तत्कालीन अर्थमन्त्री डा. युवराज खतिवडाले राष्ट्रिय वाणिज्य बैंकको संचालक समिति सदस्यमा नियुक्त गरेका डा. उपेन्द्र कोइराला अहिलेसम्म बैंकको संचालक समितिको बैठकमा उपस्थित भएका छैनन्।
भदौ ८ गते नियुक्ति पाएका कोइराला बैंकको अहिलेसम्मका कुनै पनि बैठकमा सहभागी भएका छैनन्।
उपप्रधानमन्त्री ईश्वर पोखरेलका सम्धी भएका कारणले उनलाई नियुक्ति गरिएको भनी त्यतिबेला निकै चर्चा भएको थियो।
उच्च राजनीतिक पहुँच भएका एउटै व्यक्तिलाई सरकारका बिभिन्न निकायमा पटकपटक महत्वपूर्ण जिम्मेवारी दिइएको भनी सार्वजनिकरुपमा व्यापक आलोचना समेत भएको थियो।
अध्यक्ष बनाउने योजनासहित संचालक समितिमा ल्याइए पनि यो योजनामा ब्रेक लागेको छ।
स्रोतका अनुसार अहिले आफूभन्दा ‘जुनियर’ले बैंठकको आव्ह्वान गरेको भन्दै बैठकमा उनी अनुपस्थित रहने गरेका हुन्।
अहिले बैंकको संचालक रहेका अर्थमन्त्रालयका सहसचिव धनीराम शर्माले संचालक समितिको बैठक आव्हान गर्दै आएका छन्।
कोइरालाले नियुक्ति पाएपछि सातवटा जति बैठक भएपनि उनी कुनै पनि बैठकमा उपस्थित नभएको बैंकका एक संचालकले नेपालखबरलाई बताए।
‘किन नआउनुभएको भनी सोधखोज गर्दा आफूभन्दा जुनियरले डाकेको बैठकमा के जानु भन्ने उहाँको भनाई आउने गरेको छ,’ ती संचालकले भने।
उनका अनुसार आफूलाई अध्यक्ष बनाउने निर्णय हुने देखिएमा मात्रै त्यो संचालक समितिको बैठकमा उपस्थित हुने उनले जनाउ दिएका छन्।
अर्थमन्त्रालयको बजेट महाशाखामा रहेका सहसचिव निर्मलहरि अधिकारीले अवकास पाएपछि उक्त बैंकको अध्यक्षमा नियुक्त भएका थिए।
तर उनलाई मन्त्रीपरिषद्को बैठकले राजस्व बोर्डको सदस्यमा नियुक्त गरेको थियो। त्यसपछि बैंकको अध्यक्ष पद अहिलेसम्म रिक्त नै रहेको छ।
त्यसपछि उपप्रधानमन्त्री पोखरेलका सम्धी कोइरालालाई अध्यक्ष नै बनाउने गरी उनलाई अर्थ मन्त्रालयले संचालकमा नियुक्ति दिएको हो।
संचालक समिति सदस्यमा अर्थमन्त्रालयले नियुक्ति दिने र अध्यक्षको चयन भने संचालक समितिकाे बाेर्ड बैठकले गर्ने व्यवस्था छ।
कोइरालाले यसअघि विराटनगरको महेन्द्र मोरङ क्याम्पसकाे प्रमुख, नेपाल आयल निगमको कार्यकारी निर्देशक, मध्यपश्चिमाञ्चल विश्वविद्यालयकाे उपकुलपतिलगायत बिभिन्न महत्वपूर्ण पदमा नियुक्ति पाएका छन्।
यो पनि :
‘सम्धीको नियुक्ति’मा वरिष्ठ मन्त्रीसामु यसरी निरीह बने अर्थमन्त्री खतिवडा

प्रतिक्रिया