ad ad

कारोबार


करको दायरा बढाउँदै भरतपुर महानगर

करको दायरा बढाउँदै भरतपुर महानगर

नेपालखबर
माघ १०, २०७७ शनिबार ६:२५,

भरतपुर महानगरपालिकाले राजस्व संकलनलाई अभियानको रुपमा अघि बढाएको छ।

कोरोना भाइरस कोभिड–१९ पछि सुस्ताएको व्यवसाय क्रमशः पूर्ववत् अवस्थामा फर्किएसँगै राजस्व संकलन बढ्दै गएको हो।

भरतपुर महानगरपालिकाले हालसम्म रु २५ करोड ५० लाख राजस्व संकलन गरेको छ। असार मसान्तसम्ममा रु ९० करोड राजस्व संकलन गर्ने लक्ष्य रहेको छ जसमा रजिस्ट्रेसन सेवा शुल्कसमेत छ। गत वर्ष यसै हाराहारीमा राजस्व संकलन भएको थियो। महानगरको आर्थिक प्रशासन महाशाखा प्रमुख जगन्नाथ अर्याल राजस्वको दायरामा आउन नसकेका करदाताका घर घरमा टोली परिचालन गर्न थालिएको बताउछन्।

महानगरले निजी क्षेत्रसँग सहकार्य गरेर राजस्व संकलनलाई तीव्रता दिएको छ। अर्यालले भने, ‘हामीले स्थलगतरुपमा कर दाताको नवीकरण र राजस्व संकलनसमेत गर्न थालेका छौँ।’ महानगरमा करको दायरामा ६० प्रतिशत हाराहारी व्यवसायी आएका छन्। यसलाई ८० प्रतिशतमा पु¥याउने लक्ष्यका साथ अभियान थालिएको छ।

महानगरपालिकाको राजस्व परामर्श र संकलन समितिका संयोजकसमेत रहेका उपप्रमुख पार्वती शाह ठकुरी हिजोआज हरेक हप्ता राजस्व संकलनको विषयमा नियमित छलफल गरी संकलनमा जोड दिएको बताउछन्। टोली परिचालनसँगै ठूला करदातालाई पत्राचार गर्ने काम भइरहेको उनको भनाइ छ।

उनले भने, ‘यो वर्ष हामीले दर बढाएका छैनौँ, दायरा बढाउने काममा लागि परेका छौँ।’ सबैलाई करको दायरामा आउन अनुरोध गर्दै उनले सबैले कर तिरेमा दर बढाउनु नपर्ने बताए। सरोकारवालाको परामर्शमा दर तय भएकाले राजस्व संकलनमा सहयोग पु¥याउनुपर्ने उनको धारणा छ।

महानगर प्रमुख रेनु दाहाल कोरोनाका कारण संकलनमा केही कमी भए पनि सन्तोषजनक रहेको बताउछिन्। महानगरपालिकाले कर संकलनलाई अभियानका रुपमा अघि बढाएको भन्दै उनले यसमा साथ र सहयोग गर्न निजी क्षेत्रसँग अनुरोध गरिन्। आन्तरिक आम्दानी बढाउन सकेमा महानगरको विकासमा थप सहयोग पुग्ने दाहालको भनाइ छ। आन्तरिक आम्दानी कम भए पनि महानगरपालिकाले संघीय सरकारका विभिन्न मन्त्रालयमा निरन्तर पहलकदमी गरेर ठूला आयोजना महानगर क्षेत्रमा पार्न सफल भएको दाहालले जानकारी दिए।

चालु आर्थिक वर्षको बाँकी अवधिमा लक्ष्यअनुसार राजस्व असूलीका लागि साना ठूला करदाताको सूचीकरण, वडामा स्थलगतरूपमा कर शिक्षा र स्थलगतरूपमा व्यवसाय दर्ता अभियान सञ्चालन, करदाताको कर अभिलेखांकन डिजिटाइजेसन तथा अनलाइन भुक्तानीको व्यवस्थाजस्ता उपाय अवलम्बनमा जोड दिई करको दायरा फराकिलो पार्दै लगिएको उनले जानकारी दिए। करदातामैत्री प्रणाली विकासमार्फत करको लक्ष्य हासिल गर्न सकिने दाहाल बताउछन्।

चालु आव २०७७÷०७८ को लागि कूल राजस्व रु तीन अर्ब ३१ करोड ६४ लाख ८९ हजारमध्ये आन्तरिक स्रोततर्फ रु ९० करोड अनुमान गरिएको छ। उनका अनुसार उक्त आन्तरिक राजस्वका स्रोतका शीर्षकमा मुख्यरूपमा घर बहाल करतर्फ रु आठ करोड, नक्सा पास दस्तुरतर्फ रु सात करोड २० लाख, एकीकृत सम्पत्ति करतर्फ रु चार करोड, व्यवसाय दस्तुरतर्फ रु छ करोड, विभिन्न सिफारिस दस्तुरतर्फ रु सात करोड, अन्य क्षेत्र आय रु ४० करोड, अन्य बिक्रीमा ढुंगा, गिट्टीलगायतका बिक्रीबाट जम्मा रु छ करोड ८० लाखसमेत गरी राजस्व प्रक्षेपण गरिएको छ।

भरतपुर महानगपालिकाले पुस मसान्तभित्र राजस्व बुझाएमा २० प्रतिशत छुट दिएको थियो। विगतका वर्षहरूलाई हेर्दा यहाँ व्यवसाय कर पुसपछि तिरेको देखिन्छ भने सम्पत्ति कर पुस अगाडि बुझाएको पाइन्छ। पछिल्ला वर्षहरूमा निजी क्षेत्रको लगानी महानगरमा बढ्दै गएको छ। जसका कारण आन्तरिक आम्दानीसमेत बढ्ने देखिन्छ । स्थानीय तहले मुख्यरुपमा आम्दानी गर्नसक्ने प्राकृतिक स्रोतबापतको कर यहाँ कम हुने भएकाले राजस्व तुलनात्मक हिसाबले कम रहेको छ। रासस

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .