कारोबार


चिनियाँ मेलामा रमाउँदै नेपाली व्यवसायी, हौसला बढाउँदै राजदूत पाण्डे

चिनियाँ मेलामा रमाउँदै नेपाली व्यवसायी, हौसला बढाउँदै राजदूत पाण्डे

चेतनाथ आचार्य
कात्तिक २८, २०७७ शुक्रबार ६:२४,

चीनको पूर्वदक्षिणमा पर्ने चच्याङ प्रान्तको यिऊमा चाइना यिऊ इम्पोर्टेड कमोडिटी मेला सुरु भएको छ। शुक्रबार बिहान सुरु भएको यो मेला आगामी सोमबारसम्म चल्नेछ।

मेलामा विदेशी उत्पादनको प्रदर्शनी तथा प्रत्यक्ष किनबेचसँगै अनलाइनमा प्रत्यक्ष प्रसारण हुने भएकाले इन्टरनेटबाट तत्काल अर्डर (माग) आउने र बिक्री गर्न सकिने व्यवस्था मिलाइएको छ।

यिऊको यो व्यापार मेलामा नेपालका ६ वटा कम्पनीले ४ वटा स्टल राखेका छन्। दुईवटा कम्पनीले संयुक्त स्टल राखेकाले ६ वटा कम्पनीका ४ वटा स्टल भएको यिऊमा व्यवसाय गरिरहेका तथा भर्खरै गठित नेपाल–चीन चेम्बर अफ कमर्स यिऊका संयोजक विष्णुप्रसाद दुमरुले नेपालखबरलाई जानकारी दिए।

Yiwu fair 1

नेपालका लागि चार सय वर्गफिटको पेभिलियन रहेको र त्यसभित्र चारवटा प्रदर्शनी कक्ष रहेको दुमरुले बताए।

शुक्रबार बिहान उद्घाटन भएको चाइना यिऊ इम्पोर्टेड कमोडिटी मेलामा चीनका लागि नेपाली राजदूत महेन्द्रबहादुर पाण्डे पनि सहभागी भएका छन्।

चीनले विभिन्न देशका राजदूतहरुलाई निमन्त्रणा गरेर मेलाको उद्घाटन गरेको हो। सो मेलामा सहभागी हुनका लागि राजदूत पाण्डे दुई दिनअगाडि नै यिऊ पुगेका हुन्।

एक सयभन्दा बढी मुलुकका प्रतिनिधिहरु सहभागी रहेको सो व्यापार मेलामा नेपाली उत्पादनले राम्रो प्रभाव पार्ने आशा गरिएको छ।

Yiwu fair 2

राजदूत पाण्डेले नेपाली प्रदर्शनी कक्षको अवलोकन गर्दै नेपाली उत्पादनका लागि चिनियाँ बजार विस्तार गर्नका लागि आफूले पनि सक्दो प्रयास गर्ने बताए।

कोरोना महामारीको प्रतिकूल अवस्थामा पनि नेपाली व्यवसायीहरु चीनले आयोजना गर्ने यस प्रकारका मेलामा सहभागी भएर दुई देशबीचको आर्थिक क्रियाकलापलाई सक्रिय बनाएको उनको भनाइ छ।

सन् २००८ देखि चाइना यिऊ इम्पोर्टेड कम्बोडिटी मेला आयोजना हुनथालेको हो। यिऊ विश्वकै सबैभन्दा ठूलो होलसेल बजार भए पनि मेलामा चाहिँ विदेशी सामानहरु प्रदर्शन गरिएको दुमरुले बताए।

‘यिऊले विश्वलाई सामान आपूर्ति गर्छ, त्यसकारण चिनियाँ सामानका लागि कुनै मेला आयोजना गर्न आवश्यक छैन’, दुमरुले भने, ‘विदेशी सामानलाई चीनमा बिक्रीवितरण गर्नका लागि यो मेला आयोजना गरिएको हो।’

नेपालले यो मेलामा सहभागी जनाउँदै आएको भए पनि यसपटकको सहभागिता महत्वपूर्ण रहेको बेइजिङस्थित नेपाली दूतावासका इकोनोमिक मिनिष्टर छवीन्द्र पराजुलीले बताए। तेस्रो चिनियाँ अन्तर्राष्ट्रिय आयात एक्स्पोमा सहभागी नेपाली व्यवसायीमध्ये अधिकांश यिऊ मेलामा सहभागी भएको पराजुलीले बताए।

Yiwu fair 3

मेलामा नेपाली उत्पादनहरु थाङ्का, मूर्ति, सिङ्गिङ बोल, पस्मिना, चिया र हस्तकलाका सामानहरु रहेका छन्। चच्याङ प्रान्त चियाका लागि विश्वप्रसिद्ध छ। नेपाली चियाले चिनियाँ बजार विस्तार गर्नसक्ने उद्देश्यले चियालाई प्राथमिकतामा राखिएको उनले जानकारी दिए।

तेस्रो चिनियाँ अन्तर्राष्ट्रिय आयात एक्स्पोमा सहभागी हुन आएका नेपाली व्यवसायीका लागि ‘एक पन्थ दो काम’ भएको छ। कोरोना महामारीका बेला नेपाल फर्कनुभन्दा चीनकै मेलाहरुमा सहभागी भएर व्यापार गर्ने सोच बनाएको नेपाली व्यवसायी श्रीगोपाल श्रेष्ठले बताए। एक्स्पोमा सहभागी धेरैजसो व्यवसायीहरु यिऊमा पनि सहभागी भएका छन्।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad