कृषकको प्रत्यक्ष स्टल रहने गरी कलंकीमा कृषि तथा तरकारी बजार सञ्चालनमा आएको छ।
स्थानीय कृषक र विदेशीबाट फर्किएका युवालाई समावेश गरिएको उक्त बजारको उद्घाटन शुक्रबार कृषि तथा पशुपक्षी विकासमन्त्री पद्माकुमारी अर्यालले गरिन्। मन्त्री अर्यालले किसानले उत्पादन गरेको वस्तुको बजारको सुनिश्चितता गरिदिन यस्ता बजारहरुले महत्वपूर्ण भूमिका निर्वाह गर्ने बताइन्।
बजारको समस्याको अन्त्य गर्नका निम्ति जमिनको चक्लाबन्दी गरी ठूलो परिमाणमा उत्पादन बढाउनुपर्ने उनले बताइन।
‘एक जनाले मात्रै उत्पादन गर्दा बजार खोज्दै हुनुपर्ने अवस्था हुन्छ। हामीले सामूहिकतामा चक्लाबन्दी मोडेलमा ठूल्ठूलो मोडेलमा तरकारी, फलफूल उत्पादन ग¥यौं भने यस्ता बजारहरु तपाईंहरुको गाउँमा आफैँ खोज्दै आउँछ’, उनले भनिन्, ‘तपाईंहरुले उत्पादन गर्नुस्, कृषि मन्त्रालयले तपाईंहरुको गाउँमा संकलन केन्द्र दिन्छ। त्यो गाउँमा संकलन गर्ने, त्यहाँ यस्तै बजारहरु पुग्छन् र बजारतिर पठाउनेछ।’

कलंकी कृषि बजारमा हाल ११५ वटा स्टल रहेका छन्। कलंकी तरकारी बजारका सञ्चालक विजय केसीले १ सय १५ स्टलमध्ये ६० प्रतिशत किसानको स्टल रहेको जानकारी दिए।
‘किसानसँगै वैदेशिक रोजगारीबाट फर्केका र पर्यटन क्षेत्रमा काम गर्ने व्यक्तिको छ’, उनले भने, ‘किसानको बारीबाट सिधै उपभोक्तालाई बिक्री गर्ने हुँदा अन्य बजारको तुलनामा धेरै सस्तो छ।’
केसीका अनुसार कलंकी बजारमा पालुङ, धादिङ, नुवाकोट, ललितपुरका किसानहरुले स्टल राखेका छन्। किसानहरुकै स्टक हुँदा तरकारीमा अन्य बजारको तुलनामा १० प्रतिशतले सस्तो भएको दाबी उनको दाबी छ।
१५ दिनसम्मका लागि थप छुटको समेत व्यवस्था गरिएको उनको भनाइ छ। यस्तै, सर्वसाधारणको सहजताका लागि डिजिटल सेवामार्फत भुक्तानीको समेत व्यवस्था गरिएको जनाएको छ।

प्रतिक्रिया