नागढुंगा सुरुङमार्गको उद्घाटन भोलि सोमबार हुने भएको छ।
पूर्वाधार विकासमन्त्री सुनिल लम्साल र जापान अन्तर्राष्ट्रिय सहयोग नियोग (जाइका)का अध्यक्ष तानाका अकिहिकोले नेपालस्थित जापानी राजदूत माएदा तोरुसँगै सुरुङमार्ग उद्घाटन गर्ने भएका हुन्।
सोमबार १०ः३० बजे उद्घाटन कार्यक्रम रहेको नागढुंगा सुरुङमार्ग परियोजनाका प्रमुख सौजन्य नेपालले जानकारी दिए।
सोही कार्यक्रमका लागि जाइका अध्यक्ष अकिहिको आज नेपाल आउँदै छन्। सुरुङमार्ग उद्घाटनसँगै पहिलो चरणमा आपत्कालीन सवारीसाधनहरु दमकल, एम्बुलेन्सलगायतलाई मात्र सञ्चालन अनुमति दिइनेछ।
नागढुंगा सुरुङमार्ग सञ्चालन तथा मर्मतसम्भारका लागि गत वैशाख १६ गते युसिन एआरटी जेभीसँग सम्झौता भएको थियो। युसिन चिनियाँ र एआरटी नेपाली कम्पनी हुन्। उक्त जेभीले १ अर्ब १० करोड ४० लाख रुपैयाँमा ५ वर्षसम्म सुरुङमार्ग सञ्चालन र व्यवस्थापन गर्नेछन्।
नागढुंगा उकालो र ट्राफिक जाम घटाउने उद्देश्यले सडक विभागले नागढुंगा सुरुङमार्गको सम्भाव्यता अध्ययन सन् २०१३ को फेब्रुअरीमा गरेको थियो।
वि.सं. २०७६ कात्तिक २८ गते यसको ठेक्का लागेको थियो भने २०८० वैशाख ३० गतेसम्म निर्माण सक्नुपर्ने म्याद थियो। तर कोभिड–१९ महामारी र स्थानीयको अवरोधका कारण पछिल्लो पटक २०८२ कात्तिक ८ गतेसम्म म्याद थपिएको थियो।
त्रिभुवन राजपथको सिस्ने खोला धादिङ–किसिपिडी काठमाडौं (नागढुंगा सुरुङमार्ग)को लम्बाइ २.६८८ किलोमिटर छ।
सुरुङमार्गभित्र सवारी गुड्नका लागि ३.५ मिटर चौडाइका २ लेनका सडक छ। त्यसको बीचमा १.५ मिटरको मेडियन र दुवैतर्फ ढलका लागि ०.५ मिटरको नालीको व्यवस्था छ।
सुरुङमार्ग प्रवेशका लागि पूर्वमा काठमाडौंतर्फ २.३०७ किलोमिटर र पश्चिममा धादिङतर्फ ०.५६५ किलोमिटरको एप्रोच सडक छ।
Shares

प्रतिक्रिया