विभिन्न वित्तीय प्रविधिमा आधारित नवीनतम प्रयोगहरू भित्र्याउँदै डिजिटल बैंकिङ कारोबारलाई उच्च प्रथामिकता दिँदै आएको एन आई सी एशिया बैंकले वीच्याट–पे मोबाइल वालेटबाट आफ्नो मर्चेन्टमा भुक्तानी गर्न मिल्ने सेवाको थालनी गरेको छ।
यसबाट नेपाल भ्रमण गर्ने चिनियाँ पर्यटकहरूले विभिन्न सामग्री तथा सेवा खरिद गरी लागत रकम वीच्याट–पेमार्फत भुक्तानी गर्ने सुविधा प्रदान गर्नका लागि यस बैंक, फष्ट पे टेक्नोलोजी प्रा. लि. र चीनको स्वीफ्टपास कम्पनीबीच त्रीपक्षीय सम्झौता भएको छ। उक्त सम्झौतापत्रमा बैंकको तर्फबाट प्रमुख कार्यकारी अधिकृत रोशनकुमार न्यौपाने, फष्ट पेका तर्फबाट निर्देशक विप्लव जोशी र स्वीफ्टपासको तर्फबाट भाइस प्रेसिडेन्ट म्याजिक टाङले हस्ताक्षर गरेका थिए।
यस सम्झौतापश्चात् वीच्याट–पे मोबाइल वालेट प्रयोगकर्ताहरूले यस बैंक अन्तर्गतका मर्चेन्टहरूमा राखिएका ‘क्यूआर’ कोड स्क्यान गरेर डिजिटल रुपमा रकम भुक्तानी गर्न सकिने व्यवस्था गरिएको छ। बैंकले वीच्याट–पेबाट भुक्तानी प्राप्त गर्न चाहने मर्चेन्टहरूका लागि बैंकको वेबसाइट मार्फत आवेदन दिन सकिने व्यवस्था गरेको छ।
‘डिजिटल फष्ट बैंक’ बन्ने आफ्नो दीर्घकालीन रणनीतिलाई हासिल गर्नका लागि यस बैंकले ग्राहकहरूमाझ सहज एवम् सबल बैंकिङ सुविधाको लागि हालसम्म देशभर १५ हजार भन्दा बढी ‘क्यूआर’ मर्चेन्टहरू खडा गरिसकेको छ। देशभर यसरी सञ्जाल बिच्छाउन सफल भएपश्चात् वीच्याट–पेलाई आफ्नो भुक्तानी प्रणालीमा ल्याउनुले नेपालको डिजिटल भुक्तानीको इतिहासमा नयाँ मानक थप्ने बैंकले विश्वास लिएको छ।
हाल कोरोना महामारीका कारण पर्यटक आवतजावत निकै कम रहेपनि वर्षेनी चीनबाट ठूलो संख्यामा पर्यटक घुम्न आउने गरेको सरकारी तथ्याङ्क रहेको छ। यसरी नेपालको पर्यटन क्षेत्रमा उल्लेख्य योगदान दिइरहेका चिनियाँ पर्यटकहरूले यहाँ आएर विभिन्न सेवा तथा सामग्री खरिद गरी सहज रुपमा वीच्याट–पेमार्फत भुक्तानी गर्न सकिनेछ।
चिनियाँ नागरिकहरूमा अत्यन्त लोकप्रिय रहेका उक्त मोबाइल वालेटको सेवा नेपालमा समेत सुचारु हुँदा चिनियाँ पर्यटकहरूलाई अत्यन्त लाभदायी हुनेछ र यसले नेपालमा चिनियाँ पर्यटकहरूले सामग्री तथा सेवामा खर्च गर्ने प्रकृयामा सहजता ल्याई राष्ट्रलाई विदेशी मुद्रा आर्जनमा समेत सघाउ पुग्ने बैंकले अपेक्षा लिएको छ ।
‘डिजिटल फष्ट बैंक’ बन्ने दीर्घकालिन रणनीति अपनारहेको यस बैंकले समयअनुरुप विभिन्न डिजिटल बैंकिङका योजनाहरूका साथ आम जनमानसमाझ आफ्नो बलियो उपस्थिति जनाइसकेको छ। सोही रणनीति अनुरुप बैंकले आफ्ना विभिन्न सेवा, कारोबार तथा सुविधाहरू प्रविधिमैत्री बनाउने क्रममा ल्याएको यस वीच्याट–पे मोबाइल वालेट सेवामार्फत संस्थागत ग्राहकहरूले सहज एवं सरल रुपमा सुविधा उपभोग गर्न गर्नेछन्।
स्मार्टफोन प्रयोगकर्ताहरूको संख्या उल्लेख्य बृद्धि भएसँगै डिजिटल कारोबार गर्ने ग्राहकहरूको संख्यामा समेत तीव्र रुपमा बृद्धि भइरहेको अवस्थाबीच डिजिटल माध्यमबाट भरपर्दो कारोबार गरी नेपाल सरकारको डिजिटल नेपाल फ्रेमवर्क अभियानलाई योगदान पु¥याई मुलुकको अर्थतन्त्रलाई क्यासलेस इकोनोमी बनाउन यो साझेदारी सहयोगी बन्नेछ।
Shares

प्रतिक्रिया