कारोबार


कोरोना पोजिटिभ यात्रु नेपाल एयरलाइन्समा मलेसियाबाट काठमाडौँ आए, कर्मचारीलाई कारबाही

कोरोना पोजिटिभ यात्रु नेपाल एयरलाइन्समा मलेसियाबाट काठमाडौँ आए, कर्मचारीलाई कारबाही

नेपालखबर
पुस २१, २०७७ मंगलबार ७:५८,

नेपाल वायु सेवा निगम (नेपाल एयरलाइन्स)ले जिम्मेवारीमा लापरवाही गर्ने मलेसिया स्टेसनका कर्मचारीलाई कारबाही गरेको छ।

निगमको मलेसियास्थित स्टेसनमा कार्यरत कर्मचारीबाट गम्भीर लापरवाहीका कारण निगमको जहाजमार्फत काठमाडौँ आएका एक यात्रुको कोरोना रिपोर्ट पोजेटिभ पाइएपछि निगमले मलेसिया स्टेसनमा सधैँका लागि जान नपाउने गरी फिर्ता बोलाएको हो।

गत डिसेम्बर ३० तारिखका दिन मलेसियाबाट काठमाडौँ आएको निगमको उडान नं ४०१६ जहाज बिहान ९ः०० बजे त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा अवतरण गरेको थियो। विमानस्थलको स्वास्थ्य कक्षमा यात्रुको पिसिआर रिपोर्ट जाँच गर्दा एक यात्रुले पोजेटिभ रिपोर्ट लिएर आएको फेला परेपछि विमानस्थलमा हल्लाखल्ला मच्छिएको थियो।

निगमको न्यारोबडी ए ३२० जहाजमा १४५ यात्रु आएका थिए। ती पोजेटिभ यात्रुसहित ५४ जनालाई अहिले होटल क्वारेन्टिनमा राखिएको छ भने बाँकी ९१ जनालाई घर पठाइएको थियो। सो घटनामा निगमको मलेसिया स्टेसनका कन्ट्री म्यानेजर नरेशकुमार श्रेष्ठ, स्टेशन म्यानेजर युवराज आचार्य र फाइनान्स म्यानेजर इन्द्र थापालाई निगमले स्पष्टीकरण सोधेको थियो। चित्तबुझ्दो जवाफ नआएपछि उनीहरुलाई फिर्ता बोलाउनुका साथै होटल क्वारेन्टिनमा बस्ने यात्रुको सम्पूर्ण खर्च दामासायीले असुल उपर गर्ने गरी कारवाही गरेको हो।

निगमको आन्तरिक तथा बाह्य स्टेशनका लागि खट्ने जनशक्तिको व्यवस्था गर्न गठित पोष्टिङ कमिटीले स्पष्टीकरण सोेधेको थियो। यो कमिटी महाप्रबन्धकको संयोजकत्वमा मानव संशाधन विभागका उपनिर्देशक, अर्थ विभागका निर्देशकसहित छ सदस्यीय स्थायी प्रकृतिको हुन्छ। कमिटीको पुस १७ को बैठकले कोभिड पोजेटिभ भएका यात्रु आउनुमा निगमका स्टेसनमा खटिएका कर्मचारीको गम्भीर लापरवाही देखिएको भन्दै यसले निगमको साख मात्र नभई देशकै प्रतिष्ठासँग जोडिएकाले कारवाही गर्नुपरेको निगमले उल्लेख गरेको छ।

यात्रुको खर्च तीन जनाले बेहोर्नुपरे पनि आर्थिक म्यानेजर थापालाई भने फिर्ता बोलाइएको छैन । बाँकी दुई जनालाई नेपाल बोलाइएको छ। मलेसियाको क्लालम्पुर एयरपोर्टमा निगमको ग्राउन्ड ह्यान्डलिङ एजेन्ट (जीएचए) लाई पनि स्पष्टीकरण सोधिएको निगमले जनाएको छ।

शुरुमा जीएचएलाई क्षतिपूर्ति तिराउने र त्यो नभए कर्मचारीबाटै अशुलउपर गर्ने निर्णय भएको निगम व्यवस्थापनले जनाएको छ। ती यात्रुलाई काठमाडौँका दुई होटलमा राखिएको छ। पीसीआर परीक्षण र होटलमा बसेर खाएको खर्च बेहोर्नु पर्नेछ।

सो घटना निगमको उडान इतिहासमा पहिलो भएको र सुशासन प्रवद्र्धनका निम्ति पहिलोपटक स्टेशनका कर्मचारीलाई कारवाही गर्नुपरेको पनि निगमले जनाएको छ। यसअघि निगमभित्र विभिन्न विषयमा कर्मचारीले गल्ती गरेपनि समिति बनाएर छुट दिने गरिएकामा यसपटक भने कारवाही गरेर आगामी दिनमा अन्य कर्मचारीबाट पनि गल्ती नहोस् भन्ने उदाहरणीय कार्य व्यवस्थापनले गरेको निगमको दाबी छ।

तीन महिनाअघि निगमको महाप्रबन्धकको रुपमा जिम्मेवारी सम्हाल्नुभएका डिमप्रकाश पौडेलले संस्थाभित्र सुशासन प्रवद्र्धन र आर्थिक मितव्ययिता अपनाउन आफू कडा रुपमा प्रस्तुत हुने बताएका थिए। रासस

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad