कारोबार


व्यावसायिक प्रतिष्ठानले शिक्षाको गुणस्तर वृद्धिमा सहयोग गर्नुपर्छ : विनोद चौधरी

व्यावसायिक प्रतिष्ठानले शिक्षाको गुणस्तर वृद्धिमा सहयोग गर्नुपर्छ : विनोद चौधरी

नेपालखबर
माघ ५, २०७७ सोमबार ६:४८,

चौधरी ग्रुपका अध्यक्ष एवं सांसद विनोद चौधरीले शिक्षा मानव जीवनका लागि वरदान भएकाले कुनै पनि बहानामा हाम्रा बालबालिका यसबाट वञ्चित हुन नहुने बताएका छन्।

भारतका ‘द पोलिसी टाइम्स’ र ‘शिव नादर युनिभर्सिटी’द्वारा आयोजित ‘वल्र्ड एजुकेसन कन्फ्रेन्स–२०२१’मा प्रमुख अतिथिको रूपमा बोल्दै चौधरीले विश्वभरका मानवको जीवनस्तर उकास्न गुणस्तरीय शिक्षामा केन्द्रित हुनुपर्ने बताएका हुन्।

ठूला व्यापारिक संस्थाले सामाजिक उत्तरदायित्वका रूपमा गुणस्तरीय शिक्षाका लागि सघाउने हो भने मानव विकासको फड्को मार्न सकिने उनको भनाइ छ।

‘व्यक्तिको मौलिक हकका रूपमा रहेको शिक्षाले संसार चिहाउने बाटो देखाउँछ’, उनले भने, ‘व्यक्तिगत र पेसागत जीवनमा आउने वैराग्यको अवस्थामा पनि उज्यालो किरण देखाउने काम शिक्षाले गर्छ। त्यसैले गुणस्तरीय शिक्षाको अर्को कुनै विकल्प छैन।’

‘बिजनेस विथ पर्पस’को मन्त्र स्मरण गर्दै चौधरीले भारत र नेपालका युवाशक्तिको सन्दर्भ जोडे।

‘भारत र नेपालमा विश्वकै ठूलो युवा जनसंख्या छ। यो पुस्तालाई समय सुहाउँदो शिक्षामा डो¥याउन सके भोलिको संसार आफैं उज्यालो हुन्छ’, उनले थपे, ‘पेशा, व्यवसाय गर्नमात्र होइन, राम्रो शिक्षाले जीवनलाई सुन्दर बनाउँछ। जीवनप्रतिको दृष्टिकोण नै बदलिदिन्छ।’

सीजी कर्प ग्लोबलअन्तर्गतको सीजी एजुकेसनले नेपाल, भारतलगायत एसिया र अन्य मुलुकमा गुणस्तरीय शिक्षाका लागि परोपकारी काम गर्दै आएको पनि चौधरीले सुनाए।

चौधरी फाउण्डेसनले नेपालमा डिजिटल क्लास रूम कार्यक्रम सञ्चालन गर्दै आएको छ। नेपाली बालबालिकालाई विश्वब्यापी आधुनिक शिक्षा प्रणालीमा आवद्ध गर्न, सूचना र शिक्षाको पहुँचमा पु¥याई उनीहरूलाई विश्वब्यापी प्रधिस्पर्धी बन्न सक्ने बनाउन यो कार्यक्रम लागू गरिएको हो। “युवाशक्तिलाई शिक्षित, स्वावलम्बी, उदार र तार्किक बनाउन हामी केन्द्रित छौँ’, उनले भने, ‘युवालाई केन्द्रमा राख्यौं भने मात्र मुलुकसँगै सिंगो विश्व समृद्ध हुन्छ।’

सम्मेलनअन्तर्गत ‘राष्ट्रिय शिक्षा नीति २०२०-शिक्षाको भविष्य र कार्यान्वयनको मार्गचित्र (एनईपी)’ नामक सत्रमा अध्यक्ष चौधरीको आत्मकथा ‘मेकिङ इट बिग’सँगै उनको जीवनका आरोह–अवरोहका बारेमा चर्चा गरिएको थियो। उनको आत्मकथा विश्वभर ६ भाषामा अनुदित भएको छ।

यो सत्रमा एनईपी मस्यौदा समितिका सदस्य डा. एमके श्रीधर, एभरग्रिन फाउन्डेसनका संस्थापक डा. चेतन सिंगाई, फिक्कीका महासचिव दिलीप चेनोई, मारुती सुजुकी इन्डियाका कार्यकारी सल्लाहकार एसवाई सिद्दिकी, इस्ट वेस्ट युनिभर्सिटी (बंगलादेश)का संस्थापक उपकुलपति प्राडा मोहम्मत फरासुद्दिनलगायतले पनि बोलेका थिए।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad