मुलुकमा कोरोना भाइरस संक्रमण फैलिएसँगै मास्कको व्यापार ह्वात्तै बढेको छ।
चालू आर्थिक वर्षको पाँच महिनामा मात्रै नेपालले ४४ करोडभन्दा धेरैको मास्क किनबेच गरेको हाे। यसमध्ये नेपालबाट मास्क निर्यातभन्दा झण्डै १० गुणा बढी आयात भएको छ।
यसैबीचमा नेपालमा १८ करोडभन्दा धेरैका ३ सय ९९ वटा मास्क बनाउने मेसिन पनि आयात भएको छ। एक वर्षअघि चीनबाट कोरोना भाइरस संक्रमण फैलिएपछि नेपालमा मास्क आयात हुन थालेको थियो।
स्थानीय बजारमा मास्कको माग बढेपछि मुलुकभित्रै पनि मास्क उद्योग स्थापना भएका थिए। विश्वव्यापी रुपमा कोरोना फैलिएपछि अन्तर्राष्ट्रिय बजारमा मास्कको माग बढेको छ। यसै कारण नेपालले मास्क आयात मात्र गरेको छैन निर्यात पनि गर्न सुरु गरेको छ।
कोरोना महामारी सुरु भएसँगै सुरु भएको मास्क व्यवसायले सानै परिमाणमा भए पनि नेपाली मास्क विश्वबजारमा पुगेको छ।
भन्सार विभागको तथ्यांकअनुसार चालू आर्थिक वर्षको पहिलो पाँच महिनामा नेपालबाट ९ वटा मुलुकमा ४ करोड १२ लाख ५० हजार रुपैयाँबराबरको मास्क निर्यात भएको छ।
नेपालले छिमेकी देश भारत, भुटानसहित फ्रान्स, जर्मनी, जापान, सिंगापुर, दुवै, बेलायत र अमेरिकामा यी मास्क निर्यात गरेको हो।
यी मुलुकहरुमध्ये सबैभन्दा धेरै अमेरिका र त्यसपछि जापान र भुटान पठाएको छ। तथ्यांकअनुसार पाँच महिनामा अमेरिकामा २ करोड ९५ लाख ४१ हजार रुपैयाँबराबरको ५ लाख ७८ हजार ६ सय ४८ वटा मास्क निर्यात गरेको छ।
त्यस्तै, जापानमा १ करोड ६ लाख ६१ हजार रुपैयाँबराबरको ३ लाख २ हजार ४ सय वटा मास्क निर्यात गरेको छ। भुटानमा ४ लाख ६० हजार रुपैयाँको मास्क निर्यात गरेको छ।
४२ देशबाट ४० करोडको आयात
यसबीचमा नेपालले निर्यातभन्दा आयात १० गुणाभन्दा धेरै गरेको छ।
अझ चाख लाग्दो कुरा त पाँच महिनाको अवधिमा नेपालले ४२ देशबाट मास्क आयात गरेको छ।
कुनै देशबाट एउटा मात्रै पनि मास्क आयात गरेको तथ्यांक भन्सार विभागको विवरणमा उल्लेख छ।
चालू आर्थिक वर्षको पहिलो पाँच महिनाको अवधिमा ४२ देशबाट नेपालले ४० करोड २ लाख ४९ हजार रुपैयाँबराबरको मास्क आयात गरेको हो।
तथ्यांकअनुसार ७ करोड ५७ लाखभन्दा धेरैको २७ हजार १ सय ७१ किलो र ३२ करोड ४५ लाख ३८ हजारको ६ करोड ८७ लाख १ हजार ५ सय ८५ वटा मास्क आयात भएको विवरणमा उल्लेख छ।
नेपालले अफगानिस्तान, अष्ट्रेलिया, अष्ट्रिया, बंगलादेश, बेल्जियम, कम्बोडिया, क्यानडा, चीन, चेक रिपब्लिक, फ्रान्स, जर्मनी, हैटी, हङकङ, भारत, इन्डोनेसिया, इजरायल, इटाली, जापान, जोर्डन, केन्या, कोरिया, मलेसिया, मेक्सिको, म्यानमारबाट मास्क आयात गरेको छ।
त्यस्तै नेपालले मास्क आयात गरेका अन्य मुलुकहरुमा नेदरल्याण्ड, नर्थन मरियन आइसल्याण्ड, फिलिपिन्स, पोर्चुगल, कतार, साउदी अरेबिया, सिंगापुर, श्रीलंका, स्विडेन, स्विट्जरल्याण्ड, ताइवान, थाइल्याण्ड, टोकेलौ, युक्रेन, दुवई, बेलायत, अमेरिका र भियतनाम रहेका छन्।
यी मुलुकमध्ये सबैभन्दा धेरै चीनबाट ३१ करोड ८७ लाख ९ हजार रुपैयाँबराबरको मास्क आयात भएको छ। त्यस्तै भारतबाट ५ करोड ३५ लाख ६७ हजार रुपैयाँको आयात गरेको भन्सार विभागको तथ्यांकमा उल्लेख छ।
१८ करोडको मास्क बनाउने मेसिन आयात
नेपालमा कोरोना भाइरस संक्रमण फैलिनुभन्दा पहिले सर्जिकल मास्क उत्पादन हुँदैनथ्यो। त्यसकारण मास्क बनाउने मेसिन नै थिएन। कोरोना भाइरस संक्रमणले मास्कको माग बढेपछि भने मास्क बनाउने मेसिन ल्याएर उत्पादन सुरु भएको थियो।
पछिल्लो पाँच महिनामा मुलुकमा १८ करोड, ६१ लाख १२ हजार रुपैयाँबराबरको मास्क बनाउने मेसिन आयात भएको छ। यो मूल्यमा ३ सय ९९ वटा मास्क बनाउने मेसिन आयात भन्सार विभागको तथ्यांकमा उल्लेख छ।

प्रतिक्रिया