कारोबार


राष्ट्रिय वाणिज्य बैंकका ५ कर्मचारीसहित ८ जनाविरुद्ध जनही १ करोड २५ लाख बिगो माग्दै अख्तियारले हाल्यो मुद्दा

राष्ट्रिय वाणिज्य बैंकका ५ कर्मचारीसहित ८ जनाविरुद्ध जनही १ करोड २५ लाख बिगो माग्दै अख्तियारले हाल्यो मुद्दा

नेपालखबर
पुस १४, २०७७ मंगलबार १०:२८,

अख्तियार दुरुपयोग अनुसन्धान आयोगले सरकारी कागज कीर्ते गरी धितो मूल्यांकन गरी राष्ट्रिय वाणिज्य बैंकको नेपालगञ्ज उपमहानगरपालिका त्रिभुवनचोकमा रहेको शाखाबाट कर्मचारीसहित ८ जनाले गैरकानुनी रूपमा ऋण लिएको खुलेपछि मुद्दा दायर गरेको छ।

अख्तियारले सोही शाखा र कर्णाली प्रदेश कार्यालय सुर्खेत शाखामा काम गर्ने पाँच कर्मचारीसहित थप तीन जनाविरुद्ध जनही १ करोड २५ लाख रुपैयाँ बिगो दाबी गर्दै विशेष अदालत काठमाडौंमा मुद्दा दायर गरेको हो।

आयोगका अनुसार त्रिभुवन चोक शाखाका तत्कालीन प्रबन्धक ललित बहादुर शाही, सहायक (नगद) कल बहादुर ओली क्षेत्री, बैंकका कर्णाली प्रदेश कार्यालय सुर्खेत शाखाका तत्कालीन उपप्रमुख होताराम योगी, नेपालगञ्ज शाखाका सहायक (नगद) प्रिन्सी गुप्ता, सोही शाखाका सूचीकृत धितो मूल्यांकनकर्ता कर्णबहादुर के.के. तथा फहमिदा बानो जसगढ, सकिना जसगढ र रिजवान अहमद जसगढविरुद्ध आरोपपत्र दायर गरिएको छ।

आठ जनामध्ये सात जनाविरुद्ध १ करोड २५ लाख जनही बिगो दाबी गरिएको छ भने सकिना जसगढविरुद्ध ७५ लाख मात्रै बिगो दाबी गरिएको छ। उनीहरु सबैविरुद्ध भ्रष्टाचार निवारण ऐन, २०५९ अनुसार भ्रष्टाचारको आरोपसहित मुद्दा दायर गरिएको अख्तियारका प्रवक्ता तारानाथ अधिकारीले बताए।

कीर्ते कागजहरुको आधारमा कीर्ते धितो मूल्याङ्कन गरी उक्त कागजातहरु राष्ट्रिय वाणिज्य बैंक त्रिभुवनचोक शाखामा पेश गरी उनीहरुले कर्जा लिएका थिए। यसरी गैरकानुनी लाभ वा हानी पुर्‍याउने, सरकारी कागज किर्ते गर्ने, गलत लिखत र प्रतिवेदन तयार गरी सरकारी सम्पत्तिको हानिनोक्सानी गरी गराई भ्रष्टाचार गरेको पुष्टि हुन आएको आयोगले जनाएको छ।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad