कारोबार


हस्तकला व्यवसाय जोगिए स्वदेशी उत्पादनको प्रवर्द्धन हुन्छ : उपाध्यक्ष दहाल

हस्तकला व्यवसाय जोगिए स्वदेशी उत्पादनको प्रवर्द्धन हुन्छ : उपाध्यक्ष दहाल

नेपालखबर
मंसिर ३०, २०७७ मंगलबार ९:४२,

राष्ट्रिय सभाका उपाध्यक्ष शशिकला दहालले स्वदेशी उत्पादनलाई प्राथमिकता र प्रर्वद्धन गर्नुपर्ने बताएकी छन्। नेपाल हस्तकला महासंघले आयोजना गरेको हस्तकला सामग्रीहरुको प्रदर्शनी अवलोकन गर्दै उपाध्यक्ष दहालले स्वदेशी उत्पादनलाई सबैले माया गरी प्रवर्द्धन गर्नुपर्ने बताएकी हुन्।

कोरोना भाइरस (कोभिड–१९) को विश्वव्यापी महामारीले नेपाली हस्तकला उद्योग नराम्रोसँग प्रभावित भएको भन्दै उपाध्यक्ष दहालले विश्वमा नेपालको पहिचान दिने हस्तकला व्यवसायलाई बचाउन विविध सहुलियत र राहत प्याकेज ल्याउनुपर्नेमा जोड दिइन्।

‘कोभिड १९ बाट प्रभावित हस्तकला उद्योगको संरक्षणका लागि सरकारको पहलमा बैंक ब्याजदर घटाउने, सहुलियत कर्जा र पुनर्कर्जाको व्यवस्था, कच्चा पदार्थमा भन्सार छुटजस्ता व्यवस्था हुन सके व्यवसायीलाई सहज हुनेछ’, उनले भनिन्, ‘महामारीले प्रभावित भएको हस्तकला व्यवसायलाई फेरि पहिलेकै अवस्थामा फर्काउन मैले सक्दो समन्वय र पहल गर्नेछु।’

नेपाली हस्तकला क्षेत्रले वार्षिक १० अर्ब रुपैयाँभन्दा बढीको सामग्री निर्यात गरिरहेको र ११ लाख युवाहरुलाई रोजगारी दिइरहेको भन्दै उपाध्यक्ष दहालले नेपालमा उत्पादित हस्तकला सामग्रीको विश्व बजारमा आकर्षण र माग धेरै भएको बताए। विश्व बजारमा आकर्षण र माग भए पनि कोरोना महामारीले हस्तकलाको व्यापार व्यवसाय ठप्प भएकाले नेपाली हस्तकला क्षेत्रले करोडौंको घाटा व्यहोर्नु परेको बताए।

हस्तकला उद्योगका दक्ष कालिगढहरुलाई पर्याप्त सेवा सुविधा र अवसर दिन नसक्दा विदेश पलायन हुने समस्या रहेको चर्चा गर्दै उपाध्यक्ष दहालले नेपाली हस्तकला क्षेत्रको विकास र प्रवद्र्धनका लागि राज्यले उत्पादित सामग्रीको बजार व्यवस्थापनमा विशेष ध्यान दिनुपर्ने बताइन्।

कोरोना महामारीपछि विदेशबाट फर्किएका हजारौं बेरोजगार युवाहरुलाई हस्तकलासम्बन्धी सीप सिकाउन राज्यस्तरबाटै विभिन्न तालिम र अवसर सिर्जना गर्नुपर्नेमा जोड दिँदै उपाध्यक्ष दहालले स्वदेशी उत्पादनको वृद्धि हुनुका साथै नेपालको पुर्ख्याैली सीप पनि हस्तान्तरण हुने विश्वास व्यक्त गरे। स्थानीय तहसँग समन्वय गरेर देशैभरि हस्तकला महासंघको सञ्जाल विस्तार गर्न र हस्तकला व्यवसायलाई प्रवर्द्धन गर्न दाहालले आयोजकलाई आग्रह गरे।

आफ्नो ४८ औं वार्षिकोत्सव तथा नवौं हस्तकला दिवसको अवसरमा नेपाल हस्तकला महासंघले गत मंसिर २८ गतेदेखि ३० गतेसम्म थापाथलीमा हस्तकला प्रदर्शनीको आयोजना गरेको थियो।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad