेर लगानीको वातावरण बनाउन सक्यो भने राज्यले त्यहाँबाट हुने रोजगारी सृजना, कर तथा राजश्व संकलन तथा अन्य भौतिक पूर्वाधारको निर्माणबाट पर्याप्त फाइदा लिन सक्छ’, उनले भने।

अहिले नेपालमा पनि धेरै स्थानीय तहमा लगानीको लागि एक प्रकारको प्रतिष्पर्धा हुने गरेको बताउँदै उनले रोजगारी सृजना गर्न, राजश्व संकलन गर्न तथा भौतिक पूर्वाधार निर्माणमा राज्य–निजी क्षेत्र साझेदारी गरेर अगाडि बढ्दा धेरै कुराहरु गर्न सकिने बताए।

नीजि क्षेत्रलाई राज्य तथा यसका निकायहरुबाट हेर्ने परम्परागत दृष्टिकोणले समस्या पारेको बताउँदै उनले निजी क्षेत्र व्यवसायिकमात्र हुन्, नाफाका लागि मात्र काम गर्छन्, सामाजिक उत्तरदायित्व लिदैनन् भन्ने परम्परागत धारणालाई परिवर्तन गर्नुपर्ने बताए।

उनले महासंघको सशक्तता र सुधार, जिल्ला नगर उद्योग वाणिज्य संघहरुलाई सक्षम र सबलीकरण गर्ने, नेपालमा उद्योगमैत्री वातावरणको निर्माण, व्यवसायीहरुका हकहितका विषयवस्तुहरु, नीति निर्माणमा गरिने पैरवी, हालको कोभिड महामारीका कारण नेपालको उद्योग व्यवसाय क्षेत्रले भाग्नुपरेका समस्या र त्यसको समाधान, तथा नेपालमा वैदेशिक लगानी भित्र्याउने वातावरणको निर्माण जस्ता विषयमा आफू निरन्तर क्रियाशिल रहने बताएका छन्।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad