अनलाइन बजारमा विश्वकै ठूलो कम्पनी अलिबाबाले नेपालमा लगानी गर्ने इच्छा देखाएको छ। सोमबार बिहान चीनको चच्याङ प्रान्तको हाङचौस्थित अलिबाबाको मुख्यालय भ्रमणमा जाँदा चीनका लागि नेपाली राजदूत महेन्द्रबहादुर पाण्डेसँग अलिबाबा समूहका ग्लोबलाइजेसन अफिसका वरिष्ठ निर्देशक सामी फर्हाडले नेपालमा लगानी गर्न इच्छा रहेको जनाएका हुन्।
शाङहाईमा चालु रहेको तेस्रो चिनियाँ अन्तर्राष्ट्रिय आयात एक्स्पोमा सहभागी हुन गएका राजदूत पाण्डेले शाङहाईबाट हाङचौमा पुगी सोमबार बिहान अलिबाबाको हेडक्वार्टरको अवलोकन गरेका हुन्। एक्स्पोमा सहभागी चीनका लागि दक्षिण एसियाली मुलुकका राजदूतहरु पनि अलिबाबाको हेडक्वाटर भ्रमणमा सहभागी थिए।

राजदूत पाण्डेको अलिबाबाको हेडक्वाटर भ्रमणले किन अर्थ राख्छ भने अलिबाबाले नेपाललाई सहयोग गर्नका लागि एउटा प्रस्ताव पेश गरिसकेको छ।
झण्डै तीन महिना अगाडि अलिबाबाले ‘डिजिटल नेपाल’ प्रारम्भिक परियोजनाको खाका बेइजिङस्थित नेपाली दूताबासमा दिएको थियो। नेपाली उत्पादनको बजार बिस्तार गर्न इकमर्शको अवधारणा अनुसार इन्टरनेटमार्फत बिक्रीवितरण गर्नका लागि पूर्वाधार तयार गर्नुपर्ने र अलिबाबा क्लाउड बनाएर नेपाली उत्पादन विश्वव्यापी बनाउने कुरा उक्त परियोजनामा उल्लेख छ।
साना व्यवसायीलाई सञ्जालमा जोडेर उनीहरुको उत्पादनको बजारमा पहुँच गर्ने र नेपाली शिक्षा प्रणालीलाई पनि डिजिटल गर्ने अलिबाबाको प्रस्तावमा उल्लेख छ। त्यसैगरी ट्राफिक व्यवस्थालाई डिजिटल बनाउँदै स्मार्ट सिटीका पूर्वाधार तयार गर्ने विषय समेटिएको छ।
अलिबाबाले उपभोक्ता, रोजगारी र सेयरहोल्डर गरी तीन क्षेत्रलाई प्राथमिकता दिने गरेको छ। अलिबाबाले सन् २०३५ सम्ममा २ अर्ब ग्राहकसम्म आफू पुग्ने दाबी गरेको छ। हाल इन्टरनेटका विभिन्न प्लेटफर्ममा अलिबाबाका सक्रिय ग्राहकको संख्या चीनमा मात्र ७४ करोडभन्दा बढी छन्।
हरेक नोभेम्बर ११ तारिख अलिबाबाले आफ्ना इन्टरनेट प्लेटफर्ममार्फत भारी छुटमा सामान बेच्ने गर्छ। यस्तो चलन सन् २०११ मा सुरु भएको हो। हाल यो विश्वव्यापी भइसकेको छ।
सन् २००१ मा चीनको शाङहाईमा एशिया प्रशान्त आर्थिक सहयोग संगठन एपेकको शिखर सम्मेलनमा यो क्षेत्रका औद्योगिक तथा वाणिज्य नेताहरु एक्काईसौँ शताब्दीको आरम्भसँगै व्यापार व्यवसायलाई डिजिटल प्रविधिमा रुपान्तरण गर्नका लागि इन्टरनेट अपरिहार्य रहेको भन्दै गम्भीर बहस गरिरहेका थिए।
त्यही समय सम्मेलन चलिरहेको हलदेखि करीब दुई सय किलोमिटरको दुरीमा रहेको हाङ्गचौ शहरमा मा युन नामका एक जना चिनियाँ युवा इकमर्शका लागि वेभसाइट संचालन गर्न कम्मर कसेर लागेका थिए। तिनै मा युनले विकास गरेको अलीबाबा नामको वेभसाइटले सन् २०१४ देखि न्युयोर्क स्टक एक्सचेन्जमा तहल्का मच्चाउँदै आएको छ। ती चिनियाँ युवा मा युनलाई पश्चिमा देशहरुमा ज्याक माको नामले चिनिन्छन्।
ज्याक माले सुरु गरेको त्यही अलिबाबाकै कारण अहिले हाङचौ शहरको पहिचान चीनकै अत्याधुनिक स्मार्ट सिटीका रुपमा रहेको छ। यही सहरले इन्टरनेटसम्बन्धी अन्तर्राष्ट्रिय सम्मेलनको आयोजना पनि गर्दै आएको छ।
एपेकको शिखर सम्मेलनमा सहभागी भएका नेताहरुले सैद्धान्तिक रुपमा छलफल गरेको विषयलाई ज्याक माले अलिबाबामार्फत व्यापार व्यवसायलाई व्यावहारिक रुपमा डिजिटल बनाएर देखाए।
त्यसो त इन्टरनेटको व्यापारमा मात्र नभई समाज सेवामा पनि ज्याक मा उत्तिकै अगाडि छन्।
उनले सन् २०१४ मै चीनको सामाजिक सेवामा सबैभन्दा धेरै चन्दादान गरेका थिए। सो समयमा अलिबाबाका प्रमुख कार्यकारी अधिकृत रहँदा उनले १६ अर्ब ९० करोड युआन दिएर चीनमा सबैभन्दा धेरै चन्दादान गर्नेमा प्रथम स्थानमा थिए। अहिले पनि उनी समाज सेवामा अग्रपङ्तिमा आउँछन्। उनले चीनमा मात्र नभएर विश्वका विकासोन्मुख देशहरुमा थुप्रै सहयोग गरेका छन्।
उनले एकपटक अन्तर्वार्तामा भनेका थिए, ‘यदि अमेरिकाले युद्धमा एक वर्षमा गर्ने खर्च मानव हितमा गर्ने हो भने विश्वमा कोही पनि गरिब हुँदैन।’
गत अगष्ट महिनामा बेइजिङस्थित नेपाली दूताबासमा चिनियाँ व्यवसायीलाई नेपालमा लगानी गर्न प्रोत्साहित गर्ने उद्देश्यले आयोजित गोष्ठीमा ज्याक माको कम्पनी अलिबाबाले ‘डिजिटल नेपाल’ परियोजना प्रस्ताव गरेको थियो।
अलिबाबाको हेडक्वाटरमा जाँदा अन्य देशका कुटनीतिज्ञहरु पनि सहभागी भएकाले ‘डिजिटल नेपाल’ मा गम्भीर रुपमा छलफल हुन नसकेको दूताबासका इकोनोमिक मिनिस्टर छबीन्द्र पराजुलीले नेपालखबरलाई बताए। पराजुली पनि राजदूत पाण्डेसँगै अलिबाबाको हेडक्वाटर गएका थिए। प्रस्ताव अनुसार अलिबाबालाई नेपालमा प्रवेश गराउन सके नेपालको इकमर्शमा कोशेढुङ्गा हुने उनले औँल्याए।
‘नेपालमा लगानी गर्ने अलिबाबाको चासोबारे छलफल गर्न हामीले उनीहरूलाई दूतबासमै बोलाएका छौँ’, पराजुलीले भने, ‘केही हप्ताभित्रमै अलिबाबाका प्रतिनिधि दूताबासमा आउने छन् र उनीहरुको यो प्रस्तावमा विस्तृत छलफल हुनेछ।’

प्रतिक्रिया