कारोबार


मेला महोत्सव सञ्चालन गर्न दिनुपर्ने व्यवसायीकाे माग

मेला महोत्सव सञ्चालन गर्न दिनुपर्ने व्यवसायीकाे माग

नेपालखबर
पुस २७, २०७७ सोमबार ९:०,

टीकापुर उद्योग वाणिज्य संघले कोरोना भाइरस संक्रमण जोखिमका कारण रोकिएको मेला महोत्सव सञ्चालन गर्न माग गरेको छ।

विशेषगरी उद्योग वाणिज्य संघले आयोजना गर्ने महोत्सव तथा व्यापार मेला सञ्चालनका लागि सरकारसँग आवश्यक समन्वय भइरहेको उद्योग वाणिज्य महासंघ सुदूरपश्चिम प्रदेशका उपाध्यक्ष रामबहादुर भण्डारीले जानकारी दिएका छन्।

प्रतिनिधिसभा विघटनपछि सरकारको समर्थन र विरोधमा प्रायः दिनहुँ हुनथालेका प्रदर्शनले कोरोनाको संक्रमणलाई बेवास्ता गरेकाले अब मेला महोत्सव रोक्नुको पनि कुनै तुक नरहेको भन्दै उनले कोरोनाका कारण आक्रान्त बनेको व्यवसायको बढावाका लागि भए पनि मेला महोत्सव गर्न पाउनुपर्ने माग गरे।

टीकापुर उद्योग वाणिज्य संघका अध्यक्षसमेतरहेका भण्डारीले कोरोना संक्रमणकै जोखिमलाई हेरेर महोत्सवको मिति तय गर्न नसकिएको बताउँदै पछिल्लो परिस्थितिलाई हेर्दा सरकारले व्यवसायलाई मात्र मारमा पार्ने काम गर्दै आएको बताए।

‘कोरोनाको जोखिमकै कारण हामीले पनि महोत्सव सञ्चालनका लागि कुनै निर्णय गर्न सकेका छैनौँ। अहिले मेला महोत्सव सञ्चालनका लागि नेपाल उद्योग वाणिज्य महासंघले पहल शुरु गरेको छ’, अध्यक्ष भण्डारीले भने, ‘राजनीतिक दलका विरोध जुलुस, आमसभाले कोरोना सर्दैन। व्यावसायिकरुपमा हुने मेला महोत्सवले कोरोनाको जोखिम देख्ने सरकार व्यवसायीको हितमा छैन।’

उनले व्यवसायीमा कोरोनाले पारेको असर अब देखिन थालेको बताउँदै व्यवसायलाई चलायमान बनाउनका लागि सरकारले आर्थिक प्याकेजको व्यवस्था गर्नुपर्नेमा त्यसतर्फ गम्भीर नभएको बताए।

‘यो अवस्थामा मेला महोत्सव गर्न धेरै चुनौती छ। प्रायोजक र सहयोगी पाउनै मुश्किल छ’, अध्यक्ष भण्डारीले भने, ‘सरकारले मेला महोत्सवलाई मात्र रोकेर कोरोना नियन्त्रण हुन सक्ने अवस्था देखिएको छैन।’

कैलाली उद्योग वाणिज्य संघका अध्यक्ष पुष्पराज कुँवरले सुदूरपश्चिम महोत्सव सञ्चालनका लागि बहस सुरु गरिएको बताउँदै फागुनसम्म भए पनि महोत्सव आयोजना गरिने बताएका छन्।

‘हामीले महोत्सव सञ्चालनका लागि प्रक्रिया शुरु गरेका छौँ’, उनले भने, ‘सुदूरपश्चिम महोत्सव एक ब्राण्ड बनिसकेको छ। सरकार आफ्ना लागि जस्तोसुकै कदम चाल्न पनि पछि नहट्ने रहेछ। अहिलेको अवस्थालाई हेर्ने हो भने महोत्सव रोकेर कोरोना नियन्त्रण हुन सक्दैन।’

अध्यक्ष कुँवरले देशैभरीका अधिकांश उद्योग वाणिज्य संघले महोत्सव आयोजना गर्न पाउनुपर्ने माग गर्दै आएको बताउँदै त्यसका लागि मेला महोत्सव व्यवसाय महासंघले सरकारसँग समन्वय गरिरहेको बताए।

कैलालीका प्रमुख जिल्ला अधिकारी यज्ञराज बोहराले अहिले नै मेला महोत्सव सञ्चालन गर्न दिनेबारे कुनै पनि निर्णय नभएको बताए। उनले थारूको महान् चाड एवं नयाँ वर्षमा भने सामान्य जमघट भई कार्यक्रम गर्न सकिने बताए।

‘दशैँ तिहारको समयमा जस्तै थारू समुदायले पनि आफ्नो पर्व स्वास्थ्य मापदण्ड अपनाएर मनाउन सक्छन्। त्यसलाई हामीले छुट दिने भनेका छौँ’, प्रमुख जिल्ला अधिकारी बोहराले भने, ‘अहिले नै मेला महोत्सवका लागि कुनै काम गर्न सकिने अवस्था छैन र मेला महोत्सव आयोजना गर्छु भनेर कोही पनि प्रशासनमा आएको पनि छैन।

उनले मेला महोत्सव सञ्चालनका लागि कुनै संस्था वा समूह आएको अवस्थामा त्यहीअनुसारको निर्णय गर्न सकिने बताउँदै अहिले नै सबै खुला भयो भनेर भन्न नसकिने अवस्था रहेको छ भने। रासस

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad