राष्ट्रिय वाणिज्य बैंक लिमिटेड र सुनकोशी गाउँपालिका (सिन्धुलीे जिल्ला) बीच सहुलियतपूर्ण कर्जामा सहकार्य गर्ने सम्बन्धमा सम्झौता भएको छ। सम्झौतापत्रमा बैंकका प्रमुख कार्यकारी अधिकृत किरण कुमार श्रेष्ठ र सुनकोशी गाउँपालिकाका अध्यक्ष दिपा बोहोरा(दाहाल) ले हस्ताक्षर गरेका छन्।
सम्झौता पछि गाँउपालिकाले आफ्नो क्षेत्र भित्र उद्यम तथा व्यवसाय गर्न चाहने व्यक्तिलाई परामर्श र उद्यमशीलता सम्बन्धी आवश्यक तालिमको व्यवस्थापन गर्ने गरी तालिम प्राप्त व्यक्तिलाई कर्जाको लागि बैंकमा सिफारिस गर्ने छ। गाउँपालिकाले सिफारिश गरेका उद्यमीहरुलाई बैंकले नियमानुसार सहुलियपूर्ण कर्जा अन्तर्गत कर्जा लगानी गर्ने छ।
कार्यक्रममा बागमती प्रदेशसभाका सांसद राजन दाहालले गाउँपालिकाले बजार तथा सडकको विस्तार गरी सकेको हुनाले कृषकलाई उत्पादन, बजारीकरण कार्यको लागि उत्प्रेरित गर्न यस्तो कर्जाले सघाउ पुर्याउने बताए।
बैंकका प्रमुख कार्यकारी अधिकृत किरण कुमार श्रेष्ठले यस्तो सहमतिले स्थानीय स्तरमा उद्यमशीलताको विकास भई कर्जा लगानी र असूलीमा सघाउ पुग्ने बताए। गाउँपालिकाका अध्यक्ष दिपा बोहोरा(दाहाल) ले यस्तो सहुलियतपूर्ण कर्जा युग परिवर्तन गर्नको लागि अवसर हुने बताए।
Shares

प्रतिक्रिया