कारोबार


इप्पानका नवनिर्वाचित अध्यक्ष डाँगीले गरे पदभार, ऊर्जा क्षेत्रलाई एकढिक्का बनाउने प्रतिबद्धता

इप्पानका नवनिर्वाचित अध्यक्ष डाँगीले गरे पदभार, ऊर्जा क्षेत्रलाई एकढिक्का बनाउने प्रतिबद्धता

नेपालखबर
असार ३, २०८३ बुधबार २०:१, काठमाडौँ

स्वतन्त्र ऊर्जा उत्पादकहरूको संस्था, नेपाल (इप्पान) का नवनिर्वाचित अध्यक्ष मोहनकुमार डाँगीले पदभार गरेका छन्। इप्पानका निवर्तमान अध्यक्ष गणेश कार्कीले  डाँगीलाई कार्यालयमा स्वागत गर्दै पदबहाली गराएका हुन्।

पदभारपछि अध्यक्ष डाँगीले अधिवेशनको समयमा साथीहरू फरक कित्तामा देखिए पनि साधारणसभाबाट सर्वसम्मत नेतृत्व चयन भएपछि अहिले समग्र ऊर्जा क्षेत्र एक ढिक्का भएर अघि बढेको विश्वास व्यक्त गरे।

‘सबै जना एक ठाउँमा हुनु अवसर र चुनौती दुवै हो। कार्यसमितिमा आउनुभएका सबै साथीहरूलाई पूर्ण अधिकारसहित विभिन्न जिम्मेवारी दिएर कार्यविभाजन गरेर काम गर्नेछौँ,’ उनले भने।

यसअघिका तीनवटा कार्यसमितिमा बसेर काम गरिसकेका डाँगी चौथो कार्यकालमा आफैँ अध्यक्ष बनेका हुन्।

इप्पानका निवर्तमान अध्यक्ष कार्कीले इप्पानमा आबद्ध भइसकेपछि जुनसुकै पदमा बसेको भए पनि बोल्दा सधैँ ध्यानदिनुपर्ने बताए। 

‘कार्यसमितिको सदस्यले बोल्दा पनि अध्यक्षले जिम्मा लिनुपर्छ। त्यसैले बाहिर बोल्दा सल्लाह गरेर मात्रै बोल्नुपर्छ,’ उनले भने, ‘बोलीमा सजगता अपनाउन सकिएन भने १५ खर्ब रुपैयाँ लगानी भएको सिंगो क्षेत्रले नै त्यसको मूल्य चुकाउनुपर्छ।’

कार्कीले बुधबार आफ्नो कार्यसमितिले उठाएका मुद्दाहरू सबैजसो राजनीतिक दलका घोषणापत्रमा समेटिनु ठूलो सफलता भएको र अबको कार्यसमितिले त्यसलाई कार्यान्वयनका लागि झकझक्याइरहनुपर्ने पनि बताए।

इप्पानका नवनिर्वाचित वरिष्ठ उपाध्यक्ष उत्तम भ्लोनले हिजो र आज बस्ने आसन परिवर्तन भए पनि ऊर्जा क्षेत्रका मुद्दाहरूमा हिजोकै जसरी सँगै हुने बताए।

‘निवर्तमान अध्यक्षज्यूको आफ्नै लिगेसी छ। यो कार्यसमितिले त्यो लिगेसी शतप्रतिशत बहन गर्न नसक्ला कि भन्ने लागिरहेको छ,’ उनले भने, ‘त्यसैले सिट परिवर्तन भए पनि ऊर्जा क्षेत्रको बृहत्तर हितका लागि हामी सधैँ सँगै हुने विश्वास छ।’

७०० ऊर्जा उत्पादक कम्पनीहरू सदस्य रहेको इप्पानको नयाँ नेतृत्व जेठ २९ गते चयन भएको थियो। 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad