दीपावलीमा दियो बाल्नका लागि प्रयोग हुने माटाका पालादेखि माटाका अन्य भाँडाहरु बनाउन यतिबेला भक्तपुरका प्रजापतिहरुलाई भ्याइ नभ्याइ छ।
तर यस वर्ष कोभिडको कारण माटाका भाँडाको व्यापारमा असर परेको छ। यस्तै माटो नपाउने समस्याले पेशा नै लोप हुने चिन्तामा प्रजापतिहरु छन्।
दीपावलीको समय नजिकिदै आएपछि भक्तपुर नगर, मध्यपुर थिमीका प्रजापति समुदायलाई यतिखेर माटाका पालासहित माटाका भाँडा बनाउन भ्याइ नभ्याइ छ। अन्य समयमा माटाका भाँडाहरु फाटफुट बिक्री हुने गरेको भए पनि तिहारको समयमा भने धेरै नै बिक्री हुने गरेको छ। तर यस वर्ष भने निकै कम माग भएको कृष्णश्याम प्रजापतिले बताए।
उनले गत वर्ष दैनिक तीन÷चार हजारको संख्यामा बिक्री हुने गरेकोमा अहिले आधाभन्दा कम मात्रै बिक्री हुने गरेको बताए। तिहारको समयमा माटाका पालाको व्यापार धेरै हुने गरेको छ । त्यसबाहेक पनि अम्बरा, धुपौरो, गमला, सुराई, कालिञ्चा, खुत्रुके लगायतका सामानको माग पनि बढी नै हुने गर्छ। तर यसपटक कोभिडका कारण माग घटेको छ।
माटाको भाँडाको माग घटेको भन्दा पनि माटो नपाउने समस्या ठूलो भएको प्रजापतिले बताए। भुक्तपुरका अधिकांश क्षेत्रमा घना बस्ती बसेसँगै माटो नपाउने समस्या आएको हो। माटो नपाएकै कारण अवको आठ÷दश वर्षमा पेशा नै लोप हुने अवस्थामा पुग्ने सम्भावना पनि देखिएको छ।
प्रजापति समुदायले अगाल्दै आएको यो पेशा निकै पुरानो हो। त्यसैले यो पेशालाई बचाई राख्नुपर्ने देखिन्छ। तर परम्परागत पेशालाई बचाउनका लागि आफुहरुले भन्दा सरकारले नै पहल गर्नुपर्ने देखिन्छ। आधुनिक प्रविधिको विकास हुँदै गर्दा माटोको भाँडा बनाउनेदेखि पकाउने सबै काममा प्रविधि भित्रिदा सजिलो भएको छ । तर माटो नै नपाउने समस्याले प्रजापति समुदायले अँगाल्दै आएको माटाका भाँडा बनाउने पेशा छिट्टै लोप नहोला भन्न सकिन्न।

प्रतिक्रिया