कारोबार


कर्मचारी धमाधम संक्रमित भएपछि छुट्टै आइसोलेसन सेन्टर बनाउँदै पर्यटन मन्त्रालय

कर्मचारी धमाधम संक्रमित भएपछि छुट्टै आइसोलेसन सेन्टर बनाउँदै पर्यटन मन्त्रालय

सन्तोष न्यौपाने
कात्तिक १९, २०७७ बुधबार ११:३२,

आफ्ना मातहतका कर्मचारीमा कोरोना भाइरस संक्रमण तीव्र भएपछि संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयले कर्मचारीको लागि छुट्टै आइसोलेसन सेन्टर बनाउने भएको छ।

नेपाल नागरिक उड्डयन प्राधिकरण, नेपाल वायुसेवा निगम, पर्यटन मन्त्रालय र मातहतका निकायमा कोरोना भाइरस संक्रमण हुने कर्मचारीको संख्या उल्लेख्य भएपछि कर्मचारीको मनोबल उच्च राख्न मन्त्रालयले छुट्टै आइसोलेसन सेन्टर बनाउनलागेको हो।

आफ्नो मन्त्रालय र मन्त्रालयमातहतका निकायका कर्मचारीको लागि भनेर एउटा आइसोलेसन सेन्टर बनाउने प्रक्रिया अघि बढेको संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्री योगेश भट्टराईले बताए।

सोमबार मन्त्रालयमा भएको बैठकमा यस विषयमा छलफल भएको थियो।

‘एक हप्ताभित्र यसको व्यवस्था गर्नु भनेको छु मैले’, मन्त्री भट्टराईले नेपालखबरसँग भने, ‘यसको लागि तीन सदस्यीय समिति पनि बनाइएको छ।’

मन्त्रालयका सहसचिव प्रदिप कोइरालाको संयोजकत्व बनेको उक्त समितिमा नागरिक उड्डयन प्राधिकरणको प्रतिनिधि, पर्यटन विभाग र बोर्डको प्रतिनिधि सदस्य छन्।

मन्त्री भट्टराईका अनुसार आफ्नो मन्त्रालय र मातहतका निकायमा गरेर २ सयभन्दा धेरै कर्मचारी संक्रमित भइसकेका छन्। 

मन्त्रालयमा मात्रै अहिलेसम्म झण्डै ३५ जना कर्मचारी संक्रमित भएको सहसचिव कोइरालाले बताए। मन्त्री भट्टराइको सचिवालयमा १ जना कर्मचारी संक्रमित भइसकेका छन्। त्यस्तै मन्त्रीको चालकसँगै मन्त्री भट्टराई पनि संक्रिमत भए। मन्त्री भट्टराईले मन्त्री क्वार्टरमै उनलाई पनि आइसोलेसनमा राखेका थिए। उनी निको भइसकेका छन्।

मन्त्रीका तीन जना सुरक्षाकर्मी संक्रमित भएकोमा दुई निको भइसकेका छन्। मन्त्रीको सुरक्षामा दश जना सुरक्षाकर्मी खटिएका छन्। त्यस्तै, नागरिक उड्डयन प्राधिकरणमा ३० जनाभन्दा धेरै कर्मचारी कोरोना संक्रमित भएका छन्। प्राधिकरणका धेरै कर्मचारी विमानस्थलमा हुने भएकाले पनि संक्रमण बढेको छ।

नेपाल वायुसेवा निगमका कर्मचारी सबैभन्दा धेरै संक्रमित भएका छन्। पाइलटहरु, एयरहोस्टेजलगायत अहिलेसम्म ६८ जना संक्रमित भइसकेका छन्।

कोरोना भाइरस संक्रमण अझै केही महिना निरन्तर हुने देखिन्छ। आम मानिससँग प्रत्यक्ष काम हुने यस मन्त्रालयका र मातहतका निकायका कर्मचारीमा संक्रमण हुनसक्ने मन्त्रालयको भनाइ छ।

यही समस्यालाई मध्यनगर गरेर मन्त्रालय र मातहतका निकायका कर्मचारीको लागि मात्र यो आइसोलेसन बनाउने तयारी भएको हो।

‘कतिपय कर्मचारीको घरमा आइसोलेसन बस्ने सुविधा नहुन पनि सक्छ’, मन्त्री भट्टराईले भने, ‘यो भयो भने कर्मचारीमा मनोबल उच्च हुन्छ। संक्रमण भइहालेमा मन्त्रालयले सहयोग गर्छ। आइसोलेसन सुविधा छ भन्ने ढुक्क हुन्छ।’

कुनै अस्पतालसँग समन्वय गरेर कुनै सार्वजनिक ठाउँ आइसोलेसन बनाउन सकिने मन्त्रालयले जनाएको छ। अहिलेसमम मन्त्रालयमा ठूलो संख्याका कन्ट्याक्ट ट्रेसिङ गर्नुपरेमा स्वास्थ्य मन्त्रालयलाई अनुरोधमा पीसीआर टेष्ट गर्ने गरेको र कतिपय कर्मचारीले व्यक्तिगत रुपमा परीक्षण गरिरहेको जनाएको छ।

मन्त्रालयमा १५० को हराहारीमा कर्मचारी छन्। त्यस्तै मन्त्रालयअन्तर्गत रहेका नागरिक उड्डयन प्राधिकरणल, नेपाल वायुसेवा निगम, पर्यटन विभाग, पर्यटन बोर्डमा पनि उल्लेख्य कर्मचारी रहेका छन्।

सहसचिव कोइरालाले आइसोलेसन बनाउने प्रक्रियाअगाडि बढेको बताए। केही दिनमा कस्तो खाल र कहाँ हुने एकीन हुने कोइरालाले बताए।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad