राष्ट्रिय प्रजातन्त्र पार्टीका अध्यक्ष कमल थापाले संसद विघटनपछिको अवस्थाले संविधान र व्यवस्थामाथि नै गम्भीर प्रश्न चिन्ह खडा भएको बताएका छन्।
शुक्रबार जिल्ला अध्यक्षहरुसँगको भर्चुअल बैठकलाई सम्बोधन गर्दै थापाले संसद विघटनले मुलुकमा संकट गहिरिएर गएको र संवैधानिक जटिलता पैदा भएको बताए।
नयाँ नेपाल निर्माण, परिवर्तन र आर्थिक समृद्धिको लक्ष्य बोकेर भएको आन्दोलनपछि आएकाृ परिवर्तनले जनताका आकांक्षा पूरा गर्न नसकेको उनको भनाइ थियो। उनले जनता भ्रष्टाचार, कुशासन, धर्मपरिवर्तन, बेरोजगारी र सर्वसत्तावादको जातोमा पिसिनु पर्ने बाध्यात्मक अबस्था आउनु दुर्भाग्यपूर्ण भएको बताए।
पार्टीको आगामी कार्यदिशा संगठन, जनसंघर्ष र महाधिवेशन भएको भन्दै थापाले पार्टी विभाजनको पीडा अब कहिल्यै भोग्नु नपर्ने समेत स्पष्ट पारे।
पार्टीको भविष्यप्रति निश्चिन्त हुन आग्रह गर्दै थापाले आफूसहित पशुपतिशमशेर राणा र डाक्टर प्रकाशचन्द्र लोहनीले पवित्र धार्मिक ग्रन्थ ‘गीता’ छोएर पार्टी एकताको निमित्त प्रतिवद्ध भएकोले देश, जनता, प्रजातन्त्र र कार्यकर्ताको निमित्त राप्रपालाई मुलुककै बलियो राष्ट्रवादी प्रजातान्त्रिक शक्ति बनाएर छाड्ने दृढता समेत व्यक्त गरे।
देशव्यापी संगठन सुदृढीकरण अभियानमा केन्द्रित हुन थापाको विशेष जोड थियो। बैठकमा सचिवालय प्रमुखद्वय ध्रुवबहादुर प्रधान र भाष्कर भद्राले राप्रपाको विचार र एजेन्डालाई स्थापित गर्ने विषय अहिलेको प्रमुख मुद्दा भएको भन्दै जनताको माझमा जान ढिला गर्न नहुने बताए।
चरणवद्ध रुपमा अध्यक्ष थापाले भर्चुअल बैठक जारी राखेको आजको बैठकमा ३१ जिल्लाका अध्यक्ष र प्रतिनिधिहरुको सहभागीता रहेको सचिवालय सदस्य राजाराम बर्तौलाले जानकारी दिए।

प्रतिक्रिया