झन्डै साढे २ महिनाको अन्तरालपछि आज आइतबार सीमा विवादबारे भारत र चीनबीच भएको सैनिक कमान्डरस्तरीय नवौं चरणको वार्ता सम्पन्न भएको छ।
भारतीय सञ्चारमाध्यमका अनुसार वार्तामा सीमा क्षेत्र पूर्वी लद्दाखमा विवादित क्षेत्रबाट आफ्ना सैनिक हटाउन दुवै पक्ष सहमत भएको स्रोतले दाबी गरेको छ।
स्रोतका अनुसार उच्चस्तरीय सैन्य वार्ता पूर्वी लद्दाखको वास्तविक नियन्त्रण रेखा (एलएसी) स्थित चीनतर्फको क्षेत्रमा बिहान १० बजे सुरु भएको थियो।
वार्ताकाे नेतृत्व भारततर्फ एक्सआईभी कोर्प्सका कमान्डर लेफ्टिनेन्ट जनरल पीजीके मेनन र चीनतर्फ दक्षिण सिनजियाङ सैन्य क्षेत्रका कमान्डर मेजर जनरल लियु लिनले गरेका थिए।
दुई देशको सीमा पूर्वी लद्दाखस्थित गलवान उपत्यकामा गत जुन १५ तारिख दुई देशका सैनिकबीच झडप हुँदा भारतका २० सैनिकको मृत्यु भएको थियो। तर चीनतर्फको क्षतिबारे अहिलेसम्म आधिकारिक जानकारी दिइएको छैन।
त्यसयता भारत र चीनबीच सीमा विवाद चर्किएको छ। समाधानका लागि धेरैपटक वार्ता भए पनि सहमति हुन सकेको छैन। यसै क्रममा आज दुई देशका सैनिक कमान्डरबीच नवौं चरणको वार्ता गरिएकाे हाे।

प्रतिक्रिया