नेपाल उद्योग वाणिज्य महासंघका अध्यक्ष शेखर गोल्छाले भ्रष्टाचार सम्बन्धी सर्वेक्षणको प्रतिवेदन छिटो सार्वजनिक गर्न भन्सार विभागसँग माग गरेका छन्।
भन्सार विभागले गरेको सर्वेक्षण सराहनीय भएको तर प्रतिवेदन सार्वजनिक नभएको भन्दै छिटो सार्वजनिक गर्न माग गरेका हुन्।
अन्तर्राष्ट्रिय भन्सार दिवसको अवसरमा आइतबार महासंघको कार्यालयमा आयोजित कार्यक्रममा बोल्दै अध्यक्ष गोल्छाले विभागले गरेको उक्त सर्वेक्षणमा आफूले पनि सहभागिता जनाउन पाएको तर अहलेसम्म प्रतिवेदन हेर्न नपाएको गुनासो गरेका हुन्।
प्रतिवेदन सार्वजनिक भए जनसमुदायमा सकारात्मक सन्देश जाने पनि गोल्छाको भनाई छ। यस्तै भन्सारबाट छुटेको समान राजस्व अनुसन्धान विभागले बाटोमा रोक्ने गरेको गुनासो पनि अध्यक्ष गोल्छाले गरे। यसबाट व्यापारिहरु त्रसित हुने मात्र नभई व्यवसायिक विकृति समेत उत्पन्न हुने खतरा बढेको बताए। भन्सार मूल्याङ्कन र वर्गिकरण यथार्थपरक हुनुपर्नेमा समेत अध्यक्ष गोल्छाले जोड दिए।
कार्यक्रममा अर्थ मन्त्रालयका राजस्व सचिव रामशरण पुडासैनीेले सरकार व्यवहारिक रुपमा निजी क्षेत्र मैत्रि रहेको बताएका छन् निजी क्षेत्रको समस्या सरकारले नसुनिकन र निजी क्षेत्रको आवस्यकता अनुसार कानूनहरु संसोधन नभएसम्म आर्थिक विकासका गतिविधि बढ्न नसक्ने स्पष्ट पारे।
कार्यक्रममा उद्योगी व्यवसायीहले भन्सार सम्बन्धमा भएका विवाद समाधान गर्न संयन्त्र निर्माण गर्न माग गरेका छन्। सरकार र निजी क्षेत्र एक अर्काका परिपूरक भएकाले निजी क्षेत्रको विकास विना मुलुकमा आर्थिक विकास सम्भवन नभएको पनि उद्योगी व्यवसायीहरुले बताएका छन्।

प्रतिक्रिया