कारोबार


लक्ष्यभन्दा १३ अर्ब कम उठ्यो राजस्व, कुन करको लक्ष्य र संकलन कति? (विवरणसहित)

लक्ष्यभन्दा १३ अर्ब कम उठ्यो राजस्व, कुन करको लक्ष्य र संकलन कति? (विवरणसहित)

नेपालखबर
पुस १५, २०७७ बुधबार १२:८,

चालू आर्थिक वर्षको मंसिर मसान्तसम्ममा सरकारले लक्ष्य गरेभन्दा निकै कम राजस्व संकलन गरेको छ। गत पाँच महिनामा सरकारको राजस्व संकलन लक्ष्यभन्दा १३ अर्ब २९ करोड रुपैयाँ कम भएको हो।

चालू आर्थिक वर्षको मंसिर मसान्तसम्म सरकारले ३ खर्ब ४० अर्ब ११ करोड रुपैयाँ राजस्व संकलन गर्ने लक्ष्य लिएको थियो। तर यो अवधिमा ३ खर्ब २६ अर्ब ८२ करोड रुपैयाँ मात्रै संकलन भएको हो।

मंसिरसम्मको लक्ष्यमा सबै शीर्षकमा कम राजस्व संकलन भएको छ। लक्ष्य तोक्दा देशमा जटिल अवस्था नआउने आकलन गरी आगामी दिनका लागि केही बढाएर राखिएको थियो। तर पछिल्लो समय राजनीतिक अवस्था विषम हुँदा अर्थ मन्त्रालयले चिन्ता व्यक्त गरेको छ।

अर्थ मन्त्रालयको राजस्व महाशाखा प्रमुख रामेश्वर दंगालले अहिले राजनीतिक माहोल बेग्लै ढंगले अघि बढिरहेको बताउँदै त्यसले आगामी दिनमा सरकारको राजस्वमा प्रभाव पार्ने उल्लेख गरे।

‘राजस्व संकलन भनेको बजारसँग प्रत्यक्ष जोडिएको हुन्छ। योभन्दा अघि कोरोनाको कारण बजार तंग्रिएको थिएन त्यसले गर्दा राजस्वको लक्ष्य नै कम राखिएको थियो’, उनले भने, ‘तर अब बजार चलायमान हुने आकलनमा आगामी महिनाको राजस्व लक्ष्यको आकार बढाइएको छ। तर फेरि विकसित राजनीतिक अवस्थाको कारण राजस्वमा प्रत्यक्ष प्रभाव पार्ने देखिएको हो।’

उनले आगामी दिनमा विकास निर्माणको कार्यहरु अघि बढ्ने आकलन गरेको बताए। ‘निर्वाचनको मिति नै तय भएको छ। यसले सरकार अस्थिर हुने संकेत गरेको छ’, उनले थपे, ‘त्यसकारण विकास निर्माणको कामलाई प्रभाव पार्ने देखिँदा राजस्वमा हानि हुने देखिएको हो।’

rajaswa 2020

यद्यपि मंसिरसम्मको राजस्व आकलनको तथ्याङ्कमा अर्थ मन्त्रालयले सन्तुष्टि व्यक्त गरेको छ। तर पनि कुनै पनि शीर्षकले लक्ष्य पूरा गर्न नसकेको तथ्यांकले देखाउँछ।

मंसिर मसान्तसम्ममा भन्सार महसुलतर्फ ७६ अर्ब ६४ करोड रुपैयाँ संकलन गर्ने सरकारको लक्ष्यमा ७१ अर्ब ७९ करोड रुपैयाँ मात्रै संकलन भएको छ।

त्यस्तै, मूल्यअभिवृद्धि कर(भ्याट)तर्फ १ खर्ब १४ अर्ब संकलन गर्ने लक्ष्य राखेकोमा १ खर्ब रुपैयाँ संकलन भएको छ। अन्तःशुल्कतर्फ ६२ अर्ब ३६ करोड रुपैयाँको लक्ष्यमा ५१ अर्ब १६ करोड, शिक्षा सेवाशुल्कतर्फ ५५ करोडको लक्ष्यमा ११ करोड, आयकरतर्फ ५१ अर्ब ३६ करोडको लक्ष्यमा ५४ अर्ब ११ लाख रुपैयाँ संकलन भएको छ। उक्त राजस्वमध्ये आयकरतर्फको संकलन मात्रै सकारात्मक देखिएको हो।

त्यस्तै गैरकरतर्फ २९ अर्ब ६९ करोडको लक्ष्यमा १६ अर्ब ७० करोड संकलन भएको छ। अन्य कर शीर्षकमा ७ अर्ब ३७ करोडको लक्ष्यमा ७ अर्ब २४ करोड रुपैयाँ मात्रै संकलन भएको छ।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad