कारोबार


बैंकका सञ्चालकदेखि सीईओले पारिवारिकसहित १० विवरण राष्ट्र बैंकमा बुझाउनैपर्ने

बैंकका सञ्चालकदेखि सीईओले पारिवारिकसहित १० विवरण राष्ट्र बैंकमा बुझाउनैपर्ने

नेपालखबर
असार ४, २०८३ बिहिबार १८:३४, काठमाडौँ

बैंक तथा वित्तीय संस्थाले सञ्चालक, प्रमुख कार्यकारी अधिकृत एवम् उच्च व्यवस्थापकीय तहमा नियुक्ति वा मनोनयन गर्दा नै पारिवारिकसहित १० वटा विवरण बुझाउनुपर्ने भएको छ।

नेपाल राष्ट्र बैंकले बिहीबार बैंक तथा वित्तीय संस्थाहरूलाई सर्कुलर पठाउँदै सञ्चालक, प्रमुख कार्यकारी अधिकृत एवं उच्च व्यवस्थापकीय तहमा नियुक्ति वा मनोनयन गर्दा विभिन्न १० वटा विवरण बुझाउन निर्देशन दिएको हो।

अब सञ्चालक, प्रमुख कार्यकारी अधिकृत एवम् उच्च व्यवस्थापकीय तहमा नियुक्ति वा मनोनयन हुनेहरुले सम्बन्धित व्यवसायसम्बन्धी प्रचलित कानुनबमोजिमको मापदण्ड पालना गरेको स्वघोषणा गर्नुपर्नेछ। सम्बन्धित व्यक्तिको पारिवारिक विवरण, नेपाल वा विदेशमा कुनै कसूरमा संलग्न भए वा नभएको स्वघोषणा बुझाउनुपर्नेछ। यदि संलग्न भएको भए सोको विस्तृत विवरण र वर्तमान अवस्था पनि खुलाउनुपर्ने राष्ट्र बैंकले पठाएको सर्कुलरमा उल्लेख छ। 

त्यसैगरी, कुनै प्रकारको मुद्दा मामिला, अनुसन्धान, वैकल्पिक विवाद समाधानको प्रक्रिया वा न्यायिक वा प्रशासनिक कारबाहीको प्रक्रियामा रहे वा नरहेको स्वघोषणा बुझाउनुपर्नेछ। यदि भएको भए सोको विवरण राष्ट्र बैंकमा पठाउनुपर्नेछ।

यस्तै, अदालत वा अधिकारप्राप्त अधिकारीको फैसला वा आदेशबमोजिम तिर्नु, बुझाउनुपर्ने राजस्व, सरकारी बाँकी बक्यौता रहे वा नरहेको स्वघोषणा, स्वदेश वा विदेशमा कर्जासम्बन्धी कालोसूची वा त्यस्तै प्रकारको सूचीमा परे वा नपरेको स्वघोषणा र स्वार्थको द्वन्द्व हुन सक्ने अवस्था विद्यमान रहे वा नरहेको विवरण राष्ट्र बैंकमा अनिवार्य बुझाउनुपर्नेछ।

नेपाली नागरिक भए निजको नेपालबाहिर कुनै सम्पत्ति रहे वा नरहेको वा कुनै सम्पत्तिमा वास्तविक धनी वा हिताधिकारी भए वा नभएको स्व:घोषणा, विगतमा संलग्न भएको कार्य, संस्था, प्राप्त भएको जिम्मेवारी, पुरस्कार, सजायको अवस्था, कार्य सफलताको उदाहरणलगायतका विषय खुल्ने सम्बन्धित क्षेत्रको कार्य अनुभवसम्बन्धी विवरण पनि बुझाउनुपर्नेछ। वित्तीय आचरण (फाइनान्सियल साउन्डनेस) सम्बन्धी विवरणसमेत पेस गर्न राष्ट्र बैंकले निर्देशन दिएको छ।

यदि यस्ता विवरण परिवर्तन भएमा समेत अद्यावधिक विवरण लिएर राष्ट्र बैंकमा पेस गर्नुपर्नेछ।

त्यसैगरी, एकपटक वा पटक पटक गरी चुक्ता पूँजीको कुल पाँच प्रतिशत वा कुल २५ लाख भन्दा बढी कायम हुने गरी संस्थापक सेयर खरिद वा नामसारी गर्दा सोको वास्तविक धनी वा हिताधिकारी व्यक्तिको विवरण समेत राष्ट्र बैंकलाई बुझाउनुपर्ने भएको छ। 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad