काठमाडौं महानगरपालिकाका प्रमुख विद्यासुन्दर शाक्यले कोरोनाका कारण समस्यामा परेका नागरिकहरुलाई सुरक्षित स्थानमा राखेर खाना खुवाउने व्यवस्था महानगरपालिकाले गर्ने बताएका छन्।
संसदको उद्योग तथा वाणिज्य र श्रम तथा उपभोक्ता हित समितिको बैठकमा मेयर शाक्यले खुलामञ्चमा निःशुल्क खाना खुवाएको विषय सबैको सरोकार भित्र परेको भन्दै उनले त्यसलाई व्यवस्थित गर्ने पनि बताए। कसैलाई पनि मागेर खानुपर्ने अवस्था आएमा त्यसको व्यवस्थापन महानगरले गर्ने उल्लेख गर्दै उनले खुलामञ्चको निःशुल्क खाना खुवाउने अभियानलाई पनि व्यवस्थापन गर्ने बताएका हुन्।
अहिलेको अवस्थामा एक अर्कालाई दोषारोपण गर्नुभन्दा सबै मिलेर अगाडि बढ्नुपर्ने दायित्व भएको पनि उनले बताए। खुलामञ्चमा अहिले आधा दर्जन संघ संस्थाहरुले खाना खुवाइरहेको आफ्नो जानकारी आएको उल्लेख गर्दै उनले भोजनको व्यवस्था गरिरहेका संघ–संस्था र व्यक्तिलाई उनीहरु र खाना खानेलाई पनि पायक पर्ने गरी फरक–फरक ठाउँमा बन्द स्थानको छनोट गर्न आग्रह गरिएको बताए।
उनले भने, ‘उहाँहरुलाई खाना खानेलाई पायक पर्ने गरी फरक–फरक ठाउँमा बन्द स्थानको छनोट गर्नुहोस् भनेका छौँ। हामी ती ठाउँको भाडा तिर्न तयार छौँ। त्यति मात्र होइन। खाना खुवाउन आर्थिक अभाव भयो भने हामी खाद्यान्नको समेत व्यवस्थापन गर्न तयार छौँ। तर, यस्तो कोरोना कहरका बेला स्वास्थ्य मापदण्डको समेत ख्याल गरी खुला ठाउँमा खाना खुवाउनु हुन्न भन्ने हाम्रो चाहना हो।’
मेयर शाक्यले खाना खुवाउनकै लागि आर्थिक सहयोग र चन्दा माग्नुपर्ने आवश्यकता नरहेको भन्दै उनले सहयोग गर्न महानगर तयार रहेको पनि बताए। श्रम गरी खानेहरुका लागि कुनै समस्या नभएको भन्दै श्रम गरी खानेहरुलाई प्रोत्साहन गर्न सबैसँग आग्रह गरे।
‘काम नगरी खाने प्रवृत्तिको अन्त्य र श्रम गरी खानेलाई प्रोत्साहन गर्नुपर्छ भन्ने हाम्रो मान्यता हो। कोभिडका कारण रोजगारी गुमाएकालाई श्रममा आधारित रोजगारीका अवसर दिन महानगरपालिका तयार छ।’
उनले खुलामञ्चमा गएर आर्थिक सहयोग गर्ने सांसदहरु तर्फ संकेत गर्दै महानगरपालिकालाई असहयोग गर्ने गरी गरेको प्रचारले समस्या समाधान नहुने भएकाले सबै मिलेर उपाय खोज्नुपर्ने बताए।
संघीय सरकार, प्रदेश सरकार र स्थानीय तहको समन्वयमा पाँच हजार बेडको आइसोलेन वेड निर्माण गर्ने भनेको स्मरण गराउँदै कतिपय अवस्थमा महानगरपालिकाले नै निर्माण गर्ने भनी समाचार आएको र त्यसमा केही भ्रम पर्न गएको बताए। महानगरपालिकालाई आर्थिक अभाव रहेकोले आवश्यक समन्वय भए जटिल समस्याहरुलाई समाधान गर्न आफूहरु तयार रहेको बताए।

प्रतिक्रिया