वीरगन्जमा शंकर प्रेस भनेपछि नचिन्ने मान्छे कमै छन्। ६ दशकदेखि सञ्चालित यो प्रेसले एक ठाउँको नाम नै शंकर प्रेस बनाएको छ।
‘कहाँ जाने?’, रिक्सावालले सोध्दा यात्रुहरु ‘शंकर प्रेस’ जाने बताउँछन्।
त्यही शंकर प्रेसका सञ्चालक थिए जगदीश अग्रवाल। जगदीश नवनीत अग्रवालका बाबु हुन्। हुन त यो प्रेस स्थापना गरेका थिए नवनीतका हजुरबुबाले।
हजुरबुबाले वीरगन्जमै पहिलो पटक स्थापना गरेको यो प्रेस अहिले तेस्रो पुस्ताले चलाइरहेको छ। अर्थात् नवनीतले चलाउँछन्।
नबिल बैंकबाट २५ वर्षअघि पाँच लाख रुपैयाँ ऋण लिएर शंकर प्रेसलाई ‘रिमोबिलाइज’ गरेपछि बल्ल यो प्रेसले लय समात्यो। त्यही लयमा बग्दै हिँडेका नवनीत र उनको परिवार आज वीरगन्जका गन्यमान्य व्यवसायी भएका छन्।
गएको मंसिरमा काठमाडौंमा नेपाल उद्योग वाणिज्य महासंघको चुनावताका नवनीत केन्द्रीय राजधानीमै आएका थिए। उनी वीरगन्ज उद्योग वाणिज्य संघमा पनि छन्।
‘महासंघको चुनावमा उठेका साथीहरुलाई सघाउन म काठमाडौं आएको हुँ’, काठमाडौं आएका बेला नवनीतले भनेका थिए, ‘व्यवसायी भएपछि हिँडिरहनुपर्छ।’
लगानी गरेपछि घाटानाफा जे पनि हुनसक्ने भएकाले घाटा हुँदा आत्तिने र नाफा हुँदा मात्तिने व्यवसायी धेरै अगाडि जान नसक्ने उनी बताउँछन्।
‘कहिले तल झरिन्छ, कहिले माथि’, उनी भन्छन्।
तर, व्यवसायमा संकटका बेलामा साथ दिने बलियो संस्था चाहिन्छ। जस्तो कि कोभिड संक्रमणबाट अर्थतन्त्र नराम्ररी प्रभावित भइरहेको बेला बैंकहरुको साथले व्यवसाय पुनः फर्किएर आउनसकेको छ।
यस्तै, मीठो अनुभव छ, नवनीतसँग पनि। २५ वर्षअघि नबिल बैंकबाट ५ लाख रुपैयाँ ऋणबाट सुरु गरेको नयाँ व्यवसाय आज अर्बको पुगेको छ। ‘त्यो पाँच लाख आज १०–१२ करोड भइसकेको होला’, उनले नेपालखबरसँग भने, ‘संकटमा हुने साथले व्यवसाय अगाडि बढाउन सजिलो हुन्छ।’
कसरी उनलाई वरदान साबित भयो बैंकको पाँच लाख ऋण?
यसबारे उनी अलिकति पृष्ठभूमिमा जान चाहे। वीरगन्जमा एसएलसी उत्तीर्ण गरिसकेपछि काठमाडौं पिपल्स क्याम्पस पढ्न आए नवनीत। उनी थिए व्यापारिका छोरा। पढाइलाई धेरै ठूलो मान्यता थिएन। व्यापार नै गरे हुन्थ्यो भन्ने परिवारको चाहना हुन्थ्यो।
‘मारवाडीको छोरालाई मन छ भने पढ्नु नभए व्यापारमै बस्नु भन्ने चलन थियो’, उनी भन्छन्।
व्यापार गर्नु त छँदै छ, अहिलेलाई उनलाई पढ्न मन थियो। स्न १९९३ तिर पिपल्स क्याम्पस पकनाजोलमा आइकममा भर्ना भए।
त्यो बेला उनको पुस्तेनी काम थियो शंकर प्रेस। ‘शंकर प्रेस भनेपछि वीरगन्जमा नचिन्ने कोही छैन। ६० वर्षअघि स्थापना भएको यो प्रिन्टिङ प्रेस वीरगन्जको पहिलो हो,’ उनले भने, ‘हजुरबुबाले स्थापना गर्नुभएको।’
काठमाडौं बागबजारमा बाबुका साथीको घर थियो। नवनीत उनै अंकलको घरमा बस्नथाले। ती अंकलले केशव स्थापितको घरमा फर्निसिङको पसल थियो। फुर्सदको समयमा नवनीतले त्यही पसलमा गएर सहयोग गरिदिन्थे।
परिवारमा उनी जेठो छोरा थिए। उनलाई पढाइभन्दा पनि घरको काम सम्हाल्नुपर्ने परिस्थिति बन्यो। सन् १९९५ मा उनी वीरगन्ज फर्किए पुस्तेनी काम अर्थात् शंकर प्रेस सम्हाल्न।
त्यो बेलामा बुबा जगदीश अग्रवालले नयाँ घर बनाएका थिए। घर बनाउँदा व्यापार गर्न चाहिने पैसा खाँचो भयो।
बाबुले घर बनाउँदा उनीहरुसँग भएको क्यास सकिएको थियो। व्यवसायलाई अगाडि बढाउन उनीहरुसँग चल्ती पुँजी थिएन।
व्यापार परम्परागत रुपमा चलिरहेको थियो। बैंकबाट ऋण लिने चलन नै थिएन। बुबासँग पैसा चाहिएको बताए। पैसामात्रै मागेनन्, माग्नुको कारण पनि बुबालाई सुनाए, ‘मैले काठमाडौंबाट काम गर्ने शैली सिकेर आएको छु, थप काम गर्न चाहन्छु।’
बुबाको एक घनिष्ट साथी नबिल बैंकको ग्राहक थिए। उनैले बैंकबाट ऋण लिएर व्यवसाय गर्न सकिने नवनीतलाई सुझाउँदै भने, ‘नबिल बैंकमा मैले चिनेको छु, त्यहाँ चिनाइदिउँला।’ उनले परिचय गराइदिए।
बैंकसँग ऋण लिएर भए पनि व्यवसायलाई नयाँ तरिकाबाट चलाउने उनको योजना थियो। उनी नबिल बैंक गए।
‘तपाईंले के गरिरहनु भएको छ’, बैंकले उनलाई सोध्यो, ‘कति ऋण चाहिन्छ?’
‘मलाई पाँच लाख भए पुग्छ’, नवनीतले भने।
बुबाले बनाएको घरलाई धितो राख्ने कुरा गरे उनले। दश दिनमै उनले पाँच लाख रुपैयाँ ऋण पाए। ब्याज १५–१६ प्रतिशत जति थियो। त्यो बेलासम्म बैंकिङको पहुँच धेरै कमलाई मात्र थियो। ऋण पाउने कुरा धेरैलाई थाहा थिएन।
बैंकबाट पाएको पाँच लाखले उनलाई व्यवसाय गर्न नयाँ ‘प्लेटफर्म’ तयार पारिदियो।
त्यसपछि उनी प्रिन्टिङ प्रेसको काममा लागे। शंकर प्रेसलाई उनले पुनर्स्थापना गरे अर्थात् पुरानै लयमा काम सुरु गरे। उनीहरुले अफसेट मेसिन ल्याइसकेका थिए तर त्यसलाई थप लगानी गरेर चलाउन थाले।
‘म अहिले गर्वका साथ भन्छु, २५ वर्षपछि त्यो पाँच लाख रुपैयाँ अहिले १० करोड पुगिसक्यो’, नवनीत भन्छन्, ‘नबिल बैंकको त्यही पाँच लाखको साथले आज यहाँसम्म आइपुगेको छु।’
उनले व्यवसायमा काम गर्दै जाँदा बैंकप्रति विश्वास दिलाए। चाहिएको बेला थप ऋण लिन सक्ने अवस्थामा पुगे। ‘तपाईंको ओभरड्यु छ’ भनेर कहिले पनि फोनबाट सुन्नुपरेन।
अहिले शंकर प्रेस नवनीतको माइलो भाइले हेर्छन्। त्यो अहिले ३०–४० करोडको सम्पत्त बनिसकेको उनी बताउँछन्।
काठमाडौंमा पढ्दा जुन अंकलको घरमा उनी बस्थे ती अंकलले वीरगन्जमा पनि नवनीतलाई ब्रान्चको रुपमा फर्निसिङको पसल खोलिदिएका थिए।
प्रेस परिवारले हेर्न थालेपछि उनी फर्निसिङको व्यवसायमा लागे। उनले त्यो बेला फर्निसिङको सामान आयात पनि गर्थे। ती अंकलसँग मिलेर फर्निसिङको व्यापार गर्न थाले।
कोरियाबाट भुइँमा बिछ्याउने टाट, ब्लांकेट, केरोसिन हिटर आउँथ्यो। चीनबाट अक्स ब्रान्डको सिलिन फ्यान पनि ल्याउँथे।
अकिरा र व्यवसायमा घाटा
उनले व्यवसायलाई विस्तार गर्दै गए। सन् २००२ मा उनले अकिरा ब्रान्डलाई सिंगापुरबाट काठमाडौं ल्याएर व्यापार सुरु गरे। उनी अकिरा ब्रान्डको नेपालको आधिकारिक बिक्रेता भए।
काठमाडौैंमा आफ्नो ब्रान्डलाई स्थापित बनाउनतिर लागे। पहिलेदेखि स्थापित भइसकेका एलजी, सामसङसँग प्रतिस्पर्धा गर्नुपर्ने थियो।
उनी परिश्रम र प्रतिस्पर्धा गर्दै पाँच वर्ष त धानिए तर उनले विश्वस्तरका एलजी, सामसङजस्ता ब्रान्डको अगाडि टिक्न सकेनन्। एलजी, सामसङलाई भारतीय विज्ञापनले पनि धेरै सहयोग गरिरहेको हुन्छ तर अकिरालाई त्यसरी विज्ञापन हुन पाएन।
‘त्यसकारण म यो व्यवसायमा सर्भाइभ नै हुन सकिन’, उनले सुनाए, ‘त्यो समय मेरो जीवनकै सबैभन्दा खराब समय थियो।’
पाँच वर्षको अवधिमा उनले त्यो ब्रान्डमा हात झिक्नुपर्यो। ‘म धेरै माथि उठिसकेको थिएँ। फेरि एकै पटक तल झर्नुपर्यो’, उनले नमीठो पल सम्झिए।
नबिल बैंकको पाँच लाख ऋणको सहयोगबाट व्यवसाय गर्दै माथि उठेका उनी व्यापार विस्तारमा लाग्न अकिरामा हात हाल्दा फेरि डुबे।
बैंकसँगको सम्बन्ध राम्रो भइसकेको थियो। उनी फेरि त्यही नबिल बैंकमै पुगे। नयाँ व्यवसायको लागि फेरि ऋण मागे।
‘जब मैले व्यापारमा घाटा खाएँ, बाहिर केही प्रचार नगरी नबिलले मलाइै फेरि उठायो’, उनी भन्छन्, ‘नबिलले मलाई घाटामा अझ निराश हुन दिएन। मैले उहाँहरुलाई व्यवसायको बारेमा स्पष्ट भनेँ। मलाई यति समय चाहिन्छ भनेँ।’
अहिले नबिलमा झण्डै ८ करोड रुपैयाँ ऋण छ तर व्यवसाय राम्रोसँग गरिरहेका छन् उनी। अकिराबाट हात झिकेपछि उनी काठमाडौंलाई छोडेर वीरगन्जमै गए। नयाँ व्यवसायमा हात हाले।
पहिलेको श्रुति फर्निसिङ पसल अहिले पनि चलिरहेको छ। त्यसबाहेक श्रुति फोसिस भन्ने कम्प्युटर, ल्यापटपको शोरुम खोलेका छन्। यसको सेमी होलसेल र आयात पनि उनी गर्छन्। उनले यही कोभिडको अवस्थामा किराना पसल पनि सुरु गरेका छन्।
उनको माइलो भाइ मनिष अग्रवाल सिप्रदीको माथिल्लो तहमै काम गर्छन् भने कान्छो भाइले शंकर प्रेस हेरिरहेका छन्।

प्रतिक्रिया