कारोबार


घुन्सा खोला जलविद्युत्‌ आयोजनाको सिभिल ठेक्का करिब ८ अर्बमा शर्मा एन्ड कम्पनी जेभीलाई

घुन्सा खोला जलविद्युत्‌ आयोजनाको सिभिल ठेक्का करिब ८ अर्बमा शर्मा एन्ड कम्पनी जेभीलाई

नेपालखबर
असार ४, २०८३ बिहिबार ११:४९, काठमाडौँ

७७.५ मेगावाट क्षमताको घुन्सा खोला जलविद्युत् आयोजनाको सिभिल तथा हाइड्रोमेकानिकल निर्माणको ठेक्का शर्मा एन्ड कम्पनी जेभीले पाएको छ।

रेमिट हाइड्रोले बनाउन लागेको उक्त आयोजनाको सिभिल तथा हाइड्रो मेकानिकलको काम शर्मा एन्ड कम्पनीसहित भारतका निर्माणवृद्धि कन्स्ट्रक्सन्स इन्डिया एलएलपी र प्रथिमा इन्फ्रास्ट्रक्चर लिमिटेड भारतको जेभीले पाएको हो।

रेमिट हाइड्रोले उक्त जेभीलाई ‘लेटर अफ इन्टेन्ट टु अवार्ड द कन्ट्र्याक्ट’ (एलओआई) जारी गर्दै ठेक्का प्रदान गरेको छ। 

एलओआई अनुसार घुन्सा खोला जलविद्युत् आयोजनाको पहिलो चरण अन्तर्गत सिभिल तथा हाइड्रोमेकानिकल निर्माणका लागि उक्त जेभीले पेस गरेको बोलपत्र सबैभन्दा कम मूल्यको रहेको उल्लेख गरिएको छ। साथै प्राविधिक रूपमा शर्मा एन्ड कम्पनी जेभी योग्य ठहरिएको छ।

जेभीले प्रस्ताव गरेको मूल्य भ्याट र भन्सार शुल्कबाहेक ५ अर्ब २३ करोड नेपाली रुपैयाँ र १ करोड ४४ लाख अमेरिकी डलर (२ अर्ब १७ करोड रुपैयाँ बढी) हो। यो भनेको बिहीबारको विनिमय दरअनुसार कुल नेपाली रुपैयाँ झण्डै करिब ८ अर्ब हो।  घुन्सा खोला जलविद्युत् आयोजना अन्तर्गतको यो ठेक्का इन्जिनियरिङ, प्रोक्योरमेन्ट एन्ड कन्स्ट्रक्सन (इपीसी) मोडेलमा कार्यान्वयन हुनेछ। आयोजना व्यवस्थापन पक्षले जारी गरेको एलओआईसँगै अब आवश्यक कानुनी तथा प्रशासनिक प्रक्रिया पूरा भएपछि निर्माण सम्झौतामा हस्ताक्षर गर्ने तयारी गरिएको छ। 

ताप्लेजुङमा निर्माण हुन लागेको घुन्सा खोला जलविद्युत् आयोजना नेपालको जलविद्युत् क्षेत्रमा महत्वपूर्ण आयोजनामध्ये मानिएको छ। यो आरओआर परियोजनालाई सन् २०१६ मै सर्वे लाइसेन्स प्रदान गरिएको थियो।

रेमिट हाइड्रोमा नेपाल विद्युत प्राधिकरणको २१ प्रतिशत, हाइड्रोइलेक्ट्रिसिटी इन्भेष्टेमेन्ट एन्ड डेभलपमेन्ट कम्पनी (एचआइडीसीएल)  र विद्युत् उत्पादन कम्पनीको समान १५/१५ प्रतिशत गरेर ५१ प्रतिशत सेयर स्वामित्व छ। बाँकी ४९ प्रतिशत भने सर्वसाधारणसहितलाई लगानी गर्न दिने तयारी छ। जसअन्तर्गत २९ प्रतिशत वैदेशिक रोजगारीमा गएका नेपालीलाई, १० प्रतिशत आयोजना प्रभावित स्थानीय बासिन्दा र बाँकी १० प्रतिशत सर्वसाधारणलाई सुरक्षित गरिएको छ। 

आयोजनाको प्रतिमेगावाट लागत झण्डै साढे २३ करोड रुपैयाँ अनुमान गरिएको छ। समग्र आयोजनाको अनुमानित लागत १८ अर्ब रुपैयाँभन्दा बढी छ।

आयोजनाको मुख्य सिभिल स्ट्रक्चर अन्तर्गत डाइभर्सन टनेलको लम्बाई २९० मिटर रहेको छ। जसमा इन्टेक दुईवटा बन्नेछन्। आयोजना ताप्लेजुङको फक्ताङलुङ गाउँपालिकाको वडा नम्बर ५ र ६ मा बन्नेछ।

घुन्सा खोलाको वार्षिक बहावमध्ये करिब ८० प्रतिशत पानी मनसुनयाम (जुनदेखि सेप्टेम्बरसम्म) मा बग्ने गर्दछ भने बाँकी २० प्रतिशत बहाव गैर-मनसुनी महिनाहरू अर्थात् अक्टोबरदेखि मेसम्म हुने गर्छ। घुन्सा खोला जलाधार क्षेत्रको ठूलो हिस्सा ५,००० मिटरभन्दा माथि अवस्थित छ। जहाँ हिउँ तथा हिमताल छन्।

घुन्सा खोला जलविद्युत् आयोजनाबाट उत्पादित विद्युत् एकीकृत नेपाल विद्युत् प्रणालीमा प्रवाह हुनेछ। जसलाई त्यहाँसम्म पुर्‍याउन आयोजनाको टेकअफ यार्डदेखि मार्गेन सबस्टेसनसम्म पुग्ने गरी प्रसारण पूर्वाधार रहनेछ।

तमोर नदी बेसिन तथा घुन्सा खोला जलविद्युत् आयोजना लगायतका आयोजनाबाट उत्पादन हुने ठूलो परिमाणको विद्युत् प्रसारणका लागि रेमिट हाइड्रोले इक्विटी साझेदारका रूपमा तमोर ढुंगेसाँघु पावर ट्रान्समिसन कम्पनी लिमिटेड नामक विशेष उद्देश्ययुक्त कम्पनी स्थापना गरेर काम गर्नेछ। एसपीभीलाई मार्गेन सबस्टेसनदेखि ढुंगेसाँघु सबस्टेशनसम्म २२० केभी डबल–सर्किट प्रसारण लाइनको निर्माण तथा सञ्चालन गर्ने जिम्मेवारी दिइएको छ।

यो प्रसारण लाइन विद्युत् निकासीका लागि अत्यन्त महत्वपूर्ण पूर्वाधारका रूपमा रहने कम्पनीले जनाएको छ। यो पूर्वाधारले तमोर करिडोरमा रहेका विभिन्न जलविद्युत् आयोजनाहरूलाई राष्ट्रिय विद्युत् प्रसारण प्रणालीसँग आबद्ध गर्न सहयोग पुर्‍याउने बताइएको छ।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad