कञ्चनपुरमा रासायनिक मलको अभाव भएको छ। जिल्लाको खेतियोग्य सम्पूर्ण क्षेत्रमा धान रोपेर सकिएको अवस्थामा बेलैमा रसायनिक मल नपाउँदा स्थानीय कृषकहरु मारमा परेका छन्।
बजारमा रासायनिक मलको अभाव रहेको मौका छोपेर ‘ब्याल्कर’हरुको गिरोह नै सक्रिय भएको छ। स्थानीय कृषकहरुले सरकारी अनुदानमा सुपथ मूल्य पाउने रसायनिक मल अभाव हुँदा चर्को मूल्य हालेर भारतबाट ल्याइएको गुणस्तरहीन रासायनिक मल किन्न बाध्य भएका छन्। अनुदानको मल अभाव भएपछि किसानले चर्को मूल्य तिरेर गुणस्तरहीन भारतीय रासायनिक मल डिएपी खेतमा हाल्न बाध्य भएका छन्।
‘रोपाइ सकियो खेतमा हाल्नका लागि मल लिन आएको, बजारमा मल नै छैन।’ बेदकोट नगरपालिका–५ का कृषक हरेन्द्र बोहराले भने, ‘सहकारीबाट केही सस्तो हुन्थ्यो। त्यहाँ नपाएर चर्को मूल्यमा किराना पसलबाट किनेर लगेँ।’
अनुदानको मल बिक्रीको जिम्मा पाएको कृषि सामग्री कम्पन्नी लिमिटेड महेन्द्रनगरले मागअनुरुपको मल आपूर्ति गर्न सकेको छैन। जसले गर्दा स्थानीय कृषकहरुले हैरानी खेप्नुपरेको छ । स्थानीय एग्रोभेट पसल तथा अन्य किराना पसलबाट खरिद गरेको चर्को मूल्यको भारतीय मल गुणस्तरीय भए÷नभएको जानकारी नभए पनि किसान भारतीय मलको प्रयोग गर्न बाध्य छन् ।
भीमदत्त नगरपालिका–२ का किसान मनोज चौधरीले सरकारले उपलब्ध गराउने मल नपाउँदा भारतको निकटवर्ती बजारबाट ल्याइएको मल हालेको बताए । अनुदानको मल अभाव भएपछि किसानले चर्को मूल्य तिरेर गुणस्तरहीन भारतीय रासायनिक मल खेतमा हाल्न बाध्य भएका छन्।
शून्य मौज्दात
कृषि सामाग्री कम्पनी लिमिटेड महेन्द्रनगरसँग कृषकहरुलाई वितरणका लागि रसायनिक मलको शून्य मौज्दात रहेको छ। सरकारी अनुदानमा कृषकहरुका लागि आएको रसायनिक मल सकिएको छ। अनुदानको मल सकिदा स्थानीय कृषकहरुले चर्को मूल्य राखेर भारतबाट आयातित गुणस्तरहीन रसायनिक मल खेतमा हाल्न बाध्य छन्।
यस बर्षका लागि साउन १२ गते आएको ६७ टन रसायनिक मल सकिएपछि मौज्याद शून्य भएको कृषि सामाग्री कम्पन्नी लिमिटेड महेन्द्रनगरका निमित्त शाखा प्रबन्धक बल बहादुर शाहले बताए। भैरहवामा नै रसायनिक मल नहुनाले हाल नै रसायनिक मल आउने सम्भावना कम रहेको उनले बताए। ‘मैले भैरहवा सम्पर्क गरेको थिएँ, त्यहीँ पनि मल सकिएको रहेछ।’उनले भने, ‘अब मल हालै आउने अवस्था एकदम कम रहेको छ।’
साउन मसान्तभित्र डिएपी आउने सम्भावना रहेको छ भने यूरियाका लागि भदौँ मसान्त कुर्नु पर्ने शाखा प्रबन्धक शाहले बताए। कृषकहरुले माग गरे अनुसार प्रशस्त मात्रामा मल उपलब्ध गराउन नसकिएको उनले बताए। किसान मलको माग गर्दै कार्यालयसम्म पुग्छन्। मल नपाउँदा निराश भएर फकर्ने गरेको उनको भनाइ रहेको छ। सरकारी अनुदानमा विभिन्न सहकारीमार्फत मल कृषकहरुलाई उपलब्ध गराइन्छ।
‘ब्ल्याकर’ सक्रिय
जिल्लामा रसायनिक मल मौज्दात शून्य रहेको अवस्थामा ‘ब्ल्याकर’ को गिरोह सक्रिय भएको छ। जिल्लामा रसायनिक मलको अभाव रहेको मौका छोपेर पछिल्लो समय ब्ल्याकरको गिरोह सक्रिय भएको देखिएको हो। भारतका विभिन्न सहरबाट सस्तो मूल्यमा रसायनिक मल भन्सार छलि विभिन्न नाकाको प्रयोग गर्दै नेपाल ल्याउने क्रम सुरु भएको छ।
भारतबाट ल्याइएको गुणस्तरहिन रसायनिक मल महेन्द्रनगर, सुडा, लालपुर, गड्डाचौकी, झलारी लगायतका बजारका व्यापारीसँग मिलेर चर्को मूल्यमा बिक्री वितरण गर्ने गरेका छन्। भारतसँग खुला सीमा रहेका अर्थात धेरै चेकजाँच नहुने क्षेत्रहरु दोधारा–चाँदनी, ब्रह्मदेव, बेलौरी लगायतका ठाउँबाट रसायनिक मल नेपाल भित्रिरहेको छ।
यहाँका स्थानीय व्यापारीसँगको मिलेमतोमा चर्को मूल्यमा रासायनिक मल बिक्री वितरण भइरहेको कृषकहरुको गुनासो छ। यहाँका व्यापारी समेत रसायनिक मल हुँदा पनि सकिएको बहाना गरेर अभावको बखत चर्को मूल्यमा कृषकको ढाड सेक्ने गरेर बिक्री गर्ने गरेका छन्।

प्रतिक्रिया